विश्व

दक्षिण कोरियालाई शत्रुको संज्ञा दिँदै उत्तरले गर्‍यो सम्पर्क विच्छेदको घोषणा

जेठ २७, २०७७

    काठमाडौं :  उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्पूर्ण सञ्चार सम्पर्कबाट अलग्गिने घोषणा गरेको छ। दक्षिण कोरियालाई शत्रुको संज्ञा दिँदै उत्तर कोरियाले दुई देशका नेताबीचको हटलाइन सम्पर्क पनि विच्छेद गर्ने घोषणा गरेको हो। 

    दुई देशका सीमा अधिकारीबीच नियमित फोन सम्पर्क हुँदै आएकोमा मंगलबारबाट छलफल बन्द गरिएको छ। यी दुई देशले तनाव कम गर्नका लागि लागि सन् २०१८ मा सीमा क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरी नियमित सम्पर्कमा रहने निर्णय गरेका थिए। दुई देशका अधिकारीबीच दिनको दुईपटक फोन सम्पर्क हुनेगर्थ्यो। 

    '९ जुनदेखि लागू हुने गरी उत्तर कोरियाले दक्षिणका अधिकारीसँगको सम्पर्क पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ', उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ।  त्यस्तै, सैन्य सम्पर्क पनि बन्द गरिने समाचारमा भनिएको छ। 'दक्षिणसँगको छलफलको कुनै औचित्य छैन, छलफलका लागि विषयवस्तु पनि छैनन्, उनीहरूले हाम्रो निराशामात्र बढाएका छन्', उत्तर कोरियाले भनेको छ।'

    गतसाता मात्रै उत्तर कोरियाली नेता किम उन जङकी बहिनी किम यो जङले उत्तरतर्फ घुसेर पर्चाबाजी गर्ने समूहलाई दक्षिण कोरियाले नरोकेको भन्दै सम्पर्क कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन्। उक्त कार्य शत्रुतापूर्ण गतिविधि अन्तर्गत पर्ने उत्तर कोरियाको ठम्याई छ। 

    उत्तर कोरियाले लिएको कठोर निर्णयले धेरैलाई आश्चर्यमा पारेको छ। यस निर्णयका पछाडि 'पर्चाबाजी'का अलावा अन्य कारण हुनसक्ने विश्लेषकहरूको अनुमान छ। भविष्यमा हुने छलफलहरूमा आँफूलाई बलियो पार्न उत्तर कोरियाले तिललाई पहाड बनाउन खोजेको हुनसक्ने दक्षिण कोरियास्थित पत्रकार लाउरा बाइकेरको बुझाई छ।

    'सन् २०१३ मा पनि उत्तरले ठ्याक्कै यस्तै खेल खेलेको थियो, जसका कारण दक्षिणसँगको वार्तमा उनीहरूलाई लाभ पुगेको थियो' उनी भन्छिन्, 'साथै, घरेलु समस्याबाट जनताको ध्यान भड्काउन पनि यस्ता कुरा गरिएको हुनसक्छ।'

    सन् १९५३ को युद्धयता दुई देशबीच मैत्री सन्धि नभएकाले प्राविधिक रुपमा यी दुई देश युद्धरत् अवस्थामै रहेको मानिन्छ। सन् २०१८ मा दुई देशको सम्बन्ध केही सुध्रिएको देखिएको थियो। उक्त वर्ष दुई देशका सर्वोच्च नेताबीच तीनपटक वार्ता भएको थियो। त्यसयता त्यो तहको वार्ता भएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]