स्थानीय निर्वाचन-२०७९

तपाईंको आसपास 'कोभिडियट्स' त छैनन्? महामारीले जन्माएका नयाँ शब्दहरू जान्‍नुहोस्

जेठ २७, २०७७

    समाजमा पैदा हुने विभिन्न किसिमका परिस्थितिले ती परिस्थितिलाई अभिव्यक्त गर्ने नयाँ–नयाँ तरिकाहरू पनि जन्माइराखेका हुन्छन्।

    १९ औं शताब्दीका लेखक जर्ज एलियट त्यस बेलाको कठोर जीवनशैली र विभिन्न किसिमका बन्देजहरूबाट औधी निराश थिए, उनले पहिलोपटक 'फ्रस्टेटिङ' शब्दको प्रयोग गरे। हालैमात्र, यूरोप ब्रेक्जिटको क्रममा रहेका बेला 'ब्रेमेन' तथा 'ब्रेग्रेट' जस्ता शब्दहरू जन्मिए।

    बेलायतस्थित बर्किङ्घम सिटी यूनिभर्सिटीका भाषाशास्त्री रोवर्ट लसन कोभिड–१९ का क्रममा भाषागत परिवर्तनको अभूतपूर्व गति देखिएको बताउँछन्। उनको विचारमा, तेज गतिमा फैलिँदै गरेको भाइरस, मिडियामा यससम्बन्धी समाचारले पाएको स्थान र सोसल मिडियाका कारण बलियोसँग जोडिएको वैश्विक सम्पर्कका कारण यस्तो भएको हो।

    अहिले 'भर्चुअल ह्याप्पी आवर', 'कोभिडियो पार्टी'जस्ता शब्द लोकप्रिय छन्, जसले सामाजिक दूरीबीचको मानवीय सम्बन्धलाई प्रतिबिम्बित गर्छन्। महामारीका बीच जन्मिएका बालबालिकालाई 'कोरोनाबेबिज्' भन्न थालिएको छ। केही संक्षेपीकरण गरिएका शब्द चल्तीमा आएका छन्, जस्तै डब्ल्यूएचएफ– अर्थात वर्क फ्रम होम, पिपिई– मतलब पर्सनल प्रोटेक्टिव इक्विपमेन्ट।

    नयाँ नयाँ शब्दको प्रयोग बढ्दै जाँदा शब्दकोश बनाउनेहरूको काम अझ थपिने भएको छ।

    पुराना शब्दले पाए नयाँ अर्थ

    अक्सफोर्ड इंग्लिस डिक्सनेरीकी वरिष्ठ सम्पादक फियोना म्याकफर्सनका अनुसार, गत डिसेम्बरसम्म 'कोरोनाभाइरस' शब्दको प्रयोग १० लाख टोकन (शब्दकोशका लागि संग्रह गरिने शब्दको सबैभन्दा छोटो इकाई) मा ०.०३ पटक भइराखेको थियो। फेब्रअरीमा डब्ल्यूएचओले नयाँ शब्दलाई जन्म दियो, 'कोभिड–१९'। अप्रिल आइपुग्दा कोभिड–१९ र कोरोनाभाइरस शब्दको प्रयोग प्रति दस लाख टोकनमा करिब १७५० पटकसम्म पुग्यो। अहिले यी दुई शब्द बराबरजस्तो प्रयोग हुन्छन्।

    अक्सफोर्ड डिक्सनेरीले अप्रिलमा अपडेट गरेका सबैजसो शब्द यही महामारीसँग सम्बन्धित छन्। डिकस्नेरीमा थपिएका शब्दहरूमा 'इन्फोडेमिक'देखि 'एल्बो बंप'सम्म छन्। इन्फोडेमिकको अर्थ हो, सूचनाको महामारी। एल्बो बम्पको अर्थ हो, हात मिलाउनुको सट्टा कुहिनो ठोक्नु।

    म्याकफर्सनको विचारमा शब्दकोषमा थपिएका शब्दमध्ये 'कोभिड–१९' मात्र नयाँ हो, बाँकी शब्द पहिल्यैदेखि प्रचलनमा थिए, अहिले नयाँ अर्थमात्र पाएका हुन्।

    अहिले देशअनुसार फरक–फरक शब्द प्रचलनमा आएका छन्। अमेरिकामा 'स्टे एट होम– अर्डर', मलेसियमा 'मुभमेन्ट कन्ट्रोल अर्डर', फिलिपिन्समा 'एनह्यान्स्ड कम्युनिटी क्वारेन्टाइन' आदिआदि। म्याकफर्सन भन्छिन्, 'हामीले अहिले प्रयोग गरेको शब्द नौलो लागे पनि पहिल्यैदेखि प्रचलनमा थिए। कोरोनाभाइरस शब्द पनि सन् १९६० को दशकको हो।'

    युद्धकालमा प्रयोग हुने शब्द प्रयोग नगरौं

    अहिले 'ब्याटल' वा 'फ्रन्टलाइन' जस्ता शब्द असाध्यै प्रयोग भइरहेको छ। म्याकफर्सनको विचारमा युद्धकालमा प्रयोग हुने शब्दलाई नयाँ अर्थ दिँदा हानी पनि हुनसक्छ। अहिलेको स्थितिलाई युद्धको तरिकाले सोचियो भने दीर्घकालिन असर गर्नसक्छ।

    त्यस्ता शब्दबाट मुक्ति पाउन अहिले #रिफ्रेमकोभिड अभियान सुरू भएको छ, जसले युद्धकालमा प्रयोग हुने शब्दलाई प्रतिस्थापित गर्ने शब्दहरूलाई एकत्रित पार्ने काम गरिराखेको छ। स्पेनस्थित नर्वारा यूनिभर्सिटीकी भाषाविद् आइनेस ओल्जाले ट्विटरमार्फत यो अभियानको थालनी गरेकी हुन्।

    'पहिलो कुरा त त्यस्ता शब्दले महामारीबारेको हाम्रो सोचलाई विकृत बनाइदिनसक्छन्', ओल्जा भन्छिन्, 'प्राकृतिक आपत वा तुफानजस्ता शब्द प्रयोग गर्दा यो महामारी अवश्यम्भावी थियो, रोक्ने कुनै उपाय नै थिएन भन्ने धारणा बन्छ। योसँग जोडिएका राजनीतिक, आर्थिक र पर्यावरणीय सन्दर्भको उपेक्षा हुन जान्छ। यही धारणाका कारण केही मानिस संक्रमणको जोखिममा पनि पर्न सक्छन्।'

    स्वास्थ्य सेवाका केही मानिसहरूले स्वास्थ्यकर्मीलाई 'हिरो' भनिएको निराशा प्रकट गरेका छन्। ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरू उत्तिकै भयभीत छन्, जति अरु मानिस छन्। यो युद्ध होइन, उनीहरूलाई बलिदानी दिनु छैन, आफ्नो बचाउनका लागि सुरक्षित उपकरण र नीति चाहिएको छ। ओल्जा भन्छिन्, 'तर, मानिसहरू शब्द छनौट गर्न स्वतन्त्र छन्। हामीले सेन्सर गर्न सक्दैनौं।'

    केही रमाइला र सकारात्मक शब्द

    लेखिका करेन रसेललाई 'फ्लाटन द कर्भ' भन्ने शब्द आश्वस्त पार्ने किसिमको लाग्दोरहेछ। यसले कोरोनालाई रोक्न भइरहेको प्रयत्न बुझाउने हुँदा डर भगाउन मद्दत गर्दोरहेछ।

    स्पेनमा 'कोभिडियटा' शब्द प्रसिद्ध छ, जसले स्वास्थ्य सम्बन्धी सल्लाहलाई बेवास्ता गर्ने मुर्खलाई जनाउँछ। त्यस्तै, नराम्रो–नराम्रो समाचारमात्र पढ्ने मान्छेलाई 'डूम्स्क्रोलिङ' भनिन्छ। रमाइला–रमाइला शब्द बनाउन अष्ट्रेलियनहरू अघि देखिएका छन्। उनीहरू आजकल क्वारेन्टाइनलाई 'क्वाज' भन्छन्, स्यानिटाइजरलाई 'स्यानी'।

    अहिले भर्चुअल मिटिङका लागि जुम एप प्रसिद्ध छ। प्रसिद्धमात्र किन? जुमको आतंकै छ भन्दा हुन्छ। मानिसहरूले यो स्थितिलाई बुझाउन 'जुमबम्बिङ' शब्दको प्रयोग गरेका छन्। 'जुमबम्बिङ' कुनै मौलिक शब्द होइन, 'फोटोबम्बिङ' शब्दबाट प्रभावित छ। म्याकफर्सन भन्छिन्, 'भोलि जुम कम्पनी बन्द भएको खण्डमा पनि जुमबम्बिङ शब्द रहिरहन सक्छ।'

    म्याकफर्सनको विचारमा अहिले प्रचलनमा आएका कतिपय शब्दहरू धेरै समयसम्म टिक्दैनन्। भन्छिन्, 'तिनै शब्दमात्र टिक्छन्, जसले हाम्रो स्थायी व्यवहार परिवर्तनलाई दर्शाउँछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]