स्वास्थ्य

गण्डकीमा डेंगु र स्क्रब टाइफसबाट ६ महिनामा ३२ संक्रमित

जेठ २७, २०७७

    पर्वत : गण्डकी प्रदेशमा पछिल्ला ६ महिनाको अवधिमा डेंगु र स्क्रब टाइफसबाट ३२ जना सङ्क्रमित भएको पाइएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा, मनाङ, मुस्ताङ, लमजुङ र स्याङ्जामा यी दुवै सङ्क्रमण नरहेको अवस्था छ भने बाँकी ६ जिल्लामा सङ्क्रमण भएको पुष्टि भएको छ।

    गत पौष महिनादेखि हालसम्मको तथ्याङ्क म्याग्दीमा १२, कास्कीमा १०, तनहुँमा १, नवलपुरमा १, पर्वतमा २ र बागलुङमा १ जना गरी कुल २७ जना डेंगुबाट सङ्क्रमित भएका छन्।

    यसैगरी स्क्रब टाइफसबाट ५ जना सङ्क्रमित रहेको पाइएको छ। यसको सङ्क्रमणबाट प्रदेशका १० जिल्ला सुरक्षित रहेको पाइएको छ भने म्याग्दीमा मात्र सङ्क्रमण रहेको पुष्टि भएको छ।

    के हो डेंगु?

    एडिज एजेप्टाइ जातको लामखुट्टेले राति र दिउँसोको समयमा खासै नटोक्ने भएका कारण साँझ र बिहानमा टोक्दा डेंगु सङ्क्रमणको जोखिम उच्च हुन्छ।

    डेंगु सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा लामखुट्टेले चुसेको रगतको माध्यमबाट भाइरस आदानप्रदान हुन्छ। सङ्क्रमण भएका व्यक्तिमा सामान्य ज्वरो आउने, जिउ तथा हातखुट्टा दुख्ने, जोर्नी तथा टाउको दुख्ने र आलस्य हुने हुँदा यस्ता लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने चिकित्सकको सुझाव छ।

    सङ्क्रमणको बेला शरीरमा प्लेटलेट्सको सङ्ख्या कम भएमा रक्त नलीबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुने सक्ने भएकाले बेलामै उपचार गराउनुपर्छ।

    डेंगु पनि एक प्रकारको भाइरस भएकोले यसलाई ‘भाइरल डिजिज’ का रूपमा लिने गरिन्छ। भाइरल डिजिजहरूको सङ्क्रमण हुने दर तीव्र हुने भएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको चिकित्सकहरूले बताउँदै आएका छन्।  यो जातको लामखुट्टेले फोहोर पानीभन्दा सफामै बस्न बढी मन पराउने भएका कारण घर वरिपरि जम्मा भएको पानीलाई सङ्लो देख्दैमा ठिक छ भनेर त्यसै छाड्न हुँदैन।

    यस्ता लामखुट्टे बस्ने र फूल पार्ने ठाउँहरू पानी राखिएका गाग्री वा गमला, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, नरिवलका खोस्टा, साना खाल्डालगायत हुन्।

    यसबाट बच्नको लागि केही दिनदेखि पानी जम्मा भएर बसेको भएमा पानी फेर्ने वा ढाकेर राख्ने तथा पानी जम्मा गरेका भाँडा घरभित्र वा बाहिर नजिकै पनि राख्न नहुने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए।

    यस्तै, पुरै शरीर ढाक्ने गरी लामा बाहुला भएका कपडा, मोजा, टोपीलगायत कपडा लगाउने, शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने वा लामखुट्टे भगाउने विद्युतीय साधन प्रयोग गर्ने, घरका झ्याल ढोका बन्द गर्ने जाली लगाउने र पर्दा हाल्नेलगायत उपाय अपनाएर पनि यसबाट बच्न सकिन्छ।

    के हो स्क्रब टाइफस?

    मुसामा देखिने किर्ना जस्तो किराको टोकाइबाट स्क्रब टाइफसको सङ्क्रमण हुन्छ। झाडी, खेतबारी, बनजँगल वा घर वरपर रहेका झाडी, पातको खात, पराल वा घुरान लगायतका ठाउँमा हुने सूक्ष्म किराको टोकाइबाट नै यसको सङ्क्रमण हुने डा. देवकोटाको भनाई छ। किराले टोक्ने क्रममा सोही किरामा रहेको ओरेन्सिया सुसुगामुसी नामक जीवाणु मानिसमा सरेपछि यसले मानिसको शरीरमा सङ्क्रमण गर्छ।

    मुख्‍य लक्षण र बच्‍ने उपाय

    यसबाट सङ्क्रमित भएकाहरूमा १०४ डिग्री भन्दा बढी र काम ज्वरो आउन सक्छ। धेरै टाउको दुख्ने, पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखाला लाग्ने, बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छोड्नेलगायत यसका लक्षण हुन्। सङ्क्रमितले समयमा नै उपचार नपाएमा श्वासप्रश्वासमा जटीलता देखिँदा दम बढ्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या पनि देखिन्छन्। किराले टोकेको ठाउँमा सुरुमा रातो डाबर जस्तो देखिन्छ भने त्यही ठाउँमा पछि कालो दाग बस्छ।

    त्यस्ता किराको टोकाइबाट बच्नको लागि किरा हुन सक्ने ठाउँमा काम गर्दा शरीर ढाकिने गरी कपडा लगाउने, खुट्टामा बुट लगाउने, माटोसँगको सिधा सम्पर्कबाट जोगिन गुन्द्री, कुर्ची, खाट लगायतका बस्तुमा बस्ने, घर गोठमा मुसा नियन्त्रण गनुपर्ने चिकित्सकको सल्लाह छ।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]