काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
नेपालको वार्ता प्रस्ताव कोरोनाको बहानामा टार्दै भारत
काठमाडौं : पटक पटक वार्ताका लागि आग्रह गर्दा पनि अस्वीकार गरेको भारतले कोभिड–१९ को संकटबीचमै चीनसँग वार्ता गरेको खबरबाट नेपाल अचम्मित भएको छ।
विनियोजन विधेयक अन्तर्गत आफ्नो मन्त्रालयबारे उठेका प्रश्नबारे मंगलबार प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संकटमै पनि भारतले चीनसँग वार्ता गरेकोमा आश्चर्य प्रकट गरेका हुन्।
नेपालको पश्चिमी सिमानाका हजारौं हेक्टर भूमि हडपिएकोबारेमा गत कात्तिकदेखि पटक पटक वार्ता प्रयास गर्दा पनि अस्वीकार गरेको भारतले चीनसँग तत्कालै वार्तामा बसेको खबरले नेपाल अचम्मित भएको हो ।
‘नेपाली भूमि हडपिएकोबारेमा नेपालबाट पटक पटक वार्ताका लागि भारतलाई कूटनीतिक नोट पठायौँ। तर भारतले कोरोना संकटको बहानामा टार्दै गयो, अहिले पनि टारिरहेको छ’, ज्ञवालीले भने, ‘तर लद्दाखमा दुई पक्षका सैनिकबीच तनाव भएको घटनामा भारत तत्कालै चीनसँग वार्तामा बसेछ। नेपालसँग वार्ता बस्न कोरोनाले रोकेको थियो। तर चीनसँग कोरोना संकटमै वार्तामा बसेको खबरले हामी अचम्मित छौँ।’
नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर पटक पटक वार्ताको आग्रह गर्दा पनि भारतले पन्छिने गरेको छ। तर लद्दाखमा चिनियाँ सेना आफ्नो भूमिमा आएर बसेपछि भारत तत्कालै वार्तामा बसेको हो।
मन्त्री ज्ञवालीले सुगौली सन्धि नेपालको शीर झुकाउने एउटा घटना भन्दै नेपालको पश्चिमी सीमा काली नदी नै भएको कुरामा शंका नरहेको स्पष्ट पारे।
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक विवादित भूमि भनेर भारतले नै स्वीकारेको थियो। गत नोभेम्बरमा नक्सा नै जारी गरेपछि हामीले वार्तामा बस्न भन्यौँ। तर हामीले विरोध गर्दा गर्दै नेपालको भूभागमा सडक नै खनियो’, उनले भने, ‘हामी अचम्मित भएका छौँ। कोरोनामै भारत चीनसँग वार्ता गर्छ। तनावलाई सामान्यीकरण गर्न तिर लाग्छ। तर नेपालको वार्ता प्रस्ताव टारिरहन्छ। नेपाल वार्ताबाटै समाधान हुन्छ भन्ने विश्वासमा छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।