राजनीति

रक्षामन्त्रीको स्पष्टीकरण : सेनाको हेलिकोप्टरमा कार्यकर्ता बोकेर कालापनी गएको थिइनँ

बारामा सेनाको एयर बेस बनाउने तयारी छैन

जेठ २७, २०७७

    काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आफुले नेपाली सेनाको हेलिकप्टरमा कार्यकतालाई हवाई भ्रमण नगराएको स्पष्ट पारेका छन्। 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथि सांसदहरुको प्रश्नको जवाफ दिदै उनले ‘रक्षा मन्त्रीले आफ्नै पार्टीका कार्यकर्तालाई मात्र लिएर नेपाली सेनाको हेलिकप्टर लिई कालापानी क्षेत्रको निरीक्षण गरेको’कुरामा कुनै सत्यता नभएको जानकारी गराएका हुन्। 

    उनले टिंकरभञ्ज्याङ सडक निर्माण कार्य नेपाली सेनालाई दिने सम्बन्धमा निर्णय गर्न स्थानीय पदाधिकारीसहित आफूले त्यस क्षेत्रको निरीक्षण भ्रमण गरेको स्पष्ट पारे।

    'संसदीय समिति लगायत नेपाल सरकारका कुनै पनि आधिकारिक निकायहरूबाट विधि र प्रक्रिया पूरा गरी माग भएअनुसार नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउँदै आएको कुरा स्पष्ट पार्न चाहन्छु', उनले भने, 'रक्षा मन्त्रीले आफ्नै पार्टीका कार्यकर्तालाई मात्र लिएर नेपाली सेनाको हेलिकप्टर लिई कालापानी क्षेत्रको निरीक्षण गरेको कुरामा कुनै सत्यता छैन। रक्षा मन्त्रालयको नियमित अनुगमन कार्यक्रमअन्तर्गत सम्बन्धित पदाधिकारीसहित दार्चुलास्थित सेनासहित दार्चुला-टिंकरभञ्ज्याङ सडक निर्माण नेपाली सेनालाई दिनका लागि निरीक्षण भ्रमण गरिएको हो।'

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई कालापानी क्षेत्रको अनुगमनका लागि हेलिकप्टर माग गर्दा उपलब्ध नगराइएको तर रक्षामन्त्रीले कार्यकर्ता लिएर कालापानी क्षेत्रको भ्रमण गरेको भन्दै सांसदहरुले मन्त्रीको जवाफ मागेका थिए।

    उनले महाकाली कोरिडोरको दार्चुला-टिंकर सडकखण्ड र संखुवासभा-खाँदवारी खण्डको १४ किलोमिटर चट्टानी मार्ग नेपाली सेना मार्फत गराउने निर्णय भएको र दुवै खण्डको ट्रयाक निर्माणको कार्य आगामी आर्थिक वर्षको शुरुदेखि नै प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

    सरकारको निर्णय अनुसार नेपाली सेना कोभिड १९ को रोकथाम, निययन्त्रण तथा स्वास्थ्य उपकरण खरिद लगायत काममा संलग्न भएको स्पष्ट पारे।

    उनले राष्ट्रिय गौरवको काठमाडौं-तराई द्रुतमार्ग निर्माण समयमै उच्चगुणस्तरका साथ सम्पन्‍न हुन सकोस् भनेर मन्त्रिपरिषद्को निर्णयबमोजिम निर्माणको जिम्मा नेपाली सेनालाई दिएको स्पष्ट पारे। 

    उनले नेपाली सेना अन्तर्गत सुर्खेतमा पश्चिम क्षेत्र रहने गरी गत आर्थिक वर्षदेखि एयर बेस निर्माण शुरु गरिएको बताए। यस एयरबेस निर्माणबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विकट पहाडी र हिमाली भूभागमा उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा सरकारले लिएको बताए। उनले बाराको निजगढमा नेपाली सेनाको एयरबेस निर्माण गर्ने तयारीमा नरहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]