स्थानीय निर्वाचन-२०७९

कोरोना संक्रमित निको नहुँदै घर गए, गाउँले त्रसित

जेठ २७, २०७७

    बैतडी : निको नहुँदै कोरोना संक्रमितलाई घर पठाइएपछि गाउँमा त्रास बढेको छ।

    बैतडीका ४ कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले कोरोना निको नहुँदै घर पठाएपछि गाउँमा त्रास बढेको हो। शिवनाथ गाउँपालिकाका १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाएको हो।

    निको नहुँदै अस्पतालले उनीहरूलाई जेठ २३ गते घर पठाएको थियो। तर उनीहरू चारै जना २५ गतेमात्रै घर पुगेका हुन्। गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरूमा यही जेठ १० गते कोरोना पुष्टि भएको थियो।

    संक्रमितलाई ७ दिन होम क्वारेन्टाइनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। 'अहिले उनीहरूमा कुनै त्यस्तो स्वास्थ्य समस्या छैन,' उनले भने, ‘कोरोना संक्रमितलाई निको नहुँदै घर पठाउँदा गाउँमा त्रास चाहिँ बढेको छ।’ 

    उनीहरूले कोरोनालाई नजितेपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

    लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो। सेती प्रादेशिक अस्पतालले जेठ २३ गते बैतडीका ४ सहित ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको हो।  

    संक्रमितलाई अस्पतालले डिस्चार्ज गर्दा परिक्षण नगर्दा संक्रमणको जोखिमको सम्भावना हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीको भनाई छ। 'उनीहरूमा स्वास्थ्य समस्या नभए पनि शौचालय र पानीको धारा संयुक्त रुपमा प्रयोग गर्न सक्ने बाध्यता हुनसक्छ, यस्तो अवस्थामा संक्रमणको जोखिम बढ्छ,' उनले भने, ‘होम क्वारेन्टाइनमा राखिएकाले परिवारिक सम्पर्कबाट टाढै रहनुपर्ने र सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ ’ 

    बैतडीका ६ संक्रमितमध्ये एकजना यसअघि गत बुधवार कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन्‌। एक जनालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ।

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]