राजनीति

नेकपा विभाजनको रन्को : एकअर्कालाई नंग्याउन र कमजोर पार्न हानथाप

टोपबहादुरले भने : ‘प्रधानमन्त्रीलाई पर्छान खोज्दा आफैँ सडकमा पुगे’

पुस ११, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै एकले अर्कोलाई नङ्ग्याउन र कमजोर पार्न लागिपरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू नयाँ समूहको नेतृत्व गरिरहेका छन्। 

    यसबीचमा आ–आफ्नै समूहको केन्द्रीय कमिटीको बैठक बस्नेदेखि आफ्नो समूहलाई बलियो र आधिकारिक बनाउने प्रयास जारी राखेका छन्। तर, औपचारिक विभाजनको संघारमा रहेका यी दुई समूह अहिले आधिकारिक रूपमा मूल पार्टी र चुनाव चिह्न दावी गर्ने मात्र होइनऽ एक-अर्काविरुद्ध सार्वजनिक रूपमै विरोधमा उत्रिएका छन्। 

    नेकपाका अध्यक्ष प्रचण्ड, नेपाल र खनालले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको चर्को विरोध गरेको भोलिपल्टै (शनिबार) ओली समूहका दुई जना नेताले उस्तै शैलीमा जवाफ फर्काए। शुक्रबार मात्रै ओली समूहबाट मन्त्री नियुक्त भएका टोपबहादुर रायमाझी र ओलीकै किचेन क्याविनेटका रूपमा चिनिएका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड, नेपाल र खनालकै पद प्राप्तिको आशक्तिका कारण अहिलेको स्थिति आएको बताए। 

    दुई समूहमा विभाजित नेकपाका नेताहरू अहिले आधिकारिक रूपमा मूल पार्टी र चुनाव चिह्न दावी गर्ने मात्र होइन, एक-अर्काविरुद्ध सार्वजनिक रूपमै विरोधमा उत्रिएका छन्। 

    ललितपुर निर्वाचन क्षेत्र-१ मा आयोजित क्षेत्रीय बृहत भेलालाई संवोधन गर्दै नवनियुक्त नियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीले प्रचण्ड–नेपालले प्रधानमन्त्री ओलीलाई पछार्न खोज्दा आफैँ पछारिएर सडकमा पुगेको टिप्पणी गरे। आफ्नै सरकारविरुद्ध चिसो सडकमा गएर दु:ख नगर्न आग्रह गर्दै मूल पार्टीमै फर्कन उनले सुझाए।

    तत्कालिन एमाले र माओवादी मिलेर बनेको मूल पार्टी नेकपा छोडेर प्रचण्ड नेपाल सडकमा गएकाले आफूहरू नै संस्थापन भएको मन्त्री रायमाझीको दावी छ। अनौपचारिक रूपमा अहिले छुट्टा–छुट्टै समूहमा बाँडिए पनि आधिकारिकरुपमा अलग भइ नसकेकाले अझै पनि एक ठाउँमा उभिन सकिने सम्भावना रहेको उनको तर्क गरे। अध्यक्ष र प्रधानमन्त्री पद मागेर नपाइने भन्दै उनले केही नेतालाई सरकार नढालेसम्म निन्द्रै नलाग्ने बानी परेको बताए।

    ‘कतिपय नेताको धन्दै छ, पार्टी फुटाउने र सरकार ढाल्ने,' उनले भने, ‘कतिपय नेताहरूलाई पार्टी नफुटाएसम्म सरकार नढालेसम्म निन्द्रै नपर्ने किन होला? हामीले कति पटक पार्टी फुटायौँ, कतिपटक सरकार ढाल्यौँ? यसले के फाइदा भयो?’ उनको प्रश्न थियो।

    ओली निकट केन्द्रीय सदस्य बस्नेतले भने निकै कडा शब्दमा प्रचण्डको विरोध गरेका थिए। हिजो देशभरका जनतालाई जातीय राज्य बाँड्दै हिँडेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले मूलधारको राजनीतिमा ल्याएको तथा पार्टी एकताका लागि गरेको योगदान बुझ्न नसकेको बताए। नेता बस्नेतले पहिला काठमाडौंमा कोठा भाडाँमा दिँदा छोरी लैजान्छन् भन्ने गरेको स्मरण गर्दै घुमाउरो शैलीमा प्रचण्डले एमाले फुटाएको आरोपसमेत लगाए।

    माधव नेपाललाई अध्यक्ष र झलनाथ खनाललाई राष्ट्रपतिको लोभ देखाएर झुक्याएर लगेपनि पार्टी कार्यालय र चुनाव चिन्हमा आँखा नलगाउन उनको चेतावनी छ। बरु गोलाकारभित्रको हँसिया हथौडा लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न सुझाएका थिए। 

    ‘तत्कालिन नेकपा एमालेको रगत र पसिनाबाट बनाएको पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलगाए हुन्छ, यदी त्यसो गरियो भने हाम्रा युवाहरूले पेरिस डाँडाको पार्टी कार्यालय कब्जा गर्छन्‌, उनले थपे,  ‘त्यत्ति त विचार गर्नुहुन्छ होला।’

    ओली सरकारको प्रशंसा र प्रचण्डको विरोधमा भाषणको धेरै समय खर्चेका बस्नेतले अब आफूहरू नयाँ जनादेशका लागि नयाँ सिराबाट जनताको बिचमा जाने पनि दोहोर्‍याए। मन्त्रीदेखि अख्तियारसम्म आफ्ना मान्छे हाल्न नपाएपछि आन्दोलन गर्न पुगेका प्रचण्डको यही गतिविधिले क्रान्तिको नायक बन्ने सपना पूरा नहुने टिप्पणी गरे।

    ‘म भक्तपुरको निवर्तमान सांसदको हैसियतले सोध्न चाहन्छु : ५ अर्ब रुपैएयाँको मलको ठेक्का तपाईंका घरबेटीले किन पूरा गर्नुभएन, नगरकोट जाने सडक किन बनेन ?' बस्नेतले भने, 'यही गतिविधिले क्रान्तिको नायक बन्ने सपना कसरी पूरा होला र?’

जगत भण्डारी

पत्रकार भण्डारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]