काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
काठमाडौं : गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीको धार्मिक यात्रा सफल पार्न स्नान गराउने कागेश्वरी महादेव मन्दिर क्षेत्र विकास गुरूयोजना अलपत्र परेको छ।
मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको रहेकाले पर्यटकीयस्थल बनाउन नगरपालिकाले डेढ वर्ष अघि गुरूयोजना बनाएको थियो। तर, योजनाअनुसार अहिलेसम्म काम हुन सकेको छैन।
कागेश्वरी मनोहरा नगरपालिका–१ का अध्यक्ष मुकुन्दप्रसाद गजुरेलका अनुसार गुरूयोजनाको डिजाइनमा १६ सय ८ चढ्ने सिँढी राखिने, मन्दिर ठूलो बनाउने, बाटो र पार्क निर्माण गरिने योजना समावेश छ। त्यस्तै, खोला वारपार गर्न झोलुंगे पुल निर्माणलगायत योजना पनि अघि सारिएको छ।
काठमाडौँ जिल्लाको उत्तर-पूर्वमा अवस्थित कागेश्वरी महादेव मन्दिरको दुरी जोरपाटी चोकदेखि करिब ६ किलोमिटर पर्छ। सवारीसाधनमा चढेर त्यहाँ पुग्न झण्डै १८ मिनेट लाग्छ। कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।
‘राष्ट्रिय निकुञ्जभित्र परेकाले काम गर्न समस्या भयो’
नगरपालिका प्रमुख कृष्णहरि थापाले मन्दिर क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्जको परेकाले समयमा भने अनुसार काम गर्न असहज भएको बताए।
‘गुरू योजनाका लागि डीपीआर बनिसकेको छ,’ उनले भने, ‘निकुञ्जभित्रको जग्गा परेकाले अब स्वीकृति लिएर मात्र काम गर्नुपर्नेछ। सहमति हुन लागेको छ, अब टेन्डर गरेर काम थाल्छौँ।’
कागेश्वरी मन्दिर समुद्री सतहदेखि करिब २४ सय मिटरमाथि रहेकाले त्यहाँसम्म पुग्न वृद्धवृद्धाहरूलाई बढी सास्ती हुने भएकाले अहिले मोटरबाटो विस्तार गरिरहेको उनले जानकारी दिए।
‘सामाजिक, धार्मिक र सांस्कृतिक हिसाबले यसको ठूलो महत्व छ, त्यसैले हामीले प्राथमिकतामा राखेर नै काम गरिरहेका छौँ,’ उनले भने।
प्रमुख थापाका अनुसार गुरूयोजना बनाउन काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ। डिजाइन अनुसारका सबै काम गर्दा ६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
कागेश्वरी मन्दिरको किंवदन्ती
मनोहरा नगरपालिका-१ का अध्यक्ष गजुरेलका अनुसार अहिले कागेश्वरी मन्दिर र वरपरका क्षेत्रलाई प्राचिनकालमा जंगलले ढाकेको थियो। तामाङको एक परिवार बसाइँ सरेर यो जंगलमा आएर बसेका थिए।
फलिफाप हुने सपना देखेपछि दुवैले गाई पाले। बाबुले दुध दुहुने र आमाले भकारो सोहोर्ने गर्दथे। तर, दुहेर भाँडोमा राखिएको दुध कहिल्यै भेट्दैनथे।
यसरी दुध हराएपछि कसले लग्यो भनेर चियोचर्चो गर्दा कागले लगेर अहिले मन्दिर भएको स्थानमा चढाउने गरेको पाइयो। ‘आमाले थाहा पाइसकेपछि ढ्याङ्ग्रो बजाएर नाच्ने र तामाङ संस्कारअनुसार मयुरको प्वाँ लगाएर झाँक्री बनेको थियो। त्यसपछि कागेश्वरी महादेव मन्दिर भनेर चिनिएको थियो भन्ने अहिले पनि सबैले भन्ने गर्छन्,’ थापाले भने।
श्री स्वस्थानी व्रत कथामा कागेश्वर महादेव आराधनाको महत्व व्याख्या गरिएको छ। शिवजीको अपमान सहन नसकी यज्ञ कुण्डमा प्रवेश गरी प्राण त्यागेकी सतीदेवीको मृत शरीर काँधमा बोकी अति शोकमा डुबेर यताउता भौंतारिने क्रममा यस स्थानमा आइपुग्दा सतीको मुटु त्यहाँ पतन भएको पनि उल्लेख छ।
सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले यो क्षेत्रमा महादेवको सो ३४ औँ ज्योतिर्लिङ्ग रहेको किंवदन्तीमा उल्लेख छ। मन्दिरमा २ सय २७ किलोग्राम तौलको अष्टधातु कागको मूर्ति राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।