समाज

अभियन्ताको सहयोगले उखु किसान गगनदेवको घरजग्गा लिलामीबाट जोगियो

पुस १२, २०७७

    काठमाडौं : उखु खेती गरेर घरबारविहीनको अवस्थामा पुगेका सर्लाहीका उखु किसान गगनदेव यादवको जग्गा लिलामीबाट जोगिने भएको छ।

    उखु खेती गर्न बैंकबाट लिएको रकम तिर्न नसक्दा यादवलाई केही दिनअघि बैंकले लिलामी पत्र काटेको थियो। उक्त लिलामी पत्र पाएपछि थाहाखबरको सम्पर्कमा आएका यादवले भनेका थिए, 'उखु खेती गरेर घरबारविहीन हुन्छु भनेर कल्पना पनि गरको थिइनँ।'

    मंसिर २९ गते बैंकले ९ लाख ५० हजार रुपैयाँ कर्जासहित सम्पूर्ण भुक्तानी रकम बुझाउन पत्र काटिदिएको थियो। ब्याजसहित उनले १० लाख १६ हजार ३ सय ३४ रुपैयाँ बैंकलाई तिर्नुपर्ने छ।

    अभियन्ता नवीन यादवको समूह र उनी कृषि विकास बैंकको मुख्य कार्यालयमा पुगेर रोक्का भएको खाता खोलिएको थियो। अभियन्ता यादवका अनुसार कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नवीकरण गरेर किस्ता लिन मिल्ने बनाएको जानकारी दिए। यादवको घर जग्गा लिलामीबाट जोगाउन विभिन्न व्यक्तिले सहयोग गरेको यादवले जानकारी दिए।

    उनी र उनको परिवारको ७१ सालदेखि उठ्न बाँकी करिब ४ लाख रुपैयाँ भुक्तानीका लागि आन्दोलन गर्न गगनदेव काठमाडौंमा छन्। गगनदेवको अन्नपूर्ण सुगर मिलबाट करिब ३ लाख भुक्तानी बाँकी रहेको थियो।

    सुगर मिलले शुक्रबार र आइतबार क्रमश: २ लाख ६४ हजार ३ सय ६८ र २७ हजार ६ सय ९२  रकम हालिदिएको यादवले जानकारी दिए। उखु मिलबाट उनले पाउनुपर्ने रकम बैंकमा जम्मा भएको छ। त्यसैगरी अन्य सहयोगी दाताबाट सहयोग रकम आउने क्रम जारी रहेको यादवले जानकारी दिए।

    'अन्य सहयोगी व्यक्तिबाट बैंकमा रकम आउने क्रम जारी छ', अभियन्ता यादवले भने, 'हालसम्म २ लाख ६० हजार जम्मा भइसकेको छ।' विभिन्न उखु मिलबाट भुक्तानी रकम प्राप्त हुन नसकेको भन्दै किसानहरू १५ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। तिनै आन्दोलनरत किसानमध्ये गगनदेव पनि एक हुन्।

    सहयोग रकम आउन थालेपछि उनले आफ्नो परिवार बिचल्ली हुनबाट जोगिन सक्ने बताए। 'कम्तीमा अहिले मेरो जग्गा लिलामी हुनबाट जोगिएको संकेत देखिएको छ। हेरौं अब के हुन्छ?'

    सुरुवाती दिनमा साहुबाट ऋण लिएर गगनदेवले १ बिघा जमिनमा उखु रोपेका थिए। महाजनसँगको ऋण थपिँदै जाँदा बैंकले सस्तो ब्याजमा ऋण दिन्छ भन्ने थाहा पाएपछि उनले आफ्नो जग्गा धितो राखेर रकम झिकेका थिए। खेती गरेर उखु मिललाई निर्यात गरे पनि मिलले उनलाई रकम भुक्तानी गरेको थिएन। समयमा ब्याज तिर्न नसकेपछि बैंकले उनको नाममा पत्र काटेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]