राजनीति

चिनियाँ उच्चस्तरीय टोली भेटघाटमा व्यस्त, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

आज प्रचण्ड-नेपालसँग भेट्ने

पुस १३, २०७७

    काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले आज पनि राजनीतिक भेटवार्ता जारी राख्ने भएको छ। 

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउ नेतृत्वको टोलीले आज नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्न लागेको हो। 

    दुवै नेताको सचिवालयका अनुसार चिनियाँ टोलीले आज भेट्ने भनेपनि समय यकिन भइसकेको छैन। नेकपालाई फेरि एक बनाउने संभावनाको खोजीमा आएको टोलीले हिजो काठमाडौं उत्रिएलगत्तै दुतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ।

    काठमाडौं उत्रिएसँगै चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको थियो भने राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार दुई देशको द्विपक्षीय भेटमा चिनियाँ सहयोग र हितका बारेमा छलफल भएको छ। 

    यसअघि नेकपाको विवाद पटक–पटक उत्कर्षमा पुग्दा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता रहने गरेको थियो। पछिल्लो पटक उनको सक्रियताका बाबजुद पार्टी विभाजन भएपछि उपमन्त्री नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएको हो।  प्रधानमन्त्रीले संसद विघटन गरिसकेपछि पनि राजदूत यान्छीले राष्ट्रपतिसहित नेकपाका चार नेतासँग भेटवार्ता गरेकी थिइन्। 

    टोली आइतबार काठमाडौं अवतरण भए देखिनै सबै गतिबिधि गोप्य राखिएको छ। उनीहरुले नेपाल प्रहरीको तर्फबाट सुरक्षार्थ खटिएको टोलीलाई ‘सुरक्षा नचाहिने’ भन्दै फिर्ता गरेका छन्। त्यसैले यो भ्रमणको उद्देश्य गोप्य तर खुला जस्तै नेकपासँग जोडिएको अनुमान छ। नेपाल आउने गुओ यचौ त्यही नेता चिनीयाँ नेता हुन, जसले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता अघि काठमाडौं आएका थिए। 

    नेकपा एकीकरणअघि चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौले नेपाल भ्रमण गरेका गरेका थिए।  २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरका थिए  र त्यसपछि नै पार्टी एकीकरणका लागि प्रस्ताव तयार भएको थियो।

    गुओ भ्रमणपछि सहमति भएर ०७५ जेठ ३ गते एकता घोषणा भएको थियो, त्यसैले गुओलाई एकताका सूत्रधार भनेर पनि विश्लेषण गर्ने गरिएको छ। तर एकतापछि नै विवाद भएपछि पार्टी एकीकरणमा भूमिका निर्वाह गरेको चीनले नेकपाको विवाद समाधानका लागि प्रयाससमेत गरेको थियो।

    चिनियाँ राजदूत होउ यान्छीले विवाद समाधानका लागि पटक–पटक राष्ट्रपति विद्यादेवी भण्डारीसहित शीर्ष नेतासँग भेट गरेका थिए। तर नेकपा विवाद समाधान गर्न चिनियाँ राजदूतको प्रयास असफल भएपछि यहीबीचमा गत १४ मंसिरमा चिनियाँ रक्षामन्त्री वाङ् फेईको नेपाल भ्रमणसमेत भयो। भेटमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङको चीन नेकपाको विभाजन चाहँदैन, एकताको लागि तपाईंले भूमिका निर्वाह गर्नुस् भन्ने सन्देश थियो।

    रक्षामन्त्रीमार्फत समकक्षीको सन्देश र सद्भाव प्राप्त भएपछि राष्ट्रपति भण्डारीले प्रचण्ड र ओलीलाई मिलाउन भूमिका निर्वाह गर्न उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट गरी आग्रह गरेका थिए। 

    नेकपाका नेताहरूसँग चिनियाँ टोलीले राष्ट्रपति सी को सन्देश सुनाउने र फेरि पनि पार्टी एकताको सम्भावना खोज्न प्रेरित गर्ने रहेको नेकपाका एक नेताको दाबी छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]