राजनीति

केपी ओलीले नेपाललाई शक्ति राष्ट्रहरूको अखडा बनाए : प्रकाशशरण महत

पुस १३, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीकै कारण नेपाल शक्ति राष्ट्रहरूको चलखेलको अखडा भएको आरोप लगाएका छन्। संसद् विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर ५ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले यस्तो बताएका हुन्। 

    ‘नेपाल शक्ति राष्ट्रहरूको चलखेलको अखडा भयो। आज दु:ख लाग्दो अवस्थामा नेपाल पुगेको छ। ओलीले आफ्नो शक्तिको स्रोत विदेशीलाई ठान्नुभएको छ,’ उनले भने, ‘कहिले भारतबाट कहिले चीनबाट। हिजो चीनबाट आएकाहरू सुरक्षा नै चाहिँदैन भन्दै खुसुक्क एयरपोर्टभित्र पसे।’ 

    उनले आफू पनि परराष्ट्रमन्त्री भइसकेको सुनाउँदै भने, ‘हामीले आफ्ना कुरा स्पष्ट कुरा राख्यौँ, राख्थ्यौँ। अहिले जहाँ भन्नुपर्ने हो त्यहाँ भन्दैनन्। विदेशीको चलखेल बढ्यो, प्रतिस्‍पर्धा बढ्यो। उनीहरूले कि आफ्नो पक्षमा हो भने कि अर्काे पक्षमा हो भनेर साबित बयान लिन आउँछन्।’ उनले प्रधानमन्त्री ओलीले गफ चुटेको र काम नगरेको आरोप पनि लगाए।

    ‘गफ चुट्ने? गफ चुटेर देश बन्दैन,’ उनले भने, ‘कोरोनाको महामारीमा पनि भ्रष्टाचार गरेर देखाए। भ्रष्टाचार, कमिसन, हिसाब बाहेकको शब्दावली उहाँहरूले जान्नुभएको छैन। जनताको पीर मर्का जान्नु भएकै छैन। जनता प्रयोगको वस्तु हो, गफ गरे दंग परिहाल्छन् भन्ने?’ उनले अबको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन दाबी पनि गरे। 

    त्यस्तै, प्रधानमन्त्री ओलीले संवैधानिक निकायलाई आफ्नो पहुँचमा राखेर दिउँसै रात पार्ने काम गरेको भन्दै आपत्ति जनाए।  ‘दिउँसै रात पार्ने काम गरेका छन्। संवैधानिक निकायलाई कारिन्दा बनाएका छन्। सरकारले जे चाह्‍यो त्यही गर्नुपर्ने बनाएका छन्। मनपरी चलाएका छन्। यो अवस्था रहेसम्म लोकतन्त्र सुरिक्षत हुँदैन’ उनले भने।  

    आफ्नै पार्टी मिलाउन नसकेर संसद् भंग गरेको भन्दै उनले आपत्ति जनाए। कोरोनाले देशको अर्थतन्त्र ठप्प भएको, उद्योग बन्द भएको, पर्यटन क्षेत्र अस्तव्यस्त भएको, जनता रोग र भोकले  समस्यामा परेको नदेखेको भन्दै महतले आपत्ति जनाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]