समाज

पानी बगेको खोलाभित्र पनि मुआब्जा दाबी, नदिँदा संरचना नै भत्काइयो

बागमती ब्युटिफिकेसनको काम पाँच वर्षदेखि अलपत्र

पुस १४, २०७७

    काठमाडौं : ठड्याइएका पर्खाल ढलेका छन्। फलामको रेलिङहरू खिया लागिसकेका छन्‌ भने कुनै भुइँमा असरल्ल छन्। झार र जङ्‌गलले खोलाको किनारा ढाकेको छ। बागमती नदी किनारको सौन्दर्यीकरण(ब्युटिफिकेशन) अन्तर्गत भएका कामको हालत अहिले यस्तै देखिन्छ। 

    योजना अनुसार समयमै काम सकिएको भए यतिखेर ढल बग्ने बागमती नदी निकै सुन्दर, सफा र स्वच्छ भइसक्ने थियो। नदी हेर्न धेरै पर्यटक आकर्षित हुन्थे। तर, बिडम्बना! योजना शुरू भएको पाँच वर्ष बितिसक्दा पनि कामले तीव्रता पाउन सकेको छैन।

    बागमती नदीको सिनामंगलदेखि गोकर्ण ब्यारेकसम्म खोला वरपर​ १४ किलोमिटरमा सौन्दर्यीकरण गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी फाँट र कालिका-रमन-लामा संयुक्त उपक्रम (जेभी)सँग २०७३ मंसिर १ गते नै करिब दुई अर्ब रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।

    ठेक्का सम्झौता अनुसार २०७५ माघ १८ गतेसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने थियो। तर, म्याद सकिएको दुई वर्ष बित्दा पनि कामले गति लिन सकेको छैन। यो काम गर्न राज्यले एशियाली विकास बैंक (एडीबी)सँग करिब २ अर्ब रुपैयाँ ऋण लिएको छ। 

    ब्युटिफिकेसनको डिजाइन अनुसार खोलाका दुवैतर्फ पर्खाल लगाउने, ११ वटा बाँध निर्माण गर्ने, फुटपाथसहित साइकल ट्रयाक,सोलार बत्ती जडान, गोकर्णमा किरियापुत्री भवन बनाउने र दुई वटा शौचालय निर्माण गर्नुपर्ने छ। 

    बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अझै मुख्य फुटपाथमा ढुंगा हाल्ने तथा छाप्ने, दुबो हाल्ने र सोलार बत्ती जडान गर्ने काम अझै बाँकी छ। अहिलेसम्म जम्माजम्मी ७६ प्रतिशत भौतिक प्रगति भएको छ।


    यसकारण काममा ढिलाइ

    बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले स्थानीयको विरोधका कारण समयमा काम हुन नसकेको बताए।

    ​उनका अनुसार २० मिटर खोला बाहिर परेका जग्गाधनीले क्षतिपूर्ति पाइसकेका छन्। तर, उनीहरूले खोलामा पर्ने जग्गाको पनि मुआब्जा माग्दै पटक-पटक काममा अवरोध गरिरहेका छन्‌।

    ‘अहिले खोला बगेको ठाउँको पनि मुआब्जा माग गरिरहेका छन्‌,’ उनले भने, ‘काम थाल्दा पनि स्थानीयले कामदारलाई धम्की दिए। कामदारले पनि काम गर्न मानेनन्। विरोधकै कारण करिब दुई वर्ष काम हुनै सकेन। त्यही भएर समयमा काम सम्पन्न हुन सकेन, त्यसैले ढिलाइ भयो।’

    एक अर्ब ४० करोड रुपैयाँ खर्च

    अहिलेसम्म भएका काममा एक अर्ब ४० करोड रुपैयाँ खर्च भैसकेको छ। तर, खर्च अनुसार काम भएको भने देखिन्न। यता, सक्दो काम गरेको बागमती सभ्यता एकीकृत विकास समितिको दाबी छ।

    ‘हामीले​ स्वतन्त्र ढंगले काम गर्ने अवसर पाएको भए अहिलेसम्म काम सकिन्थ्यो। सुरक्षाकर्मी राखेर काम गर्नुपर्ने अवस्था छ। ७ किलोमिटरसम्म कसरी सुरक्षाकर्मी राखेर काम गर्ने ?’ उनले भने।

    दिनमा काम गरेपनि बेलुकीपख स्थानीयले पर्खाल भत्काउने गरेको उनको आरोप छ।

    ठेक्का रद्द गर्न पत्र

    यो कामका लागि थपिएको निर्माण अवधि पनि पनि सकिएको छ। म्याद रहेका बेला काम गर्ने वातावरण नमिलेपछि ठेकेदारले ठेक्का रद्द गर्न माग गर्दै बागमती सभ्यता एकीकृत विकास समितिलाई लिखित पत्र पठाइसकेको छ।

    सूचना अधिकारी अर्याल भन्छन्‌, ‘रोकिएको काम मंसिर ७ गतेबाट शुरू गर्ने निर्णय भएपनि ठेकेदारले ठेक्का रद्द गर्न पत्र लेखिसकेको छ। ठेकेदारले तोकिएको समयसम्म काम गर्ने वातावरण नमिले ठेक्का तोड्न सकिने सर्तमै उल्लेख छ।’

    अब सौन्दर्यीकरणको काम के हुन्छ भन्ने प्रश्नमा उनी अर्थ मन्त्रालय,एडिबी लगायत चार पक्षको निर्णयले मात्रै म्याद थप गरेर काम गर्न सकिने बताउँछन्।

    ‘हामीले म्याद थप गर्न अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ,’ उनले भने, ‘अर्थ मन्त्रालयले मात्रै म्याद थप गर्ने निर्णय गरेर हुँदैन। युकेको कल्सटेन्ट र एडिबीले पनि थप गर्ने निर्णय लिए मात्रै काम शुरू हुन्छ। नभए यसरी नै काम अल्झिइरहन्छ।’

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]