समाज

बसाइँ सरेकाहरू पहाड खनेर पानी निकालेपछि थातथलोमै फर्किए

फाइल फोटो
पुस १६, २०७७

    इलाम : खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएपछि यसअघि थातथलो छाडेकाहरू गाउँ फर्कन थालेका छन्‌।

    सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो। नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका हुन्। जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ।

    लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो। पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो। जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने/नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन्।

    लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछिन्‌। पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नुपर्थ्यो। अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई जीवनले काँचुली फेरिएझैँ भएको छ। 

    एक वर्षअघि दुई करोड ४७ लाख ८० हजार रुपैयाँ लागतमा बोरिङको काम शुरू गरिएको थियो। सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन। सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो। गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए।

    पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउँछन्‌। आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्ति हुन्‌। उहाँ यही समस्याले गाउँ छाडेर बेँसीमा बस्दै आएका थिए, तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ। यहाँका अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए।

    झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन्। पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए, तर कुनै पनि योजना सफल भएनन्। गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी सङ्कलन गर्ने काम गरिएपनि कुनै काम सफल भएको थिएन।

    नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउँछन्‌। खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन्। खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भएका छन्। 

    वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा/एउटा, भल्व बक्स चेम्बर सात वटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट रहेका छन्। बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले जानकारी दिए।

    उनका अनुसार मेधश नजिक बेँसी क्षेत्र भएकाले कम गहिराइमै पानी निकाल्न नगर सफल भएको हो। अहिले आयोजना १०० घरका लागि हो। अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]