समाज

डा. केसीको समर्थनमा सडकमा लाग्यो नारा- अख्तियारको घडीमा, माफियाको ब्याट्री, हेर्नुस् फोटोहरु

साउन १, २०७३

    काठमाडौः स्वास्थ्य क्षेत्र सुधारका माग राखेर ८ दिनदेखि अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

    माइतीघर मण्डलाबाट बानेश्वरसम्म गरिएको प्रदर्शनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरु, मेडिकल विद्यार्थीहरुसँगै ऐक्यवद्धता जनाउन विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि सहभागी थिए।

    सोलिडारिटी फर गोविन्द केसी नामक संस्थाले गरेको प्रदर्शनमा सहभागीले कालो कपडामा 'आई एम पागल, आई एम विथ डा. केसी' (म पागल हुँ, म डा. केसीको साथमा छु) लेखिएको कपडा लगाएका थिए। उनीहरुले अनुहारमा डा. केसीको मुकुण्डो लगाएका थिए।

    प्रदर्शनका सहभागीले ‘माफियाको मिसन, सिटामोलमा कमिसन’, ‘लोकमानको मपाईं, सत्याग्रहको लडाईं’, ‘अख्तियारको घडीमा, माफियाको ब्याट्री’ लगायतका नारा लगाएका थिए।

    डा. केसीले अनसन घोषणा गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले मेडिकल शिक्षामा हस्तक्षेप गरेको भन्दै महाअभियोग लगाउन माग गरेपछि अख्तियारले उनलाई पागल भनेको थियो। त्यसै प्रशंगलाई लक्षित गर्दै प्रदर्शनकारीहरुले ‘म भ्रष्टाचार र माफियातन्त्र विरुद्ध लड्ने पागल हुँ’ लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए।

    प्रदर्शनकारीहरुले सडकमा नै विरामी जाँच गरेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारीहरु बिरामी बनेर सडकमा सुतेका थिए भने त्यहीँ डाक्टरहरुले परीक्षण गरेका थिए। ह्विलचेयरमा आउने प्रदर्शनकारीहरु पनि विरोध कार्यक्रममा सामेल भएका थिए।

    प्रदर्शनपछि बानेश्वरमा आयोजित कोणसभामा चिकित्सक डा. सरोज धितालले सरकारले स्वास्थ्य सेवालाई किनमेलको वस्तु बनाएको आरोप लगाए। उनले स्वास्थ्यक्षेत्रको निजीकरण विरुद्ध बोल्नेलाई आतंककारीलाई जस्तो व्यवहार भइरहेको उनले बताए। ‘त्यसविरुद्ध बोल्न खोजे भने झण्डै झण्डै आतंकवादीको जस्तो आरोप लाग्छ, लागिरहेको छ’ धितालले भने।

    सभामा बोल्दै डा. केसीका सहयोगी डा. जीवन क्षेत्रीले आमरण अनसन नेपालको स्वास्थ्य क्षेत्रलाई व्यापार बन्नबाट रोक्न र सबै जनताको सहज पहुँचका लागि भएको बताए। उनले सरकारले केसीका माग सम्बोधन गर्न ध्यान नदिएकोले आइतबारदेखि शिक्षण अस्पतालका मेडिकल विद्यार्थीले पनि डा. केसीसँगै अनसन थाल्ने जानकारी दिए।

    प्रदर्शनमा विवेकशील नेपाली, युथ फर चेन्ज, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन, पब्लिक पोलेसी पाठशाला, हामी नेपाली लगायतका संस्थाहरु पनि सहभागी थिए। 

    हेर्नुस् थप फोटोहरु : 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]