समाज

छ परिवार पहिराको बीचमा, २ दिनदेखि सम्पर्कबिहीन

साउन २, २०७३

    ताप्लेजुङ : विकट गाविस तापेथोक–८ को सोत्लीमा बस्तीका छ घरपरिवार पहिराका बीचमा परेका छन्। वर्षासँगै शनिबार बिहान बस्तीको दुवैतर्फका भागमा पहिरो झरेको र पहिरो झरेदेखि नै सो क्षेत्र सम्पर्कविहीन बनेको लेलेप निवासी ग्याबु शेर्पाले बताए।

    उनका अनुसार लेलेप गाविसबाट हेर्दा सो बस्तीबाट ती परिवार पहिरो छिचोलेर वारिपारि जान सक्ने अवस्था छैन। सो क्षेत्र जाने बाटो र लेलेप हुँदै घुन्सा जाने बाटामा रहेको पुलमा समेत पहिराले अवरोध पुर्‍याएको छ।

    खोला किनारै किनार भएर पुग्न सकिने भए पनि पहिरो र बाढीले गर्दा आसपास क्षेत्रबाट समेत जान कठिनाइ भएको छ। पहिरो गएको भन्ने खबर पाएपछि शनिबार नै प्रहरीको टोली घटनास्थलतर्फ गए पनि पहिरोका कारण घटनास्थल पुग्न नसकी बीच बाटादेखि नै फर्किएको छ।

    आइतबार बिहान आसपासका क्षेत्रका स्थानीयवासीसहित लेलेप र तापेथोक प्रहरी चौकीबाट पुनः प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर सो क्षेत्र सञ्चारको पहुँचबाट टाढा रहेकाले सम्पर्क हुन नसकेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

    त्यस बस्तीमा छ परिवारका २१ जना बस्ने गरेका छन्। त्यस क्षेत्रमा लेलेपको लावाजिनबाट गएका स्थानीयवासी र आइतबार गएको प्रहरी पुगेर नफर्किएसम्म गाउँको अवस्था बुझ्न कठिन हुने प्रहरीले बताएको छ। स्थानीयवासी र प्रहरीको टोली पुग्न सकेको वा नसकेको भन्ने कुनै टुङ्गो छैन।

    शनिबारमात्र त्यस क्षेत्रमा लेलेपबाट गएका आफन्तसमेत सम्पर्कविहीन बनेको लेलेप निवासी पूर्ण राईले जानकारी दिए। राईका अनुसार शनिबार बिहान पहिरो झरेदेखि नै स्थानीयवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको र अहिलेसम्म उनी फेला परेको/नपरेको जानकारी पनि छैन। यता राई बेपत्ता भएको भन्ने कुरा प्रशासनले पुष्टि गरेको छैन।

    विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ चक्रपाणि पाण्डेले त्यस क्षेत्रमा जाँदै गरेका प्रहरीले गराउने जानकारी पर्खिएर बसेको बताए। पहिरो गएको क्षेत्र सदरमुकामबाट झन्डै एक दिनको पैदल दूरीमा पर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]