स्वास्थ्य

नेपालमा क्षयरोगकै कारण वर्सेनि ५ हजारको जान्छ ज्यान

सन्दर्भ : ' विश्व क्षयरोग दिवस'

चैत ११, २०७३

    काठमाडौं : देशभरका ३४ हजारमध्ये काठमाडौं उपत्यकामा मात्र ३६ सय क्षयराेगका बिरामी रहेको एक तथ्याङ्कले देखाएको छ। विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रले बिहीबार गरेको पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिइएको हो।

    विश्व स्वास्थ्य संगठनले नेपालमा ४३ हजार क्षयरोगका बिरामी भएको अनुमान गरे पनि हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधी सेवन गरिरहेको केन्द्रका योजना अनुगमन तथ्याङ्क शाखाका निर्देशक अनिल थापाले जानकारी दिए। ‘यो वर्ष देशभर ३४ हजार मानिसमा क्षयरोग भएको पाइएको छ, जसमा ३६ सय जना बिरामी काठमाडौं उपत्यकामै भएको पाइएको छ’, उनले भने।

    विश्व स्वास्थ्य संगठनले हाल नेपालमा ४३ हजार क्षयरोगका बिरामी भएको अनुमान गरे पनि ३४ हजार मानिसहरुमा मात्र क्षयरोग भएको पुष्टि भएको र ९ हजार क्षयरोगका बिरामी सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

    बिरामीमध्ये ७५ प्रतिशतलाई हावाको माध्यमबाट सर्ने फोक्सोको क्षयरोग भएको पाइएको निर्देशक थापाले जानकारी दिए। ०७१र०७३ मा ३७ हजार क्षयरोगी देखापरेकामा यो वर्ष संख्या घटेको भए पनि काठमाडौं उपत्यकामा भने क्षयरोगीको संख्या नघटेको उनको भनाइ छ।

    एक जना क्षयरोगी बिरामीलाई पूर्ण निको हुन करिब ८ लाख रुपियाँ बराबरको औषधी सरकारले डट्स सेन्टरहरुबाट निःशुल्क दिँदै आएको बताउँदै केन्द्रका निर्देशक थापाले बताए। 'क्षयरोगीले पूरा समय औषधी नखाएर बीचमै छोड्दिन्छन्’,उनले भने, ‘जसले गर्दा अरुलाई यो रोग सर्छ।’

     शरीरमा क्षयरोग देखिएपछि नियमित रूपमा ६ महिना औषधी खाए निको हुने भए पनि नियमित औषधी सेवन नगर्दा  नेपालमा वर्सेनि ४५ सय देखि ५ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ।

    क्षयरोगका बिरामी हुने युवाहरू बढी रहेको थापाले जानकारी दिए। उनका अनुसार हाल देखिएका ३७ हजार क्षयरोगका बिरामीमध्ये ११ हजारको हाराहारीमा युवाहरू क्षयरोगबाट पीडित भएको भेटिएको छ। 'हाल देखिएका ३७ हजार क्षयरोगीमध्ये ११ हजार युवा छन्। गत वर्षभन्दा यो वर्ष झन् धेरै युवामा क्षयरोग भेटिएको छ, जसमध्ये धेरैलाई फोक्सोको टीबी भएको पाइएको छ’, उनले भने।

    राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत  आर्थिक वर्ष २०७२र७३ मा ३२  हजार ३ सय ७९ नयाँ क्षयरोगी  पहिचान भै उपचारको दायरामा आएकोमा जसमध्ये २३ हजार ५ सय २७ अर्थात् ७५ प्रतिशत फोक्सोको क्षयरोगी र ८ हजार ८ सय ५२ अर्थात २८ प्रतिशत फोक्सो बाहिर हुने क्षयरोगी रहेका छन्। यसमध्ये १ हजार ७ सय ६९ जना अर्थात् ५।५ प्रतिशत बालबालिका रहेका छन्।

    हावाको आउजाउ नहुने गुम्म परेको कोठाहरु जेल, छात्रावास, गुम्बाहरुमा धेरै मानिसहरु सँगै बस्ने ठाउँमा यो रोगको संक्रमण बढी हुन्छ। वरिष्ठ क्षयरोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईंका अनुसार लगातार खोकी लागि रहने, खोक्दा खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, शरीर दुब्लाउँदै जाने लक्षण देखिएमा फोक्सोको क्षयरोग हुनसक्छ।

    थापाका अनुसार क्षयरोग विशेषत फोक्सोमा लाग्ने रोग हो, तर मान्छेको जुनसुकै अंगमा पनि क्षयरोग लाग्न सक्छ। क्षयरोग लागेमा साँझपख ज्वरो आउने, पसिना आउने र दुब्लाउदै जाने लक्षण देखिन्छ। श्वासप्रश्वासको माध्यमले सर्ने रोग भएकाले धेरै जसो फोक्सोमा यो रोग लाग्ने गर्छ। क्षयरोग लागेपछि नियमित रुपमा चार थरी औषधी सेवन गरे पूर्ण रूपमा निको हुन्छ। क्षयरोगको औषधी सरकारले नि:शुल्क दिँदै आएको छ।

    सन् १८८२ मा जर्मन वैज्ञानिक डा. रबर्ट ककले क्षयरोगको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्थ २४ मा विश्वभर क्षयरोग दिवस मनाउने गरिन्छ। यो वर्ष ‘क्षयरोग अन्त्यका लागि एक होऔं, सबैलाई सँगसँगै लैजाऔं  भन्ने नाराका साथ विश्वभर क्षयरोग दिवस मनाइँदैछ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]