राजनीति

थ्रेसहोल्डको विरोधमा संसद बैठकमा साना दलको नाराबाजी

चैत ९, २०७३

    काठमाडौं : संसदमा प्रतिनिधित्व गर्ने साना दलले राजनीतिक दल सम्बन्धी विधेयकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न राखिएको थ्रेसहोल्डको विरोध गरेका छन्। संसदमा समय लिएर बोल्दै साना दलहरुले थ्रेस होल्डको विरोध गरेका हुन्।

    राजनीतिक दलसम्बन्धी विधेयकमा राष्ट्रिय दल मान्यता प्राप्त गर्न ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचन तर्फ १ सिट ल्याउनुपर्ने प्रावधान छ। साना दलले गर्दा अस्थिरता बढेको तर्क सहित थ्रेसहोल्ड ल्याइनु अलोकतान्त्रिक र संविधान विरोधी भएको धारणा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टीका सांसदले राखेका थिए।

    बैठकमा बोल्दै नेकपा मालेका महासचिव सिपी मैनालीले मुलुकमा ठूला दलका कारण अस्थिरता निम्तिएको भन्दै साना दललाई तह लगाउन भन्दै थ्रेसहोल्ड ल्याइनु गलत भएको उल्लेख गरे।

    'साना दलका सांसदका कारण अस्थिरता निम्तिएको भन्ने कुरा गलत हो। मुलुकमा अस्थिरता भित्र्याएको ठूला दलले हो। त्यसैले साना दललाई तह लगाउने उद्देश्यले थ्रेसहोल्ड ल्याइनु गलत छ। यो फिर्ता गरियोस,' मैनालीले माग गरे।

    यस्तै बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुन, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल र जनमुक्ति पार्टी नेपालका सांसद शिवलला थापाले संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक प्रतिनिधित्वको विपरीत थ्रेसहोल्ड ल्याइएको भन्दै फिर्ता गर्न माग गरे।

    'संविधानले व्यवस्था गरेको समावेशी समानुपातिक प्रतिनिधित्व अनुसार अहिले आदिवासी, जनजाति, महिला, दलितहरुले संसदमा आफ्ना अधिकार राख्न पाएका छन्। यो लागू भयो भने तिनीहरुको प्रतिनिधित्व घट्छ। त्यसैले संविधानको मान्यता विपरीतको प्रावधान हटाइयोस्' उनले भने।

    बैठकमा बोल्ने साना दलका सांसदहरुले  थ्रेसहोल्ड जनयुद्ध, जनआन्दोलन, मेधस आन्दोलन लगायतका अधिकार प्राप्तिका आन्दोलनको मर्म विपरीत भएको उल्लेख गरे।

    साना दलहरुले थ्रेसहोल्ड खारेजीको माग गर्दै संसदमा नाराबाजी समेत गरेका थिए। यो पनि पढ्नुस्ः राजनीतिक दलसम्बन्धी विधेयक समितिबाट पारित, थ्रेसहोल्ड ३ प्रतिशत

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]