राजनीति

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचनलक्षित निर्देशनहरू

चैत ९, २०७३

    काठमाडौँ : निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गर्ने उद्देश्यले बुधबार विभिन्न निर्देशन जारी गरेको छ।
    ‘तालिम, सेमिनार, गोष्ठी, भ्रमण स्थगित गर्न पुनः निर्देशन’ भन्दै आयोगले घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुनः निर्देशन दिएको छ। आयोगले यसअघि फागुन २८ गते पनि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो।

    यसरी नै ‘निर्वाचन अधिकृतको कार्यालयका लागि निर्देशन’ भन्दै आगामी बैशाखको पहिलो साताबाट निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका लागि आवश्यक व्यवस्थापन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न भवन, फर्निचर, सवारी साधन, टेलिफोनलगायत भौतिक सामग्रीको व्यवस्थापन गर्न सो मन्त्रालयमार्फत मातहतका निकायलाई आवश्यक निर्देशन दिन पनि आयोगले निर्देशन दिएको छ।
    ‘हातहितयारको जिल्लागत विवरण उपलब्ध गराउन निर्देशन’ भन्दै आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्थाबमोजिम संकलन भएका हातहतियारको जिल्लागत विवरण चैत ११ भित्र आयोगमा उपलब्ध गराउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ। साथै चैत ८ गतेसम्ममा नियन्त्रणमा लिइएका अवैध हातहतियारको सूची उपलब्ध गराउन पनि निर्देशन दिएको छ। आयोगले यसअघि कानूनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्थाका लागि निर्देशन दिएको थियो।
    ‘निर्वाचन आचारसंहितासम्बन्धी आयोगको निर्णय’ अन्तर्गत स्थानीय तहको निर्वाचन घोषणा भई फागुन १८ मा निर्वाचन आचारसंहिता लागू भएपछि आयोगको आचारसंहिता समितिमा परेको उजुरी तथा निवेदनहरूमध्ये समितिले हालसम्म सहमतिका लागि माग भई आएका ३२२ निवेदनमा छानबिन गरी १९३ वटा निवेदनलाई सहमति प्रदान गरेको जनाएको छ। आयोगले १२९ वटा निवेदनलाई सहमति नदिने निर्णय गरेको छ। प्राप्त निवेदनमध्ये ९२ वटालाई त्यस विषयमा थप खुलाई लेखी पठाउन र छवटा निवेदनलाई तामेलीमा राख्ने निर्णय गरेको छ। साथै, आचारसंहिताविपरीत कार्य भएको भनी आयोगमा परेका २१ वटा उजुरीमध्ये आयोगले केहीमा निर्णय दिएको विज्ञप्तिमार्फत् जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]