राजनीति

प्रधानमन्त्री चीन जाँदै, चिनियाँ रक्षामन्त्री आजै नेपाल आउने

चैत १०, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६ दिने भ्रमणका लागि बिहीबार राति चीन जाँदैछन्। चीनको हुनान प्रान्तमा रहेको बोआओ शहरमा आयोजित बोआओ फोरम अफ एसियाको वार्षिक सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड १५ सदस्यीय भ्रमण टोली लिएर राति १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

    प्रधानमन्त्री प्रचण्डले चैत १२ गते बोआओ मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने तथा १३ गते चीनका राष्ट्रपति सि जिनपिङसँग भेट गर्ने कार्यक्रम छ।सोही दिन बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा व्यवसायी, शिक्षाविद् र विद्यार्थीहरुलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गरी प्रधानमन्त्री चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

    प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास वैरागी र अन्य उच्च अधिकारी सहित १५ जना छन्। प्रचण्ड बेइजिङमा हुँदा चीनका प्रधानमन्त्री ली खछ्याङ अष्ट्रेलिया र विदेशमन्त्री वाङ यी न्यूजिल्याण्डको भ्रमणमा रहनेछन्।

    परराष्ट्रमन्त्री महतका अनुसार चीन भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता तथा समझादारीमा हस्ताक्षर हुने छैन। चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्री देश बाहिर रहने भएकोले सम्झौता नहुने भएको हो। परराष्ट्रमन्त्री महतका अनुसार नेपालले केही सम्झौताका लागि तयारी गरेको थियो।

    चीनको छ दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्दै छन्।

    बालुवाटारमा अहिले नौ बजे हुने छलफलमा चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए। पूर्वप्रधानमन्त्री र विज्ञको बैठकमार्फत सुझाव लिने यसअघि नै तय भएअनुसार प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।

    चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

    छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीनदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदैछन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणमा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने कार्यक्रम छ।

    रक्षामन्त्री चाङले बिहीबार दिउँसो  ३ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार दिउँसो नै भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]