पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
चैनपुर (चितवन) : नवलपरासी कावासोतीका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनी स्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन्। पत्नी जानकी घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन्। दुईवटा बगानबाट एकैपटक केरा निकाल्दा यी दम्पत्तीले बाँडिएर काम गर्छन्। उनीहरुकोमा काम गर्ने अरु १५ जना पनि छन्।
चैनपुरमा २० विगाहा क्षेत्रमा लगाइएको केराबाट बुधबार एक गाडी (पिकअप भ्यान भरी ) केरा निस्कियो। काटेको केरा उनीहरुले तत्कालै बुटबल पठाए। ‘चितवनसँगै काठमाडौ, पोखरा, दाङ सबैतिर केरा जान्छ', सुवेदीले भने, 'माग अनुसार यसरी केरा निकाल्दै पठाउँदै गछौं ।' उनको बगानको केरा चितवन सहित बुटवल, दाङ, पोखरा, काठमाडौंसम्म पुर्याइन्छ।
‘काम गर्दै गयो भने सफल अवश्य हुन्छ, आफ्नो लगनशीलताले सफलता हुन्छ भन्ने विश्वास छ, मिलेर गरे भने सबै कुरा पुरा हुन्छ,’ केरा बोक्दै जानकीले भनिन्। केरामा मात्रै उनीहरुको अहिले झण्डै १ करोड २५ लाख रुपैयाँ लगानी छ। प्रतिविगाह २ लाख १२ हजार बढी लगानी लाग्छ। १७ बर्ष अघि २ विगाहाबाट खेती शुरु गरेका सुवेदी दम्पत्तीले अहिले ५५ विगाहामा खेती गरेका छन्।
अहिले कोसाको ३ रुपैयाँ ५० पैसा पर्छ। किलोको ३५ रुपैयाँ छ। ‘ वार्षिक २ करोड बराबरको कारोबार हुन्छ', यज्ञले भने, 'चित्त बुझ्दो फाइदा छ भनौं।’ शुरुमा ३ लाख लगानी गरेर दुई विगाहाबाट खेती शुरु गरेको अहिले ५५ विगाहा पुगेकोमा उनीहरु खुसी छन्। त्यो बेला २ हजार ८०० बोट थियो। अहिले ८० हजार बोट छन्। प्रतिविगाहा १ हजार ४०० बोट केरा लगाइन्छ। एउटा बोट तयार पार्न २१२ रुपैयाँ लगानी लाग्ने सुवेदीले हिसाब निकालेका छन्।
यसरी शुरु भयो खेती
२०५७ साल फागुन १६ गते घर छाड्ने र घर नबिर्सने कसम खाएर निस्केका थिए सुवेदी। शुरुको अवस्थामा घरदेखि टाढा भएर व्यवसाय गर्न गाह्रो भयो उनलाई। आर्थिक अवस्था साह्रै दयनीय नभएपनि नयाँ ठाउँमा कसैले ऋण नपत्याउने भएपछि जे छ गहना सबै बेचेर शुरु गरेका थिए। पत्नी जानकीले पनि उनको योजनामा साथ दिइन्। ‘शुरुमा त ऋण नै खोजेको हो, अपुग श्रीमतीको गहना तिलहरी, सिक्री बेचेर व्यवसाय थालियो’ उनले थपे, 'अहिले सन्तुष्ट छु।’
त्यो बेला २ विगाहाबाट उनले केरा खेती शुरु गरेका थिए। २०६६ सालमा उनले २० विगाहामा केरा खेती पुर्याए। अहिले ५५ विगाहा छ। यज्ञले हाल पाँच ठाउँमा केरा खेती गरेका छन्। खैरहनीको चैनपुरमा मात्रै २० विगाहामा केरा छ। अहिले यहाँ २८ हजार केरा रोपिएको छ। पदमपुरमा ७ विगाहा, जगतपुरमा २० विगाहा छ। ठिमुरामा पनि २० विगाहाको सामुहिक खेती छ। चैनपुरमा मात्रै दैनिक एक टिपमा ३ सय घरीसम्म केरा निस्कन्छ उनको। चैतदेखि असार, साउनसम्मै केरा निस्कन्छ। केरा रोपेको एक बर्षपछि बजारमा पठाउन शुरु हुन्छ ।
बिमाले व्यवसायी उत्साहित
पहिले चितवनमा हावाहुरीले केरामा ठूलो क्षति हुन्थ्यो। बर्षेनी करोडौंको क्षति बेहोर्थे व्यवसायीहरुले। बिमा शुरु भएकाले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति आउने भएपछि केराखेतीमा आकर्षण बढेको छ। यो वर्ष सुवेदीको पनि हावाहुरीले १ हजार ५०० बोट लडाएको छ। पहिला पूर्ण क्षति थियो। अहिले बिमा भएकाले क्षतिपूर्ति आउने क्रममा छ।
जिल्लामा ६ सय जना केरा किसानमध्ये २ सय जनाले विमा गरिसकेका छन्। धेरै पटक क्षतिबाट पीडित भए व्यवसायीहरु। केही पलायन पनि भए। सरकारलाई बर्षेनी गुहार्नुपर्थ्यो। बिमा नहुँदा प्रतिबोट मोहर या एक रुपैयाँ आउन मुश्किल थियो।
अहिले क्षतिको ९० प्रतिशत क्षतिपुर्ति पाइने भएकाले ढलेपनि ढुक्क हुने केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्त बताउँछन्। तर पनि कृषि ऋण पाउन सकेका छैन। किनकी भाडामा खेती गर्नुपर्छ। बोट धितो राखेर ऋण दियो भने हामी अझै बढी काम गर्न सक्ने व्यवसायीहरुको तर्क छ। केही रोगको पहिचान नहुँदा समस्या छ।
चितवनमा केरा खेतीको अवस्था
जिल्लामा २०४७ सालदेखि केरा खेती शुरु भएको थियो। २०५१ सालमा केही फस्टाएको थियो। २०५७ बाट केही व्यवसायिक खेती शुरु भएकोमा २०६२ सालदेखि संघ दर्ता भएर नै किसानहरु व्यवसायिक केरा खेतीमा लागेका हुन्।
अहिले जिल्लामा उत्पादित केरा मध्य ४० प्रतिशत जिल्लामा र ६० प्रतिशत जिल्ला बाहिर खपत हुन्छ। भारतीय केरा भित्रिने गरेकाले सबैभन्दा ठूलो समस्या हुने गरेको किसानहरुले गुनासो गरेका छन्। जिल्लामा बार्षिक रु १ अर्बको कारोबार हुँदै आएको संघका अध्यक्ष विष्णुहरि पन्त बताउँछन्। ६०० भन्दाबढी किसानले यहाँ २ हजार २०० भन्दा बढी क्षेत्रमा केरा लगाएका छन्।
अझै ६० प्रतिशत भारतबाट केरा आइरहेको छ। सयमा सय नै यहाँ उत्पादन गर्नुपर्छ भनेर लागिपरेकाले व्यवासायीहरु सक्रिय छन्। केही बर्ष अघि चितवनमा उद्योग वाणिज्य संघ चितवनले उक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत केरा खेती विस्तार अभियान चलाएको थियो।
त्यसले केरा खेती विस्तारमा ठुलो सहयोग पुर्र्याएको थियो। संघका कार्यकारी निर्देशक रसिक प्रधान केरा खेती विस्तारमा यो कार्यक्रम कोशेढुंगा भएको दावी गर्छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।