स्वास्थ्य

सबै स्थानीय तहमा अस्पताल खोल्न स्वास्थ्य मन्त्रालयको यस्तो छ तयारी

चैत १०, २०७३

    काठमाडौं : सरकारले देशभरका स्थानीय तहमा कम्तीमा १५ बेडको अस्पताल स्थापना गर्न निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालय यसको तयारीमा जुटेको छ। स्थानीय तहको पुनर्संरचनासँगै स्वास्थ्य मन्त्रालयले पनि आफू मातहतका स्वास्थ्य संस्थालाई पुनर्संरचना गर्न लागेको हो। 

    हरेक स्थानीय तहमा स्वास्थ्य संस्था पुर्‍याउने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशन आएपछि त्यसको गृहकार्य भइरहेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए। 'हाल स्वास्थ्य संस्थालाई जिल्ला अस्पताल,प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा वर्गीकरण गरिएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापना गर्नुपर्ने भनेकाले यसबारे गृहकार्यमा छौं' उनले भने।  

    स्वास्थ्य मन्त्री थापाले अब जिल्ला अस्पताल र प्राथामिक स्वास्थ्य केन्द्र नहुने जानकारी दिँदै ती स्वास्थ्य संस्थालाई कुनै स्थानीय तहको अस्पतालमा रुपान्तरण गर्न सकिने बताए। १५ बेडको अस्पताल अनिवार्य हुनु भन्दा पनि जनताले स्थानीय तहमा भएको अस्पतालबाट विशेषज्ञ सेवा पाउन् भन्ने उद्देश्यले सकेसम्म एक अस्पतालमा एक जना एमडी डाक्टर सहितको विशेषज्ञ चिकित्सक राख्ने तयारी गरिरहेको मन्त्री थापाको भनाइ छ। 

    'हामी १५ वेडको अस्पताल भन्दा पनि जनताले आफ्नै गाउँपालिका वा नगरपालिकाको अस्पतालमा सम्पूर्ण सेवा सुविधा पाउनुपर्छ भन्ने पक्षमा छौँ। त्यसैले सकेसम्म स्थानीय तहको एउटा अस्पतालमा कम्तीमा एक जना एमडी डाक्टर सहितको विशेषज्ञ चिकित्सक राख्ने तयारी हामीले गरिरहेका छौँ' उनले भने।

    स्थानीय तहमा स्थापना गरिने अस्पताल वेडको आधारमा भन्दा सेवा र सुविधाको आधारमा चिनिने मन्त्री थापाले दावी गरे। स्थानीय तहमा स्थापना हुने अस्पतालले कस्तो दिन सक्छ भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको र केही दिनमा नै यो विषय मन्त्रिपरिषदमा पुर्‍याइने उनले जानकारी दिए। 

    'अबको स्थानीय तहमा स्थापना गरिने अस्पतालहरु वेडको आधारमा भन्दा पनि सेवा सुविधा राम्रो हुनुपर्छ भन्नेमा हामी छौँ। हामी स्थानीय तहमा स्थापना भएका अस्पतालहरुले कस्तो कस्तो सेवा सुविधा दिन सक्छन् भनेर छलफल गरिरहेका छौँ। जसको पहिलो ड्राफ्ट तयार गरिसकेका छौं केही दिनमा नै सो कुरा हामीले मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेका छौं' मन्त्री थापाले भने। 

    स्थानीय तह निर्माण हुनुअघि हरेक जिल्लामा एउटा जिल्ला अस्पताल निर्वाचन क्षेत्रमा कम्तीमा एउटा प्राथमिक स्वास्थ्य  केन्द्र र इलाका स्तरमा स्वास्थ्य चौकी रहेका छन्। त्यस्तै गाविसस्तरमा उपस्वास्थ्य चौकी रहेका छन्। स्थानीय तह पुनर्संरचना भएपछि अहिलेका स्वास्थ्य संस्था पुरानो ठाउँबाट हटाउने वा नहटाउने भन्ने टुंगो छैन। 

    संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरिएको छ। गम्भीर खालका रोगहरुको विशेष उपचार सेवा बाहेक अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा गाउँपालिकाकै अस्पतालबाट पाउने व्यवस्था गरिने स्वास्थ्य मन्त्री थापाले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]