काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
लहान : पन्ध्र वर्षका सरोजकुमार चौधरी जन्मदा नै दुवै हातको कुहिनोमुनिको भाग थिएन। उनले कुहिनोले नै लेखेर यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका छन्।
लहान नगरपालिका १९ सोनमती घर भएका चौधरीले लहान मेरी चिल्ड्रेन एकेडेमीबाट नियमिततर्फ यसवर्ष एसईई परीक्षा दिएका हुन्। गणित र कम्प्युटर इच्छाधीन विषय राखेका चौधरीले दुवै कुहिनोको भरमा उत्तरपुस्तिका पल्टाउन, कलम समाउन, ज्यामितीय उपकरण चलाएर परीक्षामा लेखिरहेका छन्।
चौधरी पाँच वर्ष हुँदा बाबुआमाले तत्कालीन सगरमाथा अनाथाश्रममा ल्याएर छोडिदिएपछि अनाथाश्रममै बसेर पढिरहेका थिए । तीन वर्षअघि अनाथाश्रम विघटन भएपछि चौधरीसहित पाँच जना बालबालिकालाई लहानको मेरी चिल्ड्रेन एकेडेमीका संस्थापक प्रिन्सिपल पाण्डव हमाल ठकुरीले लालनपालनसहित पठनपाठनको जिम्मेबारी लिए। उक्त विद्यालयमा ७ कक्षादेखि पढिरहेका चौधरी एसईईको नतिजा आएपछि व्यवस्थापन विषय पढ्ने योजना रहेको सुनाउँछन्। ‘उनले विद्यालयमै बसेर थप पढ्न चाहे सम्पूर्ण खर्चसहित प्लसटुसम्म पढाउन तयार छु’ प्रिन्सिपल ठकुरीले भने।
परीक्षामा सुत्केरी पनि
सुत्केरी भएपछि प्रायः सुत्केरी महिला ११ दिनसम्म घरबाट बाहिर निस्किनुहुँदैन भनिन्छ। त्यसमा पनि हिन्दु संस्कारमा त झन् सुतक बार्ने चलन भएकाले सुत्केरीले कसैलाई छुन हुँदैन भन्ने मान्यता छ। तर सिरहाको बस्तीपुरकी रिता महतोले सुत्केरीको सबै पीडा भुलेर पछिल्लो छ दिनदेखि परीक्षा दिइरहेकी छन्।
वस्तीपुर माविबाट माध्यमिक शिक्षा परीक्षामा सहभागी महतोले सिरहाको विष्णुपुरकट्टीस्थित तुलसीराम सत्यभामा डोटेल मावि परीक्षा केन्द्रबाट गर्भवती अवस्थामै अनिवार्य अंग्रेजी र नेपाली विषयको परिक्षा दिएकी थिइन्।
चैत ४ गते परीक्षा दिएर घर फर्किएपछि सामान्य अवस्थामा छोरी जन्माएकी उनले चैत ५ गते एक दिन मात्र आराम गरेर भोलिपल्टदेखिको परीक्षा दिइरहेकी छन्। ‘सुत्केरी भएछि पनि पाँच विषयको परीक्षा दिइसकें, अब बाँकी एउटा पनि दिन्छु’ महतोले भनिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।