फिचर

नर्सरी व्यवसाय गरेरै वार्षिक लाखौँ आम्दानी

चैत १०, २०७३
    • पेमा लामा–

काभ्रेपलाञ्चोक : मान्छेले गर्न चाहेमा के हुँदैन? इच्छाशक्ति र श्रम भएमा हरेक मान्छे आफ्नो काममा सफल हुन्छ भन्ने उदाहरण बनेका छन्, काभ्रेपलाञ्चोक धुलिखेलका सोम लामा।
धुलिखेल नगरपालिका काठमाडौं विश्वविद्यालय (केयु) गेट अगाडि फलफूल नर्सरी व्यवसाय गर्दै आएका सोम लामाले वार्षिक लाखौँ रूपैयाँ आम्दानी गर्न सफल भएका छन्। स्थायी घर रामेछाप जिल्लाको दिमेपोखरी भएका लामा परिवार विगत ६/७ वर्षदेखि सोही ठाउँमा कुखुरा पालन व्यवसाय गर्दै आएका छन्।
पछिल्लो समय जिल्ला कृषि विकास कार्यालयबाट सामग्री र तालिम पाएपछि उनले ‘ताम्सालिङ नर्सरी’ सञ्चालन गर्दै आएका छन्। त्यहीँबाट विभिन्न थरिका फलफूलको बिरुवा उत्पादन गरी बजारमा बेच्ने अर्को पेशा पनि उनले थपेका छन्। लामा भन्छन्, ‘मेरो नर्सरीमा अहिले धेरै टाढा–टाढाबाट समेत बिरुवा लिन आउनेको संख्या बढेको छ।’ काभ्रेपलाञ्चोक जिल्लामा आएर परिवार नै कृषि व्यवसाय गर्दै आएको बताउने लामाले सुन्तला, कागती, किवी, जुनारलगायतका बिरुवाहरू बेच्दै पनि आएका छन्। 
‘यही पेसाबाट सन्तुष्ट छु’, लामा भन्छन्, ‘धेरै त कमाउन सकिँदैन, सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँसम्म खुद नाफा हुन्छ।’ यसैबाट खाने, बस्ने र छोराछोरीलाई पढाउनको लागि पुर्याएको उनी बताउँछन्। उनले त्यहाँ तीन रोपनी जग्गा भाडामा लिएर नर्सरी र कुखुरा पालन व्यवसाय चलाउँदै आएका छन्। उनको नर्सरीबाट उत्पादन गरेको फलफूलको बिरुवा काभ्रेपलाञ्चोकलगायत वरिपरिका जिल्लामा पनि पुगेका छन्।

रामेछापमा गाउँमा बसेकै कारण छोराछोरीलाई पढाउन र सुविधा उपभोग गर्न नपाएको पीडा सुनाउँदै लामाले सन्ततिको शिक्षा–दीक्षाकै लागि जिल्ला छोडेर धुलिखेल आएको बताए। ‘बालबच्चालाई पढाउनुपर्ने भएकाले काभ्रे आएर काम गर्नु रेको हो’, लामा भन्छन्। अहिले नर्सरी व्यवसाय गर्न अरू मान्छे राखेका छैनन्। श्रीमान्–श्रीमती मिलेरै उक्त नर्सरी चलाइरहेको उनको भनाइ छ। ‘हामी दुवै जनाले सबै काम भ्याउँछौँ, भाडा तिर्न र बालबच्चालाई पढाएरै वार्षिक लाखौँ कमाउन सक्नु पनि प्रगति नै ठानेका छौँ’, उनले भने।
उनीहरूले नर्सरीसँगै कुखुरा पालन व्यवसाय पनि छाडेको छैनन्। तर त्यसबाट सोचेजति फाइदा नभएको उनीहरूको भनाइ छ। ‘कुखुरा पालन व्यवसाय पनि ठीकै हो तर त्यति फाइदा नहुँदो रहेछ’, लामा भन्छन्। उनीहरूलाई कुखुरा पालन व्यवसायसँगै नर्सरी व्यवसाय गर्न भने जिल्ला कृषि विकास कार्यालयले सहयोग गरेको छ। कृषिबाट व्यावसायिक रूपमा काम गर्ने भएर नै सामग्रीहरू सहयोग गरेको कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए। लामाले पनि सोही तालिमपश्चात नर्सरीलाई व्यावसायिक रूपमा अगाडि बढाउने माध्यम पाएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]