काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
- भोजेन्द्र बस्नेत-
सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह?’ अधिकांशले यस्तै सोच्ने गर्दछन्। तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ।
खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ। यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन। सङ्केत चिन्ह्को अभावमा कयौं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन्।
विदेशी तथा स्वदेशीसमेत गरी वार्षिक एक लाखको हाराहारीमा पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले चासो नदिएको आधारशिविर नजिकैको गोरप्सेपका पेम्बा शेर्पा बताउँछन्।
“पदयात्री हिँड्दाहिँड्दै बनेको पाइलाको छाप नै बाटो हो, अरु कसैले हालसम्म बाटो बनाएका छैनन्,” उनले भने। ढुङ्गामाथि टेक्दै हिँड्नु परेकाले एउटा यामका लागि प्रयोग हुने बाटो अर्को याममा पत्ता लगाउन नसकिने शेर्पाको भनाइ छ।
“एउटै ठाउँबाट हिँड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीँबाट पदयात्री हिँड्छन्,” उनले भने। विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङ हुँदै आइसल्याण्ड पिक जाने बाटो, यस्तै लबुचे हुँदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ। चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ।
‘चोला पुग्न त अनुभवी शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन,” जोङ्लाका आङनुरु शेर्पाले भने। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा रहेको अभिलेख अनुसार वार्षिक करिब ३५ हजार विदेशीका साथै उनीहरुका गाईड, भरिया र स्वदेशी पर्यटकसहित एक लाखको हाराहारीमा मानिस सगरमाथा क्षेत्रमा पुग्छन्। यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौँले बाटो भुल्ने गरेका छन्।
“हिउँ परेको बेला सबै भाग उस्तै देखिन्छ, लडेर अङ्गभङ्ग हुने खतरा सधैँ रहन्छ,” आइसफल ट्रेक्स् एन्ड एक्सिपिडिसनका आरोही सोनाम शेर्पाले भने। पर्यटक हिँड्ने एउटै बाटो भएको भए बिर्सने सम्भावना न्यून हुनुका साथै सोधेर हिँड्नुपर्ने अवस्था नआउने उनको भनाइ छ। सगरमाथाको आरोहण शुल्क बापत उठाएको रकमको एक प्रतिशत मात्र खर्च गर्ने हो भने पनि यस क्षेत्रमा बाटो निर्माण गर्न सकिने खुम्बु रक क्लाइमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताए। “रोयल्टी उठाएर सगरमाथा जाने तर बाटो निर्माण नगर्ने ?” शेर्पाले प्रश्न गरे।
सगरमाथा आरोहण शुल्कबाट सरकारले बर्सेनी ३० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ। सगरमाथाको कुल रोयल्टीको ३० प्रतिशत रकम जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको पाइएको स्थानीय लाफुटी शेर्पाले बताए।
“राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर स्थानीय विकास निर्माणका लागि विदेशीलाई गुहार्नु परेको छ,” शेर्पाले गुनासो गरे। स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहणबापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने करिब ५२ करोड रुपैयाँ साविकको जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि ४० करोड रुपैयाँ भन्दा बढी रकम काम नगरी थन्किएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।