समाज

डेढ वर्षदेखि शरीरमा गोलीको पीडा खेप्दै सुनिल

चैत १०, २०७३
    • गोविन्द महतो

जनकपुरधाम : धनुषाका सुनिल कुमार दास डेढ वर्षदेखि शरीरमा गोलीको पीडा खेपिरहेका छन्। जनकपुर उपमहानगरपालिका वडा नम्बर १५ का सुनिल आन्दोलनको क्रममा प्रहरीद्वारा चलाइएको लागेको गोली शरीरमै बोकेर हिँडिरहेका छन्।  

मधेस आन्दोलनको क्रममा गत वर्ष भदौ २५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको “चलु जनकपुर, भरु जनकपुर” आन्दोलनमा भएको झडपमा उनलाई गोली लागेको हो। प्रहरी र प्रदर्शनकारीबीच जनकपुरको हनुमाननगरमा भएको झडपमा घाइते भएका देवपुरा रुपैठाका कामेश्वर पण्डित र विटु पण्डितलाई उद्धार गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि दास सख्त घाइते भएका थिए।

प्रहरीले चलाएको तीन गोली दासको शरीरका विभिन्न भागमा लागेको थियो। ढाड, जाँघ र पेटमा गरी उनलाई तीनवटा गोली लागेका उनलाई उपचारको लागि काठमाडौंको वीर अस्पताल लगिएको थियो। शल्यक्रिया पछि दुईवटा गोली निकाल्न सफल भए पनि एउटा गोली निकाल्न नसकिएको दासको भनाई छ। उनी काठमाडौंको केएमसी अस्पतालमा निरन्तर चेकजाँच गराउँदै आएका छन्।

उनलाई गोली निकाल्न करिब ५ लाख रुपैयाँ आवश्यक छ तर उनले रकम जोहो गर्न नसक्दा गोली निकाल्न नसकेका हुन्।  

ढाडको बायाँतिर रहेको गोलीले आफ्नो बाँया भागको अंगलाई बिस्तारै निष्क्रिय बनाउदै गएको उनले बताए। '२४ सै घण्टा पीडा हुन्छ। कहिले त किन बाँचेको छु जस्तो लाग्छ। तर श्रीमती र छोराछोरीको मुख हेर्दै पीडा सहेर बसेको छु।'

घरखर्च जुटाउने दास गोलीको पीडाले अस्वस्थ भएपछि घरमा छाक टार्न समस्या छ। प्लम्बरको काम गरेर मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउँदै आएका दासलाई गोली लागेपछि काम गर्न नसक्ने भएका छन्। जसका कारण स्नातकोत्तर पढ्ने उनकी श्रीमतीको आशा निराशामा परिणत भएको छ।

नर्सरी र युकेजीमा पढ्दै आएका उनका छोराछोरीको भविष्य समेत अन्योलमा छ। 'आफू त पढिएन तर श्रीमती र छोराछोरीलाई पढाउने ठूलो धोको थियो। त्यो पनि अब मर्ने भो।'  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]