समाज

जाजरकोटमा एसईईका परीक्षार्थीबाट रकम असुली

चैत १०, २०७३
    • दीपेन्द्र शर्मा-

जाजरकोट : जाजरकोटमा विद्यार्थीहरूबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रवेशपत्र लिँदा परीक्षा खर्चवापत रकम असुलेको खुलासा भएको छ। जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूबाट गैरकानुनी रूपमा परीक्षा केन्द्र व्यवस्थापन खर्चवापत भनेर रकम असुलेको खुलासा भएको हो। 
परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जिल्लाका विभिन्न विद्यालयहरूले विद्यार्थीहरूबाट तीन सय रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म रकम असुल्ने गरेको विद्यार्थी तथा अभिभावकहरूको गुनासो छ। प्रवेशपत्र लिन आएका विद्यार्थीहरूबाट परीक्षा सञ्चालन खर्च भन्दै विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूले रकम उठाउने गरेको विद्यार्थी तथा अभिभावकहरूले बताएका छन्। 
नियमविपरीत विद्यालयका शिक्षकहरूले खुलेआम रकम उठाउँदा पनि सरोकारवाला निकाय मौन बसेको स्थानीयको आरोप छ। सरोकारवाला निकायले कारवाही नगरेका कारण  वर्सेनि विद्यार्थीहरूलाई शिक्षकहरूले लुट्ने गरेको अभिभावकहरू बताउँछन्। 
परीक्षामा खटिएका केन्द्राध्यक्ष र अनुगमनको लागि जिल्ला शिक्षा कार्यालयबाट आएका निरीक्षकहरूलाई खान, बस्न, सुरक्षाकर्मीको चियानास्ता र परीक्षामा सहयोग गर्न भनी गएका शिक्षकलाई खान, बस्नको लागि उक्त रकम खर्च गर्ने गरिएको एक शिक्षकले बताए। ती शिक्षकका अनुसार परीक्षामा खटिएकालाई राम्रोसँग ‘खुवाइ–पियाइ’ गरे परीक्षा फितलो गराउन सकिने, नत्र परीक्षा कडा हुने भन्ने भ्रम छरेपछि विद्यार्थीले मागेअनुसारको रकम दिन बाध्य हुने गरेका छन्।
जिल्लाका  कोर्ताङ, मजकोट, दह, जुगाथापाचौर, सीमा, दशेरा, पजारु, कार्कीगाउँ, लिम्सालगायतका स्थानका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूबाट दुई हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको छ। तर विद्यार्थीहरूले परीक्षा बिग्रिने डरले कुनै विरोध गर्न नसकेको  बताएका छन्। रकम नदिए प्रवेशपत्र नै नदिने भएपछि आफूहरूले बाध्य भएर रकम तिर्नुपरेको  विद्यार्थीहरूको गुनासो छ।  ती क्षेत्रका विद्यालयहरूमा विगतमा पनि चर्काे रकम परीक्षा  सञ्चालनको नाउँमा उठाउने गरेको गत वर्ष एसएलसी उत्तीर्ण गरेकी दहकी गीता घर्ती मगरले बताइन्। विद्यार्थीले एक्लै बोले शिक्षकहरूले परीक्षा बिगारिदिने हुन् कि भनेर  विरोध गर्न नसकेको उनले बताइन्। रकम उठाएको बारे सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 
जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले कुनै परीक्षार्थीबाट पनि परीक्षा या अन्य वहानामा   रकम लिन नपाइने बताए। यसरी कसैले रकम लिएको पाइएमा कडा कारवाही हुने उनले बताए। ३ चैतबाट सुरु भएको एसईई परीक्षामा जिल्लाका १९ ओटा परीक्षाकेन्द्रबाट पाँच हजार छ सय विद्यार्थीले परीक्षा दिइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]