अर्थ

ठेकेदारबीचको झगडाले पाँच वर्षदेखि पुल निर्माण अलपत्र

चैत १०, २०७३

    उदयपुर : ठेकेदारबीच सामान्य लेनदेनको विषयमा विवाद हुँदा उदयपुरको सदरमुकाम जोड्ने फर्सेट खोलाको पुल ५ वर्षदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको ६ महिनादेखि नै ठेकेदारहरु बहादुर थिङ र फौदबहादुर पाण्डेबीच लेनदेनको बिषयमा विवाद भएपछि पुल निर्माण अलपत्र परेको हो।

    आर्थिक बर्ष २०६९/०७० मा सम्पन्न गर्ने गरी २ करोड ३३ लाख रुपैयाँमा बीपी बहादुर थिङ ज्वाइन्ट भेञ्चरले पुल निर्माणको ठेक्का पाएका थिए। तर आधा काम सकिएपछि पुल निर्माण रोकियो।

    दुवै ठेकेदारबीच आर्थिक अनियमितताको आरोप प्रत्यारोपले पुलको काम ठप्प भएको हो। ठेकेदार थिङले कम्पनीबाट रकम झिक्ने बेलामा एकलौटी निर्णय गरी झिकेको अर्का ठेकेदार पाण्डेले आरोप लगाए। पुल निर्माणको काम अघि बढाउन आफूले घरजग्गा बैंकमा धितो राखी लगानी गरेको रकम समेत थिङले नदिएको पाण्डेको भनाइ छ।

    उनीहरुबीच नुवाकोटको झोलुङ्गे पुल बनाउँदाको विषयलाई लिएर सर्वोच्च अदालतमा चलेको मुद्दासमेत विचाराधीन अवस्थामा छ । दुवै पक्षबीच लेनदेनका विषयमा बढेको असमझदारी समाधान नहुँदा यसको प्रत्यक्ष मारमा उदयपुर, खोटाङ र भोजपुरको उत्तरी क्षेत्रका स्थानीय परेका छन्।

    पुलको अनुगमनको जिम्मा पाएको डिभिजन कार्यालय लाहान र जिल्ला प्रशासन कार्यालय उदयपुरले चासो नदिएको स्थानीयको आरोप छ। चालु आर्थिक वर्ष सम्पन्न हुन लाग्दा म्याद थप गर्नका लागि ठेकेदार कम्पनीले चासो दिएर काम गरेजस्तो गर्ने र म्याद थपपछि काम थाँती राख्ने गरेको स्थानीय दिलबहादुर राईले बताए।

    डिभिजन प्रमुख शोभितलाल ठाकुरले ठेकेदारबीच लेनदेनमा विवाद हुँदा काममा अवरोध पुगेको बताए। उनले भने, ‘२/४ पटक दुवै पक्षलाई राखेर छलफल गराइयो, अझै मिलिसकेको छैन यद्यपी मुख्य ठेकेदार वहादुर थिङलाई समातेर काम अगाडि बढाइएको छ, आशा छ यस आर्थिक वर्षमा काम सकिन्छ ।’

    पुलका साइट इन्चार्ज ईन्जिनियर रामकुमार देवले पुलको अब आधा काम बाँकी रहेको बताए। कामलाई तिव्रता दिने हो भने चालु आर्थिक वर्षमा पुल निर्माण सकिने उनको भनाइ छ। उनका अनुसार निर्माण कम्पनीले ६० प्रतिशत रकम भुक्तानी लिइसकेको छ। बाँकी रकम काम सकिएपछि भुक्तानी गरिने ईन्जिनियर देवले बताए।

    यो पुलसँगै निर्माण सुरु भएको त्रियुगा नगरपालिका ८ र ९ लाई जोडने अर्ना खोला पक्की पुल सञ्चालनमा आएको ४ वर्ष वितिसक्दा समेत फर्सेट खोलाको पुल अलपत्र पर्नु प्रशासनिक निकायको कमजोरी भएको स्थानीय सुवास निरौलाको आरोप छ।

    दुवै पुल आर्थिक वर्ष २०६९/०७० सम्ममा सम्पन्न गर्ने गरी एकैसाथ वोलपत्र आह्वान भई सम्झौता भएको थियो। ५० मिटर लम्बाई र साढे सात मिटर चौडाई भएको फर्सेट खोलाको पुलको वजेट २ करोड ३३ लाख रुपैयाँ रहेको छ।

    पुल नहुँदा बर्षातको समयमा सदरमुकाम आवतजावत गर्ने यातायातका साधन र स्थानीयलाई सास्ती हुँदै आएको छ। सवारी साधन आवतजावत नहुँदा सदरमुकाममा काम लिएर आएका कतिपय सर्वसाधारणबीच बाटैमा अलपत्र पर्ने गरेका छन् भने कतिपय जोखिम मोलेर खोला तरेर आउने गरेका छन्।  

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]