राजनीति

चुनाव नजिकिएपछि इलाममा केन्द्रीय नेताहरुको चहलपहल बढ्यो

चैत १०, २०७३

    इलाम : आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा भएपछि इलाममा केन्द्रीय स्तरका नेताहरुको आगमन बढ्न थालेको छ। ४ नगरपालिका र ६ गाउँपालिकासहित कुल १० स्थानीय तह कायम भएको इलाममा चुनावको पूर्वसन्ध्यामा प्रमुख ३ राजनितिक दलका केन्द्रीय तहका नेताहरुको चहलपहल बढेको हो।

    चैत ७ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, धनराज गुरुङ लगायत इलाम आएका थिए। त्यसको भोलिपल्ट पूर्व प्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सांसद झलनाथ खनाल कार्यकता प्रशिक्षणका लागि आएका थिए। त्यसै गरी नेकपा माओवादी केन्द्रका नेताहरुले पनि कार्यकताहरुलाई प्रशिक्षण दिइरहेका छन्। बुधवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य इन्द्र आङ्बो मौसम कार्यकताहरुलाई भेटन इलाम आएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु जिल्लामा नै रहेकाले चुनावी माहोल उनीहरुले ने बढाइरहेको केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणले बताए।

    कुल एक लाख ९३ हजार ६ सय ४० मतदाता रहेको इलाममा दोश्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नं २ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले जितेका थिए। त्यसै गरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसका केशव थापाले जितेका थिए। एमालेका दुईजना हाइप्रोफाइल नेताहरूको जिल्ला इलाममा सबै राजनीतिक दलहरू चुनावी योजनामा जुटेका छन्।

    जागरणका कार्यक्रमहरु धमाधम

    इलाममा चुनावको वातावरण बढ्दै गएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्ले बताउँछन्। उनका अनुसार निकै लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा निर्वाचनपछि जनअधिकार सुनिश्चित हुने भएपछि राजनितिक दल मात्र होइन सर्वसाधारणमा समेत उत्साह बढेको छ।

    इलाममा मतदाताको नामावली रुजु गर्ने काम सम्पन्न भइसकेको छ नयाँ थपिएका मतदाताको नामावली निर्वाचन आयोगमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले शिक्षकहरुलाई भेला गरेर मतदाता शिक्षा सम्वन्धि तालिम सुरु गरेको छ। स्थानीय तहमा पिछडिएको समूह, दलित र महिलाहरुको समान सहभागिताको लागि मानव अधिकार मञ्च इलामले पनि चैत्र १५ गतेबाट ३ सातासम्म इलामका १० स्थानिय तहमा जागरण कार्यक्रम सुरु गर्न लागेको छ। त्यसै गरी सुनगाभा विकास संस्था, संकल्प नागरिक समूह ललितपुर लगायतका अन्य गैर सरकारी संस्थाहरुले पनि गाउँ गाउँमा स्थानीय तहमा महिला सहभागिता र जागरणका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्।

    १८ वटा मतदान स्थल थपिए

    इलाममा दोश्रो संविधानसभा निर्वाचनमा भन्दा मतदानस्थल समेत थपिएका छन्। त्यतिबेला १२६ मतदान स्थल कायम भएकोमा स्थानीय निर्वाचनमा १८ वटा थप भई १४४ पुगेको छ। इलामको १० वटा नयाँ स्थानीय निकायका संरचनामध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्योदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र देउमाई नगरपालिकामा १८ वटा मतदानस्थल निर्धारण गरिएको छ। 

    यसैगरी, चुलाचुली गाउँपालिकामा ९ वटा, फाक्फोकथुम गाउँपालिकामा १४ वटा, रोङ गाउँपालिकामा १३ वटा, माङसेबुङ गाउँपालिकामा १० वटा, माइजोगमाई गाउँपालिकामा ११ वटा र सन्दकपुर गाउँपालिकामा १३ वटा मतदानस्थल निर्धारण गरिएको छ।

    सीमाना हेरफेर भएको कारणले केही संख्या बढाउनुपरेको जिल्ला निर्वाचन अधिकृत काफ्लेले बताए। उनका अनुसार जिल्लामा १५ वटा दलले निर्वाचनमा भाग लिँदैछन्। पूर्वाञ्चलका निर्वाचन आयोगका कर्मचारीहरूलाई आउँदो १२ गतेदेखि निर्वाचनसम्बन्धी तालिम दिने कार्यक्रम रहेको छ।

    प्रजिअ भन्छन् ‘इलामको सुरक्षा व्यवस्था मजबुत छ’

    प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले इलामको सुरक्षा व्यवस्था मजबुत रहेको बताएका छन्। उनले सुरक्षाको हिसाबले ४ वटै सुरक्षा निकायसँग छलफल गरी मर्यादित ढंगले निर्वाचन सम्पन्न गर्न लागिपरेको बताए। दाहालले भने ‘अहिले जिल्लाको सुरक्षा संवेदनशीलता पहिचान गर्ने काम भइरहेको छ। जिल्लामा निर्वाचन सेल घोषणा गरिएको छ। सुरक्षासम्बन्धी सम्पूर्ण गतिविधिलाई एकै ठाउँबाट अघि बढाउने गरी सेलको प्रयोग गरिएकाले सुरक्षाको कुनै चुनौती छैन।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]