समाज

एसईई परीक्षामा अनुगमनका नाममा मर्यादाविपरीत कार्य

चैत १०, २०७३

    जाजरकोट : जिल्ला शिक्षा कार्यालय जाजरकोटबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुगमनको अनुमतिपत्र लिएर परीक्षाको मर्यादा बिगार्ने गरी अनुगमन गर्ने गरिएको भेटिएको छ। दुर्गमका परीक्षाकेन्द्रमा कोही नजाने तर पायक पर्ने र आफन्तहरू हुने ठाउँमा मात्र भीड लाग्ने गरेको पाइएको छ।  
    सरकारले यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा नाम दिएको एसईई अनुगमनको नाममा जिल्ला शिक्षा कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरू आफ्ना छोराछोरीहरू भएको  केन्द्रमा घुइँचो लाग्ने गरेका छन्। शिक्षा कार्यालयका कर्मचारीहरूलगायत विभिन्न संघसंस्थाबाट शिक्षा कार्यालयको पत्र लिएर गएकाहरू एउटै परीक्षाकेन्द्रमा घुइँचो लागेका कारण समस्या परेको केन्द्राध्यक्षहरूको गुनासो छ।

    जिल्ला शिक्षा कार्यालयले कार्यालय सहयोगीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अनुगमनको पत्र दिएपछि परीक्षाकेन्द्रमा अनावश्यक भीड लाग्ने गरेको छ। कार्यालयले अनुगमनमा खटाएका कर्मचारीहरू आफ्ना छोराछोरी र आफन्त भएका परीक्षाकेन्द्रमा थुप्रिएपछि  परीक्षा हल र केन्द्रको हातामा अनावश्यक भीड देखिएको हो। कार्यालयको चिठी देखाउँदै आफ्नो परीक्षाकेन्द्रमा १३ जना अनुगमनकर्ताहरू आएको र उनीहरू सधैँ परीक्षाकेन्द्रमै बस्ने गरेको  त्रिभुवन मावि दिल्ली परीक्षाकेन्द्रका केन्द्राध्यक्ष परमेश्वर शाहीले बताए। अनावयश्यक रूपमा  कार्यालयले हैसियत नै नभएकाहरूलाई समेत अनुगमनकर्ताको पत्र थमाएर पठाएको बताए।  
    परीक्षामा पत्रकारदेखि शिक्षकका नेता र कार्यालयका कर्मचारीसम्मको भीडले आफूलाई समस्या परेको केन्द्राध्यक्ष शाहीले बताए। जिल्लाका अन्य परीक्षाकेन्द्रका केन्द्राध्यक्षहरू पनि अनुगमनका नाममा धेरै व्यक्ति परीक्षाकेन्द्रमा प्रवेश गर्नाले परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न समस्या परेको बताउने गरेका छन्।
    परीक्षाकेन्द्रमा धेरै व्यक्तिको आवातजावतले आफूहरूलाइ वाधा पुगेको त्रिभुवन मावि खलंगाको तर्फबाट दल्ली परीक्षाकेन्द्रमा परीक्षा दिइरहेका विवेक शाहले बताए। परीक्षा अनुगमन गर्न भनेर खटाइएका कर्मचारीहरू इमान्दारीपूर्वक परीक्षाकेन्द्रमा नबसेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले स्वीकार गरे। परीक्षाकेन्द्रमा अनावश्यक रूपमा  प्रवेश गर्ने  व्यक्तिहरूलाइ नियन्त्रण गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन गरिएको पनि जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिए। कार्यालयका तर्फबाट कार्यालय सहयोगीलाई समेत अनुगमनमा खटाइएको विषयमा भने उनले केही बोल्न चाहेनन्।  
    जिल्लाभर रहेका १९ वटा परीक्षाकेन्द्रमा शिक्षा कार्यालयले आफ्ना कर्मचारीहरू र अन्य क्षेत्रका व्यक्तिहरूलाई परीक्षा अनुगमनका लागि खटाएको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]