स्वास्थ्य

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव, जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

बैशाख २६, २०७८

    बैतडी : कोरोनाका बिरामी बढ्दै गएपछि जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले कोरोनाका जटिल खालका बिरामी बढेकाले अस्पतालमा अक्सिजनको अभाव भएको बताए। अहिले अक्सिजन चाहिने बिरामीलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनले बताए।

    अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितमध्ये १० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। भर्ना भएका बिरामीका लागि मात्रै अक्सिजन रहेको डा. जोशीले बताए।

    ‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिरहेको छ,’ उनले भने, ‘अस्पतालसँग भएका अक्सिजन सिलिण्डरहरु खाली भएका छन्। घरमा अथवा अन्य प्रयोजनका लागि भएका खाली अथवा भरिएका सिलिण्डर भएमा उपलब्ध गराउन आग्रह छ।’

    कोरोनाको दोस्रो लहर चलेपछि अस्पताल अहिलेसम्म ३१ जना उपचारका लागि भर्ना भएका छन्। तीमध्ये ९ जना कोरोनामुक्त भएका छन्। सातजनालाई अन्यत्र रेफर गरिएको छ।

    अभावका बीच सेवा 

    जिल्ला अस्पतालले विभिन्न अभावबीच कोरोना संक्रमितलाई सेवा दिइरहेको छ। १३ शय्याको मात्रै आइसोलेसन कक्ष मात्रै रहेको अस्पतालमा संक्रमितको संख्या बढ्दै जाँदा समस्या भएको छ।

    अस्पतालमा सीमित जनशक्ति, भौतिक पूर्वाधार, उपकरणबीच कोरोना संक्रमितलाई सेवा दिइरहेको अस्पतालका प्रमुख डा. जोशीले बताए। ‘अस्पतालमा कोभिडका बिरामी दिनानु दिन बढ्दै गइरहेका छन्,’ उनले भने, ‘जटिल स्वास्थ्य अवस्था भएका बिरामीहरु पनि आउन थालेका छन्। आभावबीच सेवा दिइरहेका छौं।’

    डा. जोशीले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेका छन्। अस्पताल आउँदा सामान्य समस्या भएका बिरामीलाई पनि संक्रमणको जाखिम हुन सक्ने भएकाले यस्तो आग्रह गरिएको उनले बताए। कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालले यसअघि नै आकस्मिक र प्रसूति सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिसकेको छ।  

    भेन्टिलेर मेसिन फिर्ता हुने 

    बैतडीमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला अस्पतालमा जडान भएको भेन्टिलेर मेसिन फिर्ता हुने भएको छ। दक्ष जनशक्ति अभाव रहेकाले भन्टिलेटर मेसिन सुदूरपश्चिम प्रदेश सरकारले फिर्ता मागेको हो।

    गत मंसिरमा प्रदेश सरकारको सहयोगमा जडान गरिएको भेन्टिलेटर मेसिन दक्ष जनशक्तिको अभावमा हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। प्रदेश सरकारको आग्रहमा भेन्टिलेटर मेसिन फिर्ता गर्न लागेका अस्पतालका डा. जोशीले बताए। 

    अस्पतालमा दक्ष जनशक्ति उपलब्ध गराउनको सट्टा सुदूरपश्चिम सरकारले भेन्टिलेटर मेसिन नै फिर्ता मागेको भन्दै प्रदेश सरकारको आलोचना भएको छ। 

    बैतडीमा हाल कोरोनाका पाँच सय ४३ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। संक्रमणकै कारण चार जनाको मृत्यु भइसकेको छ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]