स्वास्थ्य

एम्बुलेन्स चालकका पीडा : घरको बरण्डामा एक्लै पकाएर खानुपर्छ

जाेखिम भत्ता पाउनुपर्ने माग

जेठ ३, २०७८

    भजनी : कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरूको पीडा निकै मर्मस्पर्शी रहेको छ। महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदा पाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरू आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन्।

    कैलालीको टीकापुरका लोकेन्द्र बहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँछन्। त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै। सुरुवातका दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले आफूलाई त्यस्तो असजिलो अनुभव नभएको सुनाए।

    भन्छन,‘काेरोनाकाे बिरामी बोक्दाबोक्दै कतै आफू पनि सङ्क्रमित त भएको छैन भन्ने आशङ्का जहिले नै हुने गर्दछ। आफ्नै कारणले परिवारका सदस्यलाई समेत सङ्क्रमण हुने हो कि भन्ने चिन्ता लाग्ने गर्दछ। पहिले त धेरै डर लाग्थ्यो, कामै सङ्क्रमित बोक्ने भएपछि विस्तारै सबै डर हराएको छ।’ उनले बढि घर जाने बेलामा आफूलाई भन्दा पनि अरुलाई सर्छ कि भन्ने धेरै डर हुने उनले बताए। 

    लोकेन्द्रको चार जनाको परिवार छ। ‘अस्पतालले बस्नको लागि कोठाको सुविधा त दिएको छ,खाना खान घरै जानुपर्छ, घर जाँदा छुट्टै घर बाहिरबाटै खाना खाएर निस्कन्छु,’ लोकेन्द्रले भने,‘सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको छ,छोराछोरी नजिक परिहाल्छन्,दिनभर सङ्क्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ,आफूलाई पनि।’

    अस्पतालमा कोरोना सङ्क्रमितलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ। प्रायः अन्य एम्बुलेन्स गाउँबाट सङ्क्रमित ल्याउनुपर्ने भए जाँदैनन् उनी। थप उपचारका लागि अन्यत्र पठाइएका बिरामीलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन्। 
     
    टीकापुरका कृष्णबहादुर शाही २०६४ देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँदै आएका छन्। यतिबेला कोरोनाका बिरामी बोक्नु पर्दा उनलाई पनि आफ्ना कारणले परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। आफूमा त त्यस्तो त्रास नभएपनि घरपरिवार भने सधैँ त्रासमै रहेको शाही बताउँछन्।

    ‘हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौँ, दिनभर बिरामी बोक्नुपर्छ, साँझ घर पुग्दा घरमा त्रासको वातावरण हुन्छ,हामी त जोखिममा छौँ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ,’उनले भने। 

    उनले आफ्ना कारण परिवार मात्रै नभई छिमेकीलाई समेत त्रास रहेको बताए। एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरू पनि टाढिएका छन्। त्यसले परिवारमा झन मानसिक चिन्ता थपेको उनको गुनासो छ।
     
    कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिएको भएपनि एम्बुलेन्स चालकहरूले खाइपाई आएको भन्दा अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन्। त्यति मात्र नभई सङ्क्रमित बोक्दा पिपिई समेत पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको छ। 

    टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउँछन्। दश वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका भट्टले थुप्रै बिरामीलाई एम्बुलेन्समा सवार गरेको भएपनि अहिले जस्तो कठिन अवस्था यो भन्दा पहिला कहिल्यै नआएको बताए।

    उनी मनभित्र जतिसुकै त्रास भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘बस्नका लागि अफिसमै व्यवस्था गरिएको भए पनि खाना खान घर जानुपर्ने भएका कारण छुट्टै त्रास हुन्छ,’ भट्टले भने,‘परिवारसँग बसेर खाने, भलाकुसारी गर्ने रहर भएपनि घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ।’ 

    उनले कैयौं सङ्क्रमितलाई सेवा दिएको भएपनि उच्च मनोबल र सावधानीका कारण अहिलेसम्म कोरोनाको सङ्क्रमणले छुन नसकेको बताउँदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरोनाको औषधि भएको सुनाए। 

    टीकापुर अस्पतालको समन्वयमा अहिले आठ एम्बुलेन्स सञ्चालनमा रहेका छन्। गाउँसम्म कोरोनाको सङ्क्रमण फैलिएको हुँदा सुरुमै कुन कोरोना सङ्क्रमित हो भनेर छुट्याउन समस्या भएका कारण पनि एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]