स्वास्थ्य

ज्यान नै जोखिममा परेपछि मात्र जान्छन् अस्पताल

जेठ ३, २०७८

    म्याग्दी : होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितको ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पताल भर्ना हुन थालेका छन्। 

    बेनी अस्पताल संक्रमितले विस्तारै भरिन थालेका छन्। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएका थिए। हाइफ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य संक्रमितमा अक्सिजनको कमी र निमोनिया देखिएको अस्पतालले जनाएको छ। सोमबार अस्पतालमा भर्ना भएर उपचार गराउने संक्रमित संख्या ३२ पुगेको अस्पताल प्रशासनले जनाएको छ।

    म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांशमा अक्सिजनको मात्रा निकै कम र निमोनिया पाइएको बेनी अस्पतालका मेडिकल कोर्डिनेटर डा.नवराज बस्ताकोटीले बताए।

    डा. बस्ताकोटीका अनुसार अधिकांश संक्रमितमा निमोनिया देखिएको छ। ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमित सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ’, डा. बस्ताकोटीले भने। कोरोना संक्रमितले घरमै जोखिम मोल्न नहुने उनले बताए।

    लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असहज महसुस हुँदा हुदै पनि घरमा बस्न नहुने डा. बस्ताकोटीको भनाइ छ।

    अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन्। ‘उपचारका लागि हामी तयारी अवस्थामै छौं, ‘खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुहोला’, डा. बस्ताकोटीले अनुरोध गरे।

    सास फेर्न समस्या र निमोनिया भएर पनि घरमै निको हुन्छ भनेर अन्तिममा अस्पतालमा आउने बिरामीलाई निको भएर घर फर्काउने सम्भावना कम हुने चिकित्सकहरूको भनाइ छ।

    कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै स्वाब दिएका ९ जना र जिल्लाबाहिरका गरी कुल २० जनाले ज्यान गुमाएको तथ्यांकमा देखिएको छ।

    अक्सिजन कमी भएको समयमै थाहा पाएनन्

    बेनी नगरपालिकाका एक कोरोना संक्रमित पुरुषलाई एक्कासि सास फेर्न गाह्रो भयो। घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका उनको मृत्यु भयो। श्वासप्रश्वास समस्याले उपचारका लागि अस्पताल भर्ना भएका बेनपा–८ का एक निर्माण व्यवसायीको पनि अस्पतालमै ज्यान गयो।

    दुवैको अक्सिजनको स्तर क्रमशः ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो। पछिल्लो एक सातायता म्याग्दीका कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ।

    कोरोनाको जोखिमसँगै आवश्यक जानकारी अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनुपरेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमित र दीर्घरोगीमा श्वासप्रश्वास समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।

    ‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भए पनि धेरैलाई जानकारी छैन,’ प्रमुख डा. कँडेलले भने।

    अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको कँडेलले बताए। अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि डिस्चार्ज गरिएको डा. कँडेल बताउँछन्। शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेलको भनाइ छ।

    कोरानाकै कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरूमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेका रहेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा. कँडेल बताउँछन्। 

    कस्ता समस्या देखिए पछि अस्पताल आइहाल्नु पर्छ?

    होम आइसोलेसनमा बसिरहेका बिरामीहरूको नियमित अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा. कँडेलको सुझाव छ। घाँटी चिलाउने, खसखसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वास समस्या देखिए तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ। 

    लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने, श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाइ छ।

    म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमितमध्ये अधिकांशमा शरीरमा अक्सिजनको अभाव भएकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

    बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो : अक्सिजन र बेडको अभाव हुन थाल्यो

    सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्न थालेको छ। स्वासप्रस्वासमा समस्या भएर अस्पताल आउनेको संख्या सोमबार बढेको छ। नियमित १८ देखि २० जना सम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा सोमबार भने ३२ जना बिरामी उपचाररत छन्।

    सोमबार ग्रामीण भेगबाट धेरैको संख्यामा बिरामीहरू अस्पतालमा आएका कारण अक्सिजन र बेडको अभाव हुन थालेको छ। अक्सिजनसहित बेड अभाव भएपछि एम्बुलेन्समै राखेर उपचार गरिएको थियो।

    अक्सिजनको अभाव हु्न नदिन अस्पतालले पूर्वतयारी गरे पनि बिरामीको चाप एक्कासि बढेका कारण केही घण्टा व्यवस्थापन गर्न समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

    आइतबार सञ्चालन गरिएको २० बेड क्षमताको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले समस्या भएको उनको भनाइ छ। बेलुकासम्म अक्सिजनको व्यवस्थापन हुन्छ,' उनले भने, ‘थप अक्सिजन सिलिण्डर लिन पोखरा पनि पठाएका छौं। साँझसम्म अक्सिजन आइपुग्छ।’ बिरामीको चाप यसरी नै बढ्ने हो भने थप बेड र अक्सिजनको आवश्यकता पर्न सक्ने अध्यक्ष कटुवालले बताए।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]