फिचर

निषेधाज्ञामा पनि गाउँ-गाउँमा बैठक राख्‍दै लघुवित्तहरू, स्थानीयमा त्रास

महामारीभर संघसंस्था, आमा र महिला समूहका बैठक नबसौँ : प्रशासन

जेठ ५, २०७८

    अर्घाखाँची : जिल्लाको शीतगंगा नगरपालिका ४ पोखडाँडाकी कमला पन्थी पौडेललाई  आजभोलि महिला समूहको बैठकमा जानुपर्दा चिन्ता लाग्छ।  पन्थी आधा दर्जन बढी लघुवित्त समूहमा आवद्ध छन्‌।

    कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि अर्घाखाँचीलगायत देशका प्राय सबै जिल्लामा निषेधाज्ञा जारी छ। तर पन्थीले समूहको बैठकमा जानैपर्छ, नगए जरिवाना तिर्नुपर्ने हुन्छ। ‘जरिवाना मात्रले हुने भए घरमै बस्थेँ, तर बैठकमा नगई हुँदैन’, पन्थीले गुनासो गरिन्‌।

    कमला मात्र होइन, जिल्लाका धेरै महिलालाई यही समस्या छ। अहिले उनीहरू महामारीका बीच पनि विभिन्न समूहका बैठकहरूमा गएर फर्कंदा कोरोना सङ्क्रमित भइन्छ कि भन्ने चिन्तामा छन्। शीतगंगा ४ कि इन्दिरा चुदालीको मन पनि उत्तिकै चिसो भएको छ।

    बैठकले झन् जोखिम बढायो

    आइतबार हरियाली महिलासमूहको बैठकमा सहभागी हुँदा आफू कतै सक्रमित भइने हो कि कतै आफू संक्रमित भएर घरका अन्य सदस्यलाई पनि सार्ने हो कि भन्ने चिन्ताले सताउने गरेको उनले गुनासो गरिन्। तर, आइतबार दूरी कायम गरेर बैठक बस्ने गरे पनि आफू सुरक्षित नहुने हो कि भन्ने डर मनमा लागिरहने चुदाली बताउँछिन्।

    शीतगंगाभित्र रहेका विभिन्न लघुवित्त संस्थाहरूले नियमित मासिक बैठकहरू गर्दा समुदायमा कोरोना फैलिने डर भएको शीतगंगा ३ की वसन्ता आले बताउँछिन्। कोरोना महामारीका बेलामा विभिन्न आमा समूह, लघुवित्त वित्तीय संस्थाहरूले महिलाहरूलाई जमघट गराउने, बचत  तथा लगानी गर्ने काम कोरोना सहज नहुँदासम्म स्थगित गर्नुपर्ने आलेको भनाइ छ।

    आफू विभिन्न लघुबित्तमा आवद्ध भए पनि लघुबित्तहरूले महिलाहरूलाई भेला गरी नियमित मासिक बैठक बसाल्न खोज्दा आफूलाई जान मन नलाग्ने शीतगंगा ३ कि विमला बेल्बासे बताउँछिन्। बेल्बासे भन्छिन्, ‘कोरोना समुदायमा फैलिरहेको छ तर बैठक स्थगित  गरौं भन्दा लघुवित्तहरूले मानेका छैनन्।‘

    ​शितगंगा २ कि मीना विकको पनि गुनासो उस्तै छ। उनी भन्छिन्, ’हामीले समूह बनाएर लघुवित्तबाट ऋण लिएका छौँ, नियमित किस्ता तिर्दै आएका पनि छौँ, तर अहिले अवस्था सामान्य छैन। जताततै कोरोना सङ्क्रमण जोखिम छ। तैपनि समूहको बैठकमा सहभागी हुनैपर्छ।‘

    सङ्क्रमणको जोखिम बढिरहेको समयमा यस किसिमका बैठक नगर्न पटकपटक सुझाए पनि त्यसको पालना नभएको उनिहरूको भनाइ छ। बाध्यात्मक अवस्थामा बैठक बस्नुपर्दा मनमा एकदमै त्रास हुने गरेको बिकले बताइन्‌।

    सङ्क्रमण नफैलियोस् भनेर जारी गरिएका निषेधाज्ञाका बीच जिल्लाका विभिन्न ठाउँमा लघुवित्त वित्तीय संस्थाले आफ्ना मासिक बैठक नियमित सञ्चालन गर्दा समुदायस्तरमा सङ्क्रमणको जोखिम बढ्दै गएको शितगंगा नगरपालिका ७ का देविराम घिमिरे बताउँछन्‌।

    ​लघुवित्तका कर्मचारी कम हुन्छन्, एकै कर्मचारीले दैनिक पाँचदेखि सात वटासम्म समूह भ्याउनुपर्दा उनीहरू विभिन्न गाउँ जानुपर्छ। सङ्क्रमण फैलिएको गाउँमा समेत समूह बसाउन जानु पर्दा जोखिम बढ्दै गएको वित्तीय संस्थाका कर्मचारीहरू बताउँछन्।

    के गर्दै छन् स्थानीय तह?

    कोरोना महामारीका कारण जनजीवन त्यसै पनि त्रासमा छ। प्रशासनले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरेको समयमा मानिसलाई दैनिक जीवनयापनमा खाद्यान्नदेखि औषधिको व्यवस्थापनमा समस्या परिरहेको बेला गाउँगाउँमा गएर समूह बसाएर किस्ताका लागि दबाब सिर्जना गर्नु लघुवित्तहरूको गलत कार्य भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए।

    उनले भने, ‘जिल्लाका कतिपय पालीकामा यस्ता क्रियाकलाप भइरहेका छन् तर हाम्रो पालिकामा कृषि समूह, लघुवित्तहरूको बैठक, महिलासमूहको बैठक पुर्णरूपमा स्थगित गरिएको  छ।‘ यस किसिमका बैठक सञ्चालनमा निषेधाज्ञाभर रोक लगाउनुपर्ने अध्यक्ष आचार्यको सुझाव छ।

     

    यता शितगंगा नगरपालीकाले कोरोना नियन्त्रण बारे जनचेतना मुलक सुचना प्रचार प्रसार गरेपनि अनुगमन नगर्दा महिला समूह, विभिन्न बित्तिय संस्थाहरूले बैठक बस्ने गरेको स्थानियको गुनासो छ। यस्ता क्रियाकलाप नगर्न सम्बन्धित कार्यालयलाई परिपत्र गर्ने र नगरपालीकाले अनुगमनको पाटोलाई सक्रिय बनाउनुपर्ने उनीहरूको सुझाव छ।

    निषेधाज्ञामा पनि किन सञ्‍चालनमा छन् लघुवित्त?

    यस्तो कोरोना महामारीबीच गाउँ-गाउँमा गएर महिलाहरूलाई जमघट गराएर बैठक बसाउँदा कोरोनाबाट सक्रमित हुने हो कि भन्ने डर बैठक नगराउँदा  शीतगंगा नगरपालिकाले बन्द गर भनेर परिपत्र गरेको छैन, यस्तो अन्योलबीच दैनिक कार्यालय संचालन गरेर बस्नु परेको शीतगंगा ४ अमराई स्थित स्पर्श लघुवित्त वित्तीय संस्थाका कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।

    गाउँगाउँमा आफूहरूले समूह बनाएर बिनाधितो ऋण लगानी गरेका कारण असुलीका लागि समूहको बैठक बसालेर पैसा उठाएर पठाइदिनु भनी हेड अफिसबाट परिपत्र गरेको छ। तर, गाउँमा समूहका महिलाहरूले बैठक बस्न नसकिने भनिरहेका छन्।

    कोरोनाबीच हामी कर्मचारी चेपुवामा परेको अमराई स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कार्यालय प्रमुख सुरेन्द्रबहादुर तामाङले बताए। नत हेड अफिसले समूहका बैठक नगर्न परिपत्र गरेको छ नत नगरपालीकाले नै महामारीका बीचमा समूहको बैठक  नगरे किन बैठक गरिएनर?, किन पैसा असुल गरिएन भनेर हेड अफिसले दबाब दिने प्रमुख तामाङको गुनासो छ।

    ‘हामी कर्मचारी भएका कारण माथिको निर्देशन मान्नैपर्छ,’ उनले भने, ‘महिनाको दुई गते देखि २६ गतेसम्म गाउँ-गाउँ पुगेर समूहको बैठक बसाल्नुपर्छ।‘

    कोरोनाको समुदायमा उच्च जोखिम बढिरहेको छ। तर कोरोना महामारी सहज नहुदाँसम्म कार्यालय संचालन नगर्नुहुन भनेर माथीबाट वा स्थानिय तहबाट परिपत्र नआउदा बित्तिय संस्थाको नियमित कामकाज बन्द गर्न नसकिएको शितगंगा २ सीतापुरमा रहेको सुर्योदय लघुवित्त वित्तीय संथाकी कार्यालय प्रमुख शान्ता लामाले बताईन्।

    शीतगंगाभित्र स्वावलम्वन लघुवित्त वित्तीय संस्था, धौलागिरी लधुवित्त वित्तीय संस्था, मनकामना लघुवित्त वित्तीय संस्था, स्पर्श लघुबित्त वित्तीय संस्था,सुर्योदय लघुवित्त वित्तीय संस्था, चौतारी आरम्भ लघुबित्त बित्तिय संस्था, हेफर, सगरमाथा,बराहालगायत धेरै सहकारी संस्था र आमा समूहहरू सञ्‍चालनमा छन्।

    प्रशासनको निर्देशन

    दोस्रो पटक १० दिन जिल्लामा थप निषेधाज्ञा जारी गरिएको छ। जेष्ठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ। तर, कोरोना महामारी सहज नहुँदासम्म कुनै पनि वित्तीय संघ संस्था, आमा समूह, महिला समूहले समूहको बैठक बसाली भिडभाड् गर्न नपाउने, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

    तर, कहीँ कतै बैठक बस्ने गरेको, अनावश्यक भिडभाट गर्ने, बिवाह ,पुजापाठ गर्ने , पसलहरूमा अनावश्यक भिड गर्ने गरेको पाइएमा सक्रामक रोग ऐनअनुसार कारबाही गरिने  प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]