समाज

समाजसेवामा रमाउँदै १७ वर्षीय कृशल

जेठ ७, २०७८

    विराटनगर : कोरोना महामारी फैलिएपछि २०७६ चैत ११ गतेदेखि देशका अधिकांश सर्वसाधरण घरको चार पर्खालभित्र बस्न बाध्य भए। लकडाउनका कारण लामो समयदेखि घरभित्रै कैदी झै बस्नु पर्‍यो। यसरी बस्नेमध्ये एक थिए कृशल आले।

    मोरङको विराटनगर महानगरपालिका-११ का १७ वर्षीय आले विकेभिएम स्कुलमा कक्षा १२ मा अध्ययनरत छन्। सधैँ साथीभाइसँग रमाइलो गर्दै हिँड्ने उनलाई कैदीबन्दी झैं घरभित्र थुनिनुपर्दा सकस परेको थियो।

    ‘सधैं कलेज र छिमेकी साथीभाइसँग रमाइलो गर्दै हिँडिरहेको बेला एक्कासी लकडाउन हुँदा अब के गरेर दिन बिताउने भन्ने कुराले सताउँथ्यो‚’ उनले भने, ‘तर कलेज जानु नपर्ने हुँदा चाहिँ ठिकै हुन्थ्यो। त्यो पनि साता दिनसम्म मात्रै रमाइलो भयो। त्यहाँदेखि त कलेज, साथीभाई धेरै मिस हुनथाल्यो।’

    लकडाउनको समयमा मानिसहरु समस्यामा परेका खबर सञ्चार माध्यममा आउन थाल्यो। ती पीडादायी समाचारले उनलाई के गरौं, कसो गरौं हुन थाल्यो। स्कुल पढ्दादेखि आफूभन्दा सिनियरहरुसँग सामाजिक कार्यमा सहभागी हुने कृशललाई लकडाउनका समयमा आएको त्यो पीडादायी समाचारले ‘हाम्रो अभियान’सँग जोड्यो। उक्त अभियानले लकडाउन समयमा अप्ठारोमा परेकाहरूलाई निःशुल्क खाना खुवाउँदै आएको थियो।

    लामो समयको लकडाउनले सडकपेटीमा जीवन व्यतित गर्ने अधिकांश मानिसहरुको दैनिकी अहसज बन्दै गएको थियो। त्यही समयमा ओसिम आलमको नेतृत्वमा निःशुल्क खाना खुवाउने अभियान अगाडि बढ्यो। निःशुल्क खाना खुवाउने अभियानबारे विभिन्न सञ्चारर माध्यममा आएको समाचारले रोगसँगभन्दा पनि भोकसँग लड्ने मानिसहरुको सेवामा खट्न कृशललाई प्रेरणा दियो।

    ‘आफ्नै परिवार टाढाबाट आउँदा एकले अर्कालाई छुने, सँगै बस्ने अवस्था नभएको समयमा घामपानी, रोग नभनी हाम्रो अभियानको टिम खटेको देख्दा मलाई उहाँहरुसँगै सामाजिक काम गर्ने इच्छा जाग्यो,’ उनले भने, ‘मैले ओसिम अंकलसँग सल्लाह लिएर हाम्रो जनपथ टोलबाट सेवा गर्ने निर्णय गरें।’ उनले छिमेकी साथीहरुसँग सल्लाह गरेर आफ्नै गोजी र टोलबासीको सहयोगमा निःशुल्क खाना खुवाउन सुरुवात गरेको बताए।

    लकडाउनका बेला सबै होटलहरु बन्द भएपनि निःशुल्क खाना खुवाउने अभियानलाई श्रीकृष्ण होटलले सहयोग गरेको थियो। त्यो अभियानमा लाग्दा कृशललाई कतिपयले कोरोना सार्छस् भन्दै हतोत्साही नबनाएका होइनन्। तर‚ घरपरिवारको साथ र टिमको सहकार्यले आत्मबल कहिले नघटेको उनले बताए।

    ‘खाना बाँडेर घर फर्किंदा परिवारले भन्दा पनि साथीभाइले कोरोना लाग्ला है भन्दै आत्मबल घटाउने कुरा गर्थे‚’ उनले भने‚ ‘रोगदेखि कहिले डर लागेन।सडक मानव, साथै यातायात ठप्प भएर अलपत्र परेका मानिसहरुको चिन्ता नै बढी भयो।’ संकटको बेला सहयोग नगरेर अरु बेला समाजसेवा भन्दै निस्कनु स्वार्थ हुने उनको बुझाइ छ।

    पहिलो चरणको लकडाउनमा कृशलको टोलीले ५० दिनसम्म निरन्तर खाना खुवाएको थियो। दोश्रो चरण विराटनरमा समुदायस्तरमा नै कोरोना फैलिएसँगै निषेधाज्ञा जारी भएपश्चात पुनः निःशुल्क खाना खुवाउन सुरुवात गरेका उनीहरुको टिमले १२० दिनसम्म खाना खुवायो।

    लकडाउन, निषेधाज्ञा खुलेपछि उनीहरुले निःशुल्क खाना खुवाउने अभियान स्थगित गरे। तर‚ उनको समाज सेवा स्थगित भएन। उनी विपन्न परिवारलाई लुगा, जुत्ता, चप्पल साथै खाद्यान्न वितरणमा सक्रिय रहे। अभियानले कसैको सेवा गर्न मात्रै नभएर टिममा रहेर कसरी काम गर्नुपर्छ भन्ने ज्ञान सिकाउने कृशल बताउँ५न्।

    ‘हाम्रो टिममा सिनियर दाइदेखि घर गृहस्थ चलाउने दिदीहरु पनि हुनुहुन्छ‚’ उनी भन्छन्, ‘सबै मिलेर काम गर्छौं, यहाँ को सिनियर, को जुनियर भन्ने नै छैन। टिम मिले धेरै काम गर्न सकिने रहेछ।’

    अभियानको सदस्यहरुले जन्मदिन होस् या कुनै चाडपर्व वस्ती, आश्रममा गएर मनाउने गरेका छन्। पैसा अन्य विषयमा खर्च गर्नुभन्दा वस्ती, आश्रममा गएर थोरै दिन सके पनि केही खुशी बाँड्न सकिने कृशल बताउँछन्।

    १६‚ १७ वर्षको उमेर रमाइलो गर्ने उमेर हो। तर, कृशललाई समाजका लागि केही गरौँ भन्ने लाग्छ। सामाजिक कार्यमा आवद्ध नहुँदा साथीहरुले धूमपान, मद्यपान सेवन गर्न दबाब दिएको उनलाई सम्झना छ। तर सामाजिक काममा आवद्ध भएपछि त्यो गलत बाटोबाट बचे झैँ लाग्न थालेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]