साहित्य

युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्म जयन्ती, सम्झना मात्र

जेठ ९, २०७८

    ओखलढुंगा : आइतबार जेठ ९ गते युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्म जयन्ती। उनको जन्मभूमि ओखलढुंगामा कुनै पनि औपचारिक कार्यक्रम नभए पनि सामाजिक सञ्जालमा उनको सम्झना गरी मनाइँदै छ।

    ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा वि.सं १९६९ जेठ ९ गते भएको थियो। नेपाली साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट स्थान छ। नेपाली साहित्यजगत्का सुविख्यात कविहरूमध्ये सिद्धिचरण एक हुन्।

    स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन्। युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए। उनको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा रहेका छन्।  उनका  कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन्।

    उनका कवितामा देशप्रेम भरिएको छ। कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा–प्रवाह जीवन्त छ। उनको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ। प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उनको लेखनको शैली रहेको थियो।

    नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर अजर रहेका छन्। नेपाली काव्यसाधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उनका समकालीनहरूभन्दा धेरै पृथक् छ।

    मानव मात्राका लागि बन्दनीय व्यक्तित्व सिद्धिचरणले आधुनिक नेपाली भाषासाहित्यको प्रवद्र्धनमा ऐतिहासिक योगदान पुर्‍याएका छन्।

    उनको अत्यन्तै लोकप्रिय र कर्णप्रिय गीतिकविता मेरो प्यारो ओखलढुंगा कालजयी सिर्जना हो। नेपाली शोककाव्य जगतमा कविवर माधवप्रसाद घिमिरेको कालजयी सिर्जना गौरीको जुन स्थान छ, स्थान परिचय र देशभक्तिको भावनामा युगकवि सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा सिर्जनाको त्यही स्थान छ।

    सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिकयात्रा आरम्भ गरेका हुन्। राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश–प्रवाह गरेको छ।

    नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहलाई गणेशमान बनाउन सिद्धिचरणको ठूलो भूमिका रहेको तथ्य स्वयं सिंहले समेत स्वीकार गरेका छन्। कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको ओखलढुंगालगायत नेपालका धेरै ठाँउमा पाइन्छ, ओखलढुंगाको गाम्नाटारमा उनको नाममा क्याम्पस तथा उच्च माविसमेत रहेको छ।

    युगलाई कवितामार्फत सम्बोधन गरेका युगकविको मृत्यु भने विसं २०४९ सालमा भएको हो। हरेक वर्ष जेष्ठ महिनाको ९ गते यिनै कविको जयन्ती मनाइन्छ, तर कोरोना संक्रमणको  महामारीमा यो वर्ष जिल्लामा कुनै औपचारिक कार्यक्रम गरिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]