स्वास्थ्य

कोभिड अस्पताल खुलेपछि थुलुङवासी हर्षित

जेठ ११, २०७८

    सोलुखुम्बु : गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङ दुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन्। गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल खोलिएको हो।

    कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन्‌। ४५ वर्षीया खत्री समेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचार पाएपछि उनको समस्या निदान भएको छ। 

    नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारम गर्न काठमाडौं लैजाने योजना बनाएपनि गाउँमै उपचार सम्भव भएको भन्दै खुशी व्यक्त गरिन्‌। 

    ‘यस्तो महामारी छ, कसरी जानु भन्ने चिन्ता थियो,’ उनले भनिन्‌, ‘खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो।’ 

    काठमाडौं विभिन्न अस्पतालमा अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रान्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिएका छन्‌।

    ​कोभिड–१९ को शंकास्पद लक्षण भएकी वुद्धिमाया माझीले पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिइन। 

    स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनको भनाइ छ। टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीले सुनाइन्‌। 

    गत वर्ष कोरोना सङ्क्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अन्त्य भएपछि सोलुखुम्बुवासीलाई सहज भएको छ। स्वास्थ्य शाखा सहसंयोजक तथा गाउँपालिकाका सूचना अधिकारी विशालबाबु राईले गाउँमा कोरोना सङ्क्रमणको दर बढेसँगै गाउँपालिकाले निगरानी बढाएको बताए।

    शंकास्पद लक्षण देखिएको जानकारी हुनासाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उनको भनाइ छ। नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोहीअनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए। अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्नसक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकताअनुसार यसलाई विस्तार गर्ने बताए।  

    ‘सकेसम्म नागरिकलाई गाउँपालिका बाहिर उपचारमा जान नपर्नेगरी व्यवस्थपन गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘सामान्य लक्षणसहित बिरामीलाई औषधि र किटसहित घरैमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र जटिल प्रकृतिका बिरामीलाई नि:शुल्क उद्धार गरी कोभिड अस्थायी अस्पतालमा ल्याउने व्यवस्था गरेका छौँ।’ 

    उक्त अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाप नर्स, एक जना ल्याब असिस्टेन्ट, दुई अनमी, दुई स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी रहेका छन्। गाउँपालिका अध्यक्ष आफैँ चढ्ने गाडी समेतलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ।

    कोरोना सङ्क्रमितको उद्धारका लागि अध्यक्षको गाडीसहित दुई वटा एम्बुलेन्स र अर्को एउटा निजी गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

    उक्त गाउँपालिकामा हालसम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये चार जना निको भइसकेको स्वास्थ्य सहसंयोजक विशालबाबु राईले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]