समाज

अक्सिजन बैंकमा एक महिनामा १०७ थान सिलिण्डर संकलन, हट्यो अभाव

जेठ १२, २०७८

    बर्दिया : अक्सिजन नपाइने, अक्सिजन दिनुपर्ने बिरामीहरुलाई उपचारका लागि नेपालगञ्ज लैजानुपर्दा समस्या थियो। अझ सिकिस्त बिरामीलाई अक्सिजनसहित अस्पताल ल्याउनु भन्ने सुझाब दिन्थे। अक्सिजनबिना नै अस्पताल लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था थियो।

    तर, बर्दियाका युवाहरु मिलेर अक्सिजन बैंक स्थापना गरेपछि भने त्यस्ता समस्या अन्त्य भएको छ। ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित स्थापना गरिएको बर्दिया अक्सिजन बैँकको अभियान सुरुवात गरिएपछि अहिले अक्सिजन अभावमा कसैले ज्यान गुमाउनु परेको छैन।
     
    दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि र निषेधाज्ञा लागु भएको एक सातासम्म बर्दियाका आठवटै स्थानीय तहबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर बाँकेको नेपालगञ्जबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्थ्यो। तर, अहिले भने बर्दिया अक्सिजन बैँक स्थापना भएपछि त्यो समस्या हटेको छ।

    १०७ थान सिलिण्डर जोहो 

    बर्दियामा अक्सिजन बैंकको स्थापना भएको झण्डै एक महिनामा १०७ थान सिलिण्डर संकलन गरेका छन्। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई निःशुल्क सिलिण्डर उपलब्ध हुन थालेको छ।

    नयाँ भेरियन्टसहितको कोरोना भाइरस कोभिड १९ संक्रमण देशैभरि तीब्र रुपमा फैलिएसँगै अक्सिजन अभाव भैरहेका बेला बर्दियाका उद्योगी, व्यवसायी, समाजसेवीहरुको सक्रियता तथा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा अक्सिजन बैंकको शुरुवात गरिएको हो।

    झण्डै २५ लाख रुपैयाँ जम्मा 

    अभियान सुरु भएपछि देश तथा विदेशबाट अहिलेसम्म झण्डै २५ लाख रुपैयाँजम्मा भइसकेको छ। एक महिनाअघि १६ थान अक्सिजन सिलिण्डर जोहो गरिएको थियो। अहिले संकलित रकमबाट अक्सिजन सिलिण्डर खरिद गर्न थालिएको छ।

    कोरोनाका बिरामीलाई अक्सिजन कमी नहोस् भनी दुईवटा सवारी साधनबाट दिनहुँ नेपालगञ्ज आउजाउ गर्दै अक्सिजन भरेर ल्याउने गरिएको अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक एवं निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेलले बताए। अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यका साथ सबै स्थानीय तहको स्वास्थ्य कार्यालयमा निर्धारण गरेको स्वास्थ्य मापदण्ड बमोजिम तत्काल आपूर्ति गर्ने उद्देश्यका साथ वितरण गरिरहेको उनले बताए। बर्दिया अक्सिजन बैंकमा अक्सिजनको अभाव हुन नदिन कर्मचारी, प्रहरी, पर्यटन व्यवसायी लगायतले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन्।

    जिल्ला विपत व्यवस्थापन समिति, निर्माण व्यवसायी, उद्योगी र संघसंस्था लगायत समाजसेवीहरुबाट उपलब्ध गराइएको सिलिण्डर जिल्ला प्रशासन कार्यालयको हाताभित्र भण्डारण गरिएको छ। संक्रमितलाई आवश्यक परेको अक्सिजन सिलिण्डर निःशुल्क उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]