समाज

प्रसिद्ध चण्डेश्वरी मन्दिर, जात्रा र इतिहास

जेठ १४, २०७८

    काभ्रे : कोरोना महामारीको कारण २५ सय वर्ष अर्थात् १७ औँ शताब्दीदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा यस वर्ष स्थगित भएको छ। हरेक वर्षको बैशाख शुल्क पूर्णिमा तथा बुद्ध जन्मजयन्तीको दिनबाट ३ दिनसम्म हर्षोउल्लासका साथ मनाइने चण्डेश्वरी जात्रा यसवर्ष पनि वि.स. २०७२ सालमाझैँ खल्लो बनेको छ। त्यसबेला भूकम्पको कारण जात्रा स्थगित भएको थियो।

    यसवर्ष मन्दिरका पूजारीद्वारा क्षमापूजा गरेर नियमित पूजा अर्चना मात्रै गरेको मन्दिर परिसरले जनाएको छ।

    चण्डेश्वरी मन्दिर

    बनेपाको पुरानो चण्डेश्वरी मन्दिर नेपालको प्रख्यात् मन्दिरभित्र पर्दछ। करिब ७ सय वर्ष अघि निर्माण भएको भन्ने विश्वास गरिने यस चण्डेश्वरी मन्दिर परिसर प्रवेशद्धारदेखि नै तोरणकालको सम्पदाहरु देख्न सकिन्छ।

    विवाह, व्रतबन्ध गर्नेहरु पनि चण्डेश्वरीलाई राज्ने गर्छन्। चण्डेश्वरीको मन्दिर बनेपाबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्दछ।

    संस्कृति तथा इतिहासविद् एंव स्थानीय ज्ञानकाजी मानन्धरका अनुसार इन्द्रदी देवलोक सबैलाई पराजित गरिसकेपछि पराजित देउताहरु रक्तचन्दन वनमा आएर भागवतीको पुकार गरेछन्। जति पुकार गरे पनि (हरेक देवीदेउताको दुई वटा सहचारहरु हुन्छन्। जस्तैः नवदुर्गाको सिम्बा र दुम्भा भए झैँ चण्डेश्वरीको दुई सहचार कंकल र फुट हुन्।) चण्डेश्वरी देवी नआएपछि उनीहरु हत्तपत्त दौडेर देवी बस्ने मानीमाया वस्थानमा पुगी देवीलाई लिएर आएपछि पुकार भयो।

    उनले यसै बखत दैत्यहरु त्यहाँ आइपुगे र देउताहरु ज्यान जोगाउन पंक्षीको रुप धारण गरेर आकाशमा उडेर गए। तर देवी चण्डेश्वरी त्यही नजिकको एउटा रुखमा अन्तरस्थान अर्थात् लुक्नु भएछ।

    देवलोक त छैन भने सोधखोज हुँदा खेरी एक जनाले सारै राम्री केटी यो रुखभित्र नै प्रवेश गरेको छ भनेपछि चण्डश्वरले आफ्नो हातमा रहेको खड्गले प्रहार गर्दा त्यस रुखबाट जगतधनी माई चण्डेश्वरीको प्रकट्य भएको कथान सुनाए। त्यहीँ समयदेखि उक्त स्थानलाई चण्डेश्वरी भनिएको पछि मन्दिर बनाएको किम्बधन्ती पाइन्छ। बनेपाबासीहरु चण्डेश्वरी देवीलाई प्रत्येक आइतबार घर–घरबाट एक विशेष पुजा राखी पूज्ने गर्दछन्।

    चण्डेश्वरी जात्रा

    चण्डेश्वरी जात्रा सत्ययुगदेखि नै मान्दै आएको जनविश्वास छ। परपर्वकालदेखि बनेपाका नेवार समुदायले आस्थाको देवी चण्डेश्वरी माईलाई प्रत्येक वर्षको वैशाख शुल्क पूर्णिमाको दिन बडेमानको रथमा राखी बनेपा नगर परिक्रम गराई हर्षोउल्लासका साथ देवीको स्वागत गरी यो जात्रा मनाउने गर्दछन्।

    बनेपाको लायकु दरबारमा प्रत्येक वर्षको वैशाख शुक्लपूर्णिमामा आउने चार दिन अघि जात्राको लागि चण्डेश्वरी माईको गरगहना ल्याई सम्भार तथा जाँच गरिन्छ। त्यो दिनबाट बनेपामा जात्रा आगमनको आभास सबैले गर्ने गरिन्छ। परपूर्वकालमा यस जात्रामा सरिक हुन काठमाडौँका मल्ल राजा हुनमानढोकाबाट उपस्थित् हुन्थे भन्ने पनि जनमासबाट सुन्न पाइन्छ।

    स्थानीय संस्कृतिबारे जानकारहरुका अनुसार बनेपाका स्थानीय भोछिभोया समुदायहरु चण्डेश्वरी देवीलाई कुल देउताको रुपमा मान्दछ। उक्त समुदायले बैशाखशुल्क अष्टमीको दिनमा एक विशेष देवाली पुजा गर्दछ। त्यस रातबाट जात्रा सुरु भएको मानिन्छ। पूर्णिमाको अघिल्लो रातमा चण्डेश्वरी देवीको विशेष पूजा सुरु हुन्छ। मन्दिरमा १२ वटा बोकाको वली दिई देवीको पूजा गरिन्छ। जसलाई ‘तवु’ पूजा भनिन्छ।

    स्थानीय राजेश कायस्थका अनुसार बनेपाबासीहरुले यस मटा पूजालाई जात्राको एक आकर्षक पाटो पनि मान्ने गर्दछ। यो चिरक यात्रा बनेपाको चण्डेश्वरी मन्दिरबाट एक किलोमिटर उत्तरतर्फ रहेको ‘जासिका’ नामको महादेव मन्दिरमा भएको जलशयमा लगेर सेलाइन्छ। त्यसपछि रथ आगाडि बढाई देवीलाई लिन चण्डेश्वरी जाने क्रम सुरु हुन्छ।

    सोँधटोलको डबलीमा बनाएको रथ आगाडी बढाउन एक विशेष पूजा हुने गर्दछ। उक्त विशेष पूजाको लागि कुखुरा र भेडाको वली दिई पूजा गर्ने गरिन्छ। स्थानीय बासिन्दाहरुले त्यस दिनदेखि चेलीबेटी र इष्टिमित्रलाई जात्रामा निम्तो गरी भोज आयोजना गर्ने गरिन्छ। देवी लिनको लागि सयौँ मानिस रथ बोकेर ‘लाका पालुङ हा ...’ (एकैचोटी उचालौ) भन्दै चण्डेश्वरी मन्दिरतर्फ लागिन्छ।

    रथलाई घोकेचौरको ठाडो उकालोका नबिसाईकन लगिन्छ। रथ चण्डेश्वरीमा पुगीसकेपछि चण्डेश्वरी माईको प्रतीमालाई भक्तालुहरुको अघिपछि राखेर प्रतिस्थापन गरिन्छ।

    त्यस्तै भोलिपल्ट विहानै चण्डेश्वरी देवी बोकेको रथलाई नगरतिर फकाईन्छ। रथ घोकेचौरको उकालोबाट तल ल्याइसकेपछि ‘भैरव कुण्ड’ भन्ने जलशयमा देवीलाई नेत्रपक्षरण गराइन्छ। देवीलाई त्यहीँ रथबाट बनेपा नगरको छेउमा अवस्थित दक्षुटोलसम्म लगिन्छ। त्यहाँ पनि देवीको पूजाआजा सकेपछि चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः फर्काएर वकुटोलमै ल्याइन्छ।

    जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका तिगन देवतालाई १२ वटा बोका वली दिने र ती बोकामध्ये एउटा बोका द्धारे र अर्को बोका सोसीलाई दिने प्रचलन छ भने बाँकी बोकाको मासु कलन्दान गरिन्छ। प्रसादको मासु माथिबाट तल छर्ने गर्दछन् र भुँईमा खस्न नपाउँदै हातमा समाउन सके वर्षदिनको समय अति शुभ हुन्छ भन्ने जनमानसमा एक किसिमको धारणा छ।

    पूर्णिमाको चार दिनपछि दिउँसो १२ बजेसम्म देवीको निवासमा दर्शन गर्ने र सगुन लिने कामपछि यो क्रम अर्को वर्षसम्मका लागि स्थागित हुन्छ। जात्राको सकिएको चार दिन पछि फेरि देवीको गरगहना फेरि लायकु दरबारमा ल्याएर मर्मत सम्भार र जाँचपछि अर्को वर्षसम्मको लागि बनेपाको चण्डेश्वरी जात्रा समाप्त हुन्छ।

    यस वर्ष भने कोरोना महामारी र निषेधाज्ञाका कारण चण्डेश्वरी जात्रा मन्दिरका पूजारीद्वारा क्षमापूजा गरी रीत पुर्‍याएर स्थगित गरियो।

इकमान लामा

लामा थाहाखबरका काभ्रेपलाञ्‍चोक जिल्ला संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]