राजनीति

कर्णाली सरकारमा कांग्रेसका नयाँ दुई मन्त्रीलाई १३ बुँदे आचारसंहिता

जेठ २३, २०७८

    सुर्खेत : नेपाल कांग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा जाने मन्त्रीहरुका लागि आचारसंहिता बनाएको छ।

    कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरे सँगै आचारसंहिता बनाएको हो।

    कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको बताए।

    १३ बुँदे आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउने उल्लेख छ । यस्तै, सरकारमा सहभागीले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । यस्तै, मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिबन्ध लगाएको छ।

    सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ। ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्नेछ,’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनै पनि आचरण विपरीत हुने कार्य गर्न पाइने छैन।’

    एमालेले समर्थन फिर्ता लिँदा माओवादी नेतृत्वको सरकारलाई साथ दिएको कांग्रेस झण्डै डेढ महिना पछि सरकारमा जान लागेको हो। ४० सदस्यीय प्रदेशसभामा पाँच सांसद निलम्बनमा परेसँगै हाल ३५ सांसद छन् । जसमा कांग्रेसका ६ र माओवादीमा १२ सांसद छन्।

    यस्तै, एमालेका सभामुखसहित १६ जना सांसद रहेका छन्। यसअघि पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले  चार र माओवादीले एकजना सांसदलाई कारबाही गरेपछि उनीहरुको पद गइसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]