राजनीति

मधेसी नेताहरुलाई वुद्धिजीविको ४ प्रश्न : सत्तामा जान किन हतार?

साउन ५, २०७३

    काठमाडौं :आन्दोलनरत संघीय गठबन्धन आवद्ध दलका नेताहरुलाई बुद्धिजीविहरुले आन्दोलनको स्वरुप, स्वभाव र संगठनलाई लिएर चार सुझाव दिएका छन्। मधेस आन्दोलनमा ज्यान गुमाएका, घाइते र पीडित ग्रामीण जनसमुदायलाई केन्द्रबिन्दुमा राखेर आन्दोलन अगाडि बढाउन नसकेको गुनासो गरेका हुन्।

    गठवन्धनमा आवद्ध दलहरुले मधेसमा सशक्त आन्दोलन गरेपनि हाल त्यसलाई गोष्ठीमा सिमित गरेपछि मधेसका बिषयमा जानकार र बुद्धिजीविहरुले मधेसी दलको आलोचना पनि गरेका छन्। गठबन्धनले तेश्रो चरणको आन्दोलन अन्तर्गत बुधबारदेखि मुलुकका १० ठाउँमा गोष्ठी आयोजना गर्ने क्रममा काठमाडौंमा पहिलो पटक गरेको कार्यक्रममा उनीहरुले यस्तो टिप्पणी गरेका हुन्।

    गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादको अध्यक्षतामा बुधबार काठमाडौंमा आयोजित ‘बर्तमान राजनीतिक परिस्थिति र निकास’ बिषयक बृहत अन्तरक्रियामा बोल्दै बुद्धिजीबिहरुले आन्दोलनरत मधेशी दलका नेताको कारण नैं मधेस आन्दोलन कमजोर भएका बताए ।

    सत्तामा जान किन हतार?

    गठबन्धनले आयोजना गरेको अन्तर्क्रियामा पूर्व राजदूत बिजयकान्त कर्ण, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, राजनीतिक विश्लेषक तुलानारायण साह लगायतले मधेसवादी दलका नेताहरु सत्तामा जाने चाहना राखेर आन्दोलनलाई कोठामा सीमित गरेको आरोप लगाए। कर्णले भने ‘हाल संसदका ठूला दलहरुले मधेस आन्दोलनका एजेण्डालाई पुरा गर्लान् भन्ने विश्वासमा सरकारमा गए, मधेशी जनतामाथि ठूलो धोका हुन्छ।’ साह भन्छन् ‘अधिकारको राजनीति गरिरहेका गठबन्धनआबद्ध दलको मागलाई शक्तिको राजनीति गर्ने कांग्रेस–माओवादी र जीवन यापनको राजनीति गर्ने बिजयकुमार गच्छेदारले पुरा गर्लान् भन्ने भ्रममा सत्तामा गए दुर्भाग्य हुन्छ।’

    डा. दीक्षितले भने ‘ अहिले सत्ता प्राप्त गर्ने दाउमा रहेका दलले एक/एक गर्दै मधेशी दलका नेताहरुलाई भेट्ने र सत्ताको लोभ देखाउने निश्चित छ। अब सत्ताको लोभमा परे मधेसका जनताले तपाईंहरुलाई माफ गर्ने छैनन्।’ साहित्यकार धिरेन्द्र प्रेमर्षीले मधेस आन्दोलनका माग पुरा हुने आशामा सत्तामा गए मधेसी दलका नेता पुन प्रयोग मात्र हुने तर्फ सचेत गराए।
     

    आन्दोलनलाई किन कोठामा सीमित ?

    मधेस आन्दोलनलाई सडक संघर्ष, अनसन हुँदै गोष्ठीमा सीमित गरिएको भन्दै गठबन्धनका नेतासँग मधेसका जानकारहरु झन ठूलो गुनासो छ। पूर्व राजदूत विजयकान्त कर्णले भने ‘स्थानीय जनताले शाहदत प्राप्त गर्दा पुरै मधेस उठेको थियो, अहिले आन्दोलनलाई एक्कासी गोष्ठीमा सीमित गरेर मधेसका जनताको मन दुखेको छ।’

    गोष्ठीमा पुगेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले सडक आन्दोलनले केन्द्रीय सत्तालाई दवाव दिएको बेला आन्दोलनरत दलले आन्दोलनका कार्यक्रमको स्वरुपलाई परिवर्तन गर्दा जनतालाई जानकारी नदिनु गलत भएको बताए। उनले भने ‘सडकबाट अनसनमा आउनु भयो अब गोष्ठीमा मात्र किन सीमित हुनुभयो?’ अन्तर्क्रियामा सहभागी सबैजसो वक्ताले आन्दोलनलाई अन्तर्क्रियाबाट सडक र जनतासम्म पुर्‍याउन माग गरेका थिए।

    गाउँ नगई किन काठमाडौंमा?

    राजनीतिक बिश्लेषक तुलानारायण साह, पूर्वराजदूत बिजयलाल कर्णले मधेसका नेताहरुले मधेसका जनतालाई बिर्सिएको आरोप लगाए। उनीहरुले भने ‘मधेसका जनता मल बिउको अभावमा छटपटाएका छन् तर हामी भने काठमाडौंमा गोष्ठी गरेर बस्दा मधेसवादी दलले जनताको बिश्वास गुमाउन सक्छन्। ’कर्णले गाउँबाट काठमाडौं आएका कांग्रेसहरु २०३६ सालदेखि, एमालेहरुले ४६ सालदेखि, माओवादीहरु ६३ सालदेखि काठमाडौंमा बसोबास गरेजस्तै मधेसी नेता र बुद्धिजीविहरु समेत गाउँ र मधेस नफर्किएको बताए।

    उनले भने ‘आन्दोलनरत दलदका नेताहरु काठमाडौंमा र गोष्ठीमा मात्र सीमित हुन चाहेका छन्, त्यसैले मधेश आन्दोलन जाग्न सकेन ।’ कांग्रेस नेता प्रदिप गिरीले भारतका कयौं क्षेत्रिय दलहरुको केन्द्रीय कार्यालय कोलकाता, चेन्नइमा र सम्पर्क कार्यालय दिल्लीमा हुने गरेको भन्दै मधेशका दलहरु पनि गाउँलाई बिर्सिएर काठमाडौमै सीमित भएको आरोप लगाए ।

    राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण हाछेथुले मधेस आन्दोलनमा शहादत प्राप्त गरेका परिवारका सदस्यहरुको पीडा, समस्यालाई मधेशी दलका नेताहरुले बुझ्न समेत नसकेको गुनासो गरे ।

    गठबन्धनका नेताबीच किन बेमेल ?

    अन्तर्क्रियामा सहभागी नेताहरुले गठबन्धनमा आवद्ध दलबीचको बेमेल हुँदा नैं मधेस आन्दोलन कमाजोर भएको बताए। पूर्व  प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकको समस्यालाई समाधान गर्न अग्रभागमा रहेका दलका नेताहरुले ध्यान नदिँदा अधिकारप्राप्ती र न्यायको आन्दोलन गर्ने दलहरुबीच एकता हुनु पर्ने बताए। उनले भने ‘अधिकारको आन्दोलन गर्नेबीच एकता हुनु जरुरी छ।’

    नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले सत्तामा रहेका दलहरुले गठबन्धनलाई फुटाउन दलका नेताहरुलाई एक/एक भेटेर सत्ताको लोभ देखाउने भएकाले पहिले नेताहरु एक हुनुपर्ने बताए । ‘म उपेन्द्रजीसँगै अब महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतालाई व्यक्तिगत इगो त्यागेर एकै ठाउँमा आउन आह्वान गर्छु’ डा. दीक्षितले भने ‘अब मधेसका दल र जनजाति/आदिवासी दलबीचको एकतालाई कायम गर्न सक्नु पर्छ ।

    नेपाल बार एसोसिएनका पूर्ब उपसभापति सुरेन्द्र महतोले मधेसवादी दलहरुले सडक, सत्ता र सदन तीन वटै ठाउँको प्रयोग गरी शक्ति आर्जन गर्न खोजेपनि एकता नहुँदा कमजोर भएको बताए। उनले भने ‘मधेसी दलबीचको एकता र सहकार्यबिना सफलता हासिल गर्न सम्भव छैन।’

    साहले मधेस आन्दोलन सेलाउँदै जानुमा दलका शीर्ष नेताबीचको इगोको कारण हुन सकने बताए। उनले भने ‘नेताहरु एकजुट हुनुहोस सफलता प्राप्त हुन्छ।’
    संघिय लिम्वुवान परिषद्का कुमार लिङदेनले एमाले भन्दा कांग्रेस–माओवादी कम घातक भएकोले गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग गरेको बताए।

लिलाराज खनाल

खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहा खबरमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]