मनोरञ्जन

मुटु रेटेर गीत गाउने अरुणका कहिल्यै नभुलिने चोटहरु
SHARES

अरुण स्मृति दिवस

साउन ५, २०७३

    चोट के हो व्यथा के हो, म जस्तो घाइतेलाई सोध

    मिलन के हो खुसी के हो, मसँग कहिले सोध्दै नसोध !!

    कालजयी गीतका गायक अरुण थापाले धर्ती छाडेको आज १७ वर्ष भइसकेको छ। भनिन्छ अरुण थापा मुटु रेटेर गीत गाउँथे। त्यसैले उनका गीत आज पनि उत्तिकै कर्णप्रिय छन्। चर्चित हुन धेरै होइन, राम्रा सिर्जना दिए पुग्छ भन्ने गतिलो प्रमाण हुन् अरुण थापा। उनलाई पोखराले चर्चाको शिखरमा पुर्‍यायो। र, पोखराले नै कहिल्यै नभुल्ने चोटहरु दियो। २०५६ साउन ५ अरुण अस्ताएको दिन अर्थात् आज १७ औं अरुण थापा स्मृति दिवस।

    को हुन् अरुण थापा?

    वि.स. २००९ साल माघ ११ गते बाबु गाजप्रसाद थापामगर र आमा शान्ति थापा मगरको पहिलो सन्तानको रुपमा भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा अरुणको जन्म भएको थियो। दुई दाजु र एक बहिनीकी दाजु अरुणको प्रारम्भिक शिक्षा जे.पी. हाइस्कुल ठमेलबाट सुरु भएको थियो। किताबी ज्ञान भन्दा पनि गीत संगीतमा रुचि राख्ने अरुण सानैदेखि पौडीका सौखिन थिए। स्कुल तहको शिक्षा दार्जिलिङमा लिए पनि २०२८ सालमा जे.पी. हाइस्कुल ठमेलबाटै उनले एसएलसी. उत्तीर्ण गरे।

    केही समय विराटनगरमा बैंकको जागिरे रहेका अरुणले संगीतको रुचिकै कारण त्यो जागिर छोडे। २०३० सालमा उनी पोखरा पुगे। पृथ्वीनारायण क्याम्पसबाट उनले उच्चशिक्षा अध्ययनलाई अगाडि बढाए। पोखरामा अध्ययन हुँदै गर्दा बुबाको सहयोगमा नातीकाजी र शिवशंकर जस्ता संगीतकारसँग उनको परिचय भयो। 

    २०३२ सालमा स्वर परीक्षा पास गरेपछि आश्विण गुरुङको रचना र ओमविक्रम विष्टको संगीतमा पहिलोपटक 'कतै टाढा तिमीबाट पुगें भने सम्झेर नरुनु ठूलो छ संसार..' बोलको गीत रेकर्ड गराए। पहिलो गीतले खासै लोकप्रियता नकमाए पनि २०३४ सालको अन्त्यतिर रेकर्ड भएको 'ऋतुहरुमा तिमी हरियाली बसन्त हौ..' बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो। ३६ सालमा 'जति माया लाए पनि, जति कसम खाएपनि..' रेकर्ड गरेपछि सांगीतिक क्षेत्रमा उनको नाम झन् चुलियो। 

    उनले पिएन क्याम्पसले आयोजना गर्ने कार्यक्रममा आफ्नामात्र गीत गाएनन्, ख्यातीप्राप्त देश-विदेशका गायकका गीत पनि गाए। पोखरामा उनको चर्चा झन् चुलियो। उनले पोखरामा गाएको हिन्दी गीत 'मेरा जीवन कोरा कागज..' सुनेपछि उनलाई प्रेम प्रस्ताव नै आयो। विमला पालिखे, जो राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव विनोदशंकर पालिखेकी बहिनी हुन्, ले प्रेम प्रस्ताव राखिन्। दुबै पक्षका आफन्तको सहमतिबिना २०३४ साल माघमा उनीहरुको काठमाडौंमा विवाह भयो। 

    परिवारको सहमति बेगर भएको विवाहले उनीहरुलाई हुनसम्म तनाव भयो। विमलाको माइतीपक्ष उनीहरुको विवाहबाट खुसी थिएन। अरुण र विमला आफन्तकहाँ लुकेर पनि बसेका थिए। केही समयपछि दुबै पक्षको सहमतिमा विमलालाई पछि फर्किने गरी माइती लगियो। 

    छिट्टै फर्किने गरी माइती गएकी विमला नफर्केपछि अरुणको मन पिरोलिन थालिसकेको थियो। अरुणको मन त्यतिबेला छियाछिया भयो, जतिबेला उनले विमलाकझ विवाह अर्कैसँग भएको थाहा पाए। परिवारको दवाव थेग्न नसकेर विमलाको अन्तै विवाह भएको थाहा पाएपछि विक्षिप्त बनेका अरुणले नशालु पदार्थको सहारा लिन थाले।

    विमलासँगको वियोगपछि अरुणले आफनो जीवनसँग मेल खाने 'चोट के हो व्यथा के हो..', 'जति माया लाए पनि..' जस्ता चर्चित गीत गाए। विमलाको दोश्रो विवाहले विक्षिप्त बनेका अरुणले केही समयपछि ललितपुर निवासी मुना केसीसँग परिवारको सहमति बिना नै दोश्रो विवाह गरे। अविभावकको इच्छा विपरीतको विवाह भएकाले विवाहपछि पनि उनको पारिवारिक असहमति हट्न सकेन। ३७ सालमा अरुणका बुवा र ३९ सालमा आमाको देहावसान भयो।

    बुबाआमाको निधनपछि अरुणमा थप पारिवारिक जिम्मेवारी थपियो। ४० सालमा अरुण र मुनाबाट छोरी करुणा जन्मिइन्। त्यतिन्जेलसम्म उनका भाइहरु आआफ्नो पेशा व्यावसायतिर लागिसकेका थिए। आर्थिक र सामाजिक जिम्मेवारी थपिएपछि दायित्व बहन गर्ने क्रममा आफ्नो घर बेचेर श्रीमतीको नाममा अन्यत्र जग्गा लिई अरुण डेरामा बस्न थाले। आर्थिक अवस्था बिग्रिँदै गएपछि उनले ४४ सालमा श्रीमतीको नाममा रहेको जग्गा समेत बेचे। अरुण र मुना सँगै बस्न सकेनन्। उनीहरुबीच सम्बन्ध विच्छेद भयो। मुना छोरीलाई साथै लिएर माइतमै बस्न थालेको केही समयपछि अर्को विवाह गरिन्।

    एकपछि अर्को विछोडको पीडा सहन नसकेर अरुणले पुनः लागूपदार्थको सेवन गर्न थाले। ४५ सालमा लागूपदार्थको दुर्व्यसनीको अभियोगमा १५/१६ महिना जेल जीवन बताएका अरुण जेलबाट छुटेपछि फेरि गायनमा फर्किए। जीवनको दुःखद क्षणले पिरोलिएका अरुणको एउटै सहारा फेरि पनि लागूपदार्थ नै बन्यो।

    अत्यधिक लागूपदार्थको सेवनले उनलाई कलेजोमा हेपाटाइटिस बिको संक्रमण हुनपुग्यो। प्रेम, विवाह र बिछोडको चोटले विछिप्त बनेका अरुण हेपाटाइटिस बिबाट थलिएपछि आफ्ना मित्र अमृत गुरुङ, ईश्वर गुरुङ र बहिनी मीना थापाको सहयोगमा लगभग ५/६ वर्ष कष्टपूर्ण जीवन बिताए। अन्ततः बागबजारस्थित कान्तिपुर गेस्ट हाउसमा ५६ साउन ५ गते नेपालको एउटा सांगीतिक नक्षत्र  अस्तायो।

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]