समाज

नेपालगञ्जका ३ सय घर डुबानमा, बैंक, पसल र कारागारमा समेत पानी भरियो

साउन ७, २०७३

    नेपालगञ्ज : लगातार परेको वर्षाका कारण नेपालगञ्जका तीनसय बढी घर डुबानमा परेका छन्। पाँच दिनदेखि परेको पानीले नगरको अधिकांश भाग जलमग्न भएको छ। नेपालगञ्ज सुर्खेत रोडका अधिकांश घर, कार्यालय, बैंक, बित्तिय संस्था, पसल, निजी फर्म डुबानमा परेका छन्।

    बिहीबार दिउँसो केहिबेर घाम लागेपनि रातिदेखि परेको पानीले नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांश घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ। अत्यधिक परेको पानीको निकास नभएपछि घरहरु डुबानमा परेका हुन्।

    नेपालगञ्ज उपमहानगरपालिका–१६ बेलासपुर, १३ को सिद्धार्थ टोल, ३ को घरवारी टोल, को ५ गणेशपुर, २४ को कारकाँदो, सुर्खेतरोड, १२ को शान्तिनगर, भृकुटीनगर लगायतका घरहरु डुबानमा परेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए। ‘घरमा पानी पसेपनि कुनै मानवीय र आर्थिक क्षति भएको छैन,’ उनले भने।

    सुर्खेतरोडमा रहेको नेपाल राष्ट्र बैंकको कार्यालयमा पानी पसेको छ। पानीले ढुकुटी र कागजपत्रमा कुनै असर नपरेको बैंकका निर्देशक भीष्मराज उप्रेतीले जानकारी दिए। ‘कार्यालयमा पानी पसेपनि कुनै क्षति हुन पाएन,’ उनले भने, ‘ढुकुटी लगायत सम्पूर्ण कागजपत्र सुरक्षित छन्, जमेको पानी पम्पसेट लगाएर फाल्ने क्रम जारी छ।’

    सुर्खेतरोडमा रहेको मध्यपश्चिम नेपाल ग्रामीण विकास बैंकको कार्यालयमा पनि पानी पसेको छ भने, सुर्खेतरोडको इन्द्रेणी डायग्नोष्टिक सेन्टर, काष्ठ उद्योग, साथी कृष्ण कटेज, होटल स्नेह, सिद्धार्थ कटेज लगायतमा पानी भरिएको छ।

    घरमा पानी पसेपछि दैनिकी कष्टर भएको नेपालगञ्ज–१३ की कमला गैरेले बताइन्। उनले पानीका कारण आवतजावतमा समेत समस्या भएको बताइन्। नेपालगञ्ज कारागारमा पनि पानी जमेको छ।

    जहाँतहीँ पानी भरिएपछि स्कुले विद्यार्थीलाई सकस भएको छ। कारागार नजिक रहेको आदर्श उच्च मावि जाने चारैतिरको बाटोमा घुँडासम्म पानी जमेको छ।

    बेलासपुरको सुर्खेत रोडबाट बेलासपुर जाने कृषि बिकास बैंक नजिको बाटो र भित्र केही घरहरू डुबानमा परेको छ। यस्तै नेपालगञ्जका अन्य भागमा समेत घरमा पानी पसेको छ। अधिकांशको घरमा पानी पस्ने अवस्था आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले पानी निकासका लागि सबै संयन्त्र परिचालन गरेको बताएको छ।

    उपमहानगरपालिकाका कार्यकारी प्रमुख हेमराज भुसालले बाटो निर्माणका क्रममा नालालाई अर्को नालामा मिस्याउन नसकेका कारण पानी जमेको बताए। उपमहानगरपालिकाका बेलैमा काम नगर्दा यस्तो समस्याहरु निम्तिरहेको जनगुनासो आउने गरेको छ। तर, उपमहागरपालिकाले एक्लैले मात्र सम्भव नहुने भएकाले नागरिकको समेत सहयोग आवश्यक रहेको बताउँदै आएको छ।

    यस्तै लगातारको पानीका कारण राप्ती नदी आसपासका गाउँहरु बाढीले बगाउने चिन्ता थपिएको छ। राप्ती नदीले धार परिवर्तन गरी आसपासका गाउँहरुमा पानी पस्ने सम्भावना बढेसँगै स्थानीयमा चिन्ता बढेको हो।

    बाँकेको राप्ती नदी आसपासका गाउँहरु कटानको चपेटामा परेका छन् । गंगापुरको भरेदा, भोज भगवानपुर, फत्तेपुरको झगडिया, खल्ला झगडिया, नेवाजी गाउँ लगायतका गाउँ कटानमा छन्।

    स्थानीयले राप्तीले कटान तिब्र बनाएर गावै नजिक पुग्न थालेको बताए। दुई दिन अघिमात्र भगवानपुरका ६ घर बिस्थापित भएका छन्। गाउँमै पानी पसेपछि स्थानीय र प्रहरीको सक्रियतामा ६ परिवारको उद्दार गरिएको थियो। बाढीले निम्तिन सक्ने ठूलो क्षतिबाट जोगिन जिल्ला दैवि विप्रकोप उद्धार समितिले राप्ती आसपासका गाउँहरुमा सबैलाई सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]