राजनीति

सहमतीय सरकारका लागि एमालेसँग छलफल होला?

फोटो : रासस
साउन ११, २०७३

    काठमाडौं : आफु नेतृत्वको सरकार विघटन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा एमाले कांग्रेस र माओवादीसँग चिढिएको छ। संसदमा अविश्वास प्रस्ताव सामना नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिमा सरकार बनाउन दलहरुलाई आग्रह गरेपनि प्रमुख दलहरुबीच सहमतिको सम्भावना कम छ।

    त्यसैले यो एक हप्ताको अवधि कांग्रेस र माओवादीले एमाले बाहेकका अरु दललाई सहमतिमा ल्याउने प्रयास गर्नेछन्। एमालेले भने अब प्रतिपक्षमा नै बस्ने 'मुड' बनाएको छ। नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादी मन्त्रालय बाँडफाँड टुंगो लगाउने र मधेस केन्द्रित लगायत अरु साना दललाई सरकारमा सहभागी गराउने प्रयासमा छन्।

    दुई दलको बैठकले अन्य राजनीतिक दलसँग कसरी संवाद गर्ने भन्ने विषयमा निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए। ‘संविधान जारी गर्ने बेलामा एक ठाउँमा भएका दलहरु कार्यान्वयनका चरणमा पनि एक ठाउँमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसैले हामीले सबैसँग छलफल गर्छौ’ थाहा खबरसँग उनले भने, ‘कांग्रेसले सबै प्रमुख राजनीतिक दल सरकारमा बस्नुहुन्न भन्ने मान्यता राखेको छ, एमालेले पनि तत्काल सरकारमा आउने सम्भावना देखाएको छैन। तर हाम्रो पार्टीले छलफल अघि बढाउँछ।’ उनले एमाले, मधेसवादी दल लगायतलाई पनि सरकारमा ल्याउनुपर्ने धारणा माओवादी केन्द्रको भएको स्पष्ट पारे।

    तर आइतबार अश्विश्वासको प्रस्तावमाथि छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ठूला दल सम्मिलित सरकार बनाउन नहुने प्रष्ट्याएका थिए। ‘सबै ठूला दल सरकारमा गएपछि विरोध गर्ने को? ठूला दल सम्मिलित बनाउनुहुन्न, त्यसैले राष्ट्रिय सरकार होइन राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्छ’ देउवाले भनेका थिए।

    कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्रीको निर्वाचन सहमतिमा गराउन सबै दलसँग छलफल थाल्ने बताएका छन्। ‘एमाले सरकारमा आउने सम्भावना छैन, तर पनि राष्ट्रपतिको आव्हान अनुसार हामी छलफल गर्छौ’ उनले भने। कांग्रेस र माओवादी केन्द्रको अविश्वासको प्रस्ताव दर्ताका कारण राजीनामा दिएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकारमा जाने मनस्थितिमा छैन।

    एमाले लगायतका दलसँग कहिले छलफल गर्ने भन्ने विषयमा भने कांग्रेस माओवादीबीच सहमति भएको छैन। ‘अध्यक्षज्यू चाँडै समय मिलाएर कांग्रेससँगको छलफलपछि अन्य दलसँग छलफल गर्ने योजनामा हुनुहुन्छ, समय तय भइसकेको छैन’ प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले भने।

    कांग्रेस–माओवादीको तयारीलाई हेर्दा एमालेसँगको उसको छलफल औपचारिकताका लागि मात्र हुनेछ। ठूला दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको धारणाका कारण पनि एमालेलाई सरकारमा ल्याउने सम्भावना कम छ भने आफु नेतृत्वको सरकार ढाल्न प्रमुख भूमिका खेलेका कांग्रेस माओवादीसँग एमालेले पनि तत्काल गठबन्धन गरिहाल्ने योजनामा छैन।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]