समाज

तनुजाको एयर होस्टेज बन्ने सपना, मामाघरमा यसरी भयो अन्त्य

साउन १३, २०७३

    लक्ष्मी काफ्ले

    झापा : शान्तिनगर–१ कामीटारकी १० वर्षीया तनुजा कोइराला स्थानीय ब्राइट फ्युचर अङ्ग्रेजी स्कूलमा ५ कक्षामा पढ्थिन् तनुजा। बर्खे विदा भएपछि मामाघर जान रहर गरिन्। ‘दिदीभाईलाई मैले नै मामाघर पुर्‍याएर आएकी हुँ,’ आमा बिन्दादेवीले भनिन्, ‘टाटा गर्दै छुटेका थियौं आमाछोरी।’

    छोराछोरीलाई मामाघर पठाएको केही दिनमै बिन्दादेवीको मोवाइल हरायो। माइतकै नजिकको घरमा ज्योतिषलाई हेराउन गइन्। हेराइसकेपछि माइत पनि पुगिन्, छोराछोरी भेट्न। आमाछोरीले सँगै खाना खाए। ‘किन हो, छोरीलाई त्यहाँ छोडेर घर फर्किनै मन लागेन, लिएरै जान्छु भनेँ,’ घटनाअघिको कुरा उनले सम्झिइन्, ‘दुई दिनपछि लैजा भन्नुभयो आमाले, त्यसपछि २० रुपैयाँ दिएर घर आएँ।'

    साउन ५ गते बिहानै बिन्दालाई लिन माइतीगाउँबाट मान्छे आए। तनुजा बिरामी छिन्, तुरुन्त जाऔं भने। बिन्दादेवीको मन चिसो भयो। ‘पोहोरपनि यस्तै समयमा बिरामी भएकी थिई, यसपाली पनि के भएछ भनेर आत्तिँदै गएँ,’ उनी भन्छिन्, ‘माइतीघरको छेउमा पुगेपछि चाहिँ छोरी पानीमा डुबिछेजस्तै लाग्यो। तर, घाँटी रेटेर मारेछन् मेरी छोरीलाई।'

    स्कूलमा परीक्षा सकेपछि मामाघर जान साह्रै रहर गरेकी थिइन्, तनुजाले। छोरीको रहरलाई नाइँ भन्न पनि सकिनन् बिन्दादेवीले। ‘त्यस्तो हुन्छ भन्ने थाहा भएको भए मेरी छोरीलाई किन त्यहाँ पठाउथेँ र!,’ यति भन्दाभन्दै उनको गला अवरुद्ध बन्यो। ‘एयर होस्टेज बनेर पाल्छु ममी भन्थी,’  भनिनसक्दै उनले डाको छोडिन्। बोल्नै सकिनन्।

    मलेसियामा रहेका तनुजाका बुबा चन्द्रकान्तले घटना भएकै दिन दिउँसो फेसबुकमार्फत थाहा पाए।  अहिले उनी घर आइसके। ‘म्यासेन्जरमा कसैले खबर दियो, त्यहीँ रुन थालेँ म, सुपरभाइजर र म्यानेजरले सोध्न थाले, मैले केही भन्नै सकिनँ, फोटो देखाइदिएँ, म्यानेजरले ३ दिनभित्रै नेपाल पठाइदियो,’ चन्द्रकान्तले भने।

    घटना भएको ८ दिन भइसक्यो। प्रहरीले अहिलेसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। ‘ढुक्क हुनु, ऐनाजस्तै छर्लङ्ग पार्छौं, पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्छौं चाहिँ भनेका छन् पुलिसले,’ चन्द्रकान्त भन्छन्, ‘तर, खै..!,’उनले आशंका व्यक्त गरे।

    घटना भएका दिन तनुजाको मामाघरमा हजुरबुबा, हजुरआमा र कान्छी माइजुमात्र थिए। मामा पनि घरमा थिएनन्। खेतीपातीको काम गर्न आएका अर्का एक व्यक्ति पनि थिए। राति खाना खाएर ती व्यक्ति ग्वालीतिर सुत्न गएका थिए। फरार रहेका उनी शङ्काको घेरामा छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्सपेक्टर दीपक सुवेदीले हत्यामा संलग्नको खोजी भइरहेको बताए। ती व्यक्तिको ठेगाना नखुलेको, जहाँ काम गर्‍यो त्यहीँ बस्ने र मोवाइल पनि नबोक्ने भएकाले खोज्न अप्ठ्यारो भइरहेको उनी बताउँछन्। ‘लागिपरेर खोज्दैछौं, तरपनि अहिलेसम्म सफल भइएको छैन,’ उनले भने।

    ती व्यक्ति कहाँ छन् भन्ने लगभग पत्ता लागिसकेको इप्रका काँकडभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारीले बताए। ‘सबै कुरा सार्वजनिक गर्न ५/७ दिनपनि लाग्न सक्छ, एक घण्टा मात्र पनि लाग्न सक्छ,’ डीएसपी अधिकारीले भने। घरमा काम गर्ने ती व्यक्तिको खोजी मात्र होइन, अन्य सबै पक्षको प्रहरीले अध्ययन गरिरहेको उनले बताए। उनले भने, ‘ऊ नै हत्यारा हो भन्ने यकिन भइसकेको छैन, शङ्का मात्र हो, त्यसैले हामीले अनुसन्धान चाहिँ सबैतिर गर्दैछौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]