मनोरञ्जन

आजीवन आदिवासी संघर्षको पक्षमा
SHARES

साउन १४, २०७३

    हिन्दीमा विरलै मात्र अन्तर्वार्ता दिने महाश्वेता देवीले 'समकालीन तिसरी दुनियाँ' का सम्पादक आनन्दस्वरुप बर्मालाई दिएको एक अन्तर्वार्तामा भनेकी छन्- एउटा लेखकलाई वास्तविक जीवन नजिकबाट नदेखी नसुनी लेख्ने अधिकार छैन। लेखकले वास्तविक जनतासम्म पुगेर उनीहरुको दैनिकी बुझ्नुपर्छ र आफूसँग भएका कुरा उनीहरुलाई भन्नुपर्छ।’

    लेखकीय अधिकारमा समेत प्रश्न उठाउने यी बंगालीभाषी भारतीय लेखक तथा सामाजिक अभियन्ता महाश्वेता देवीको ९० वर्षको उमेरमा बिहीबार निधन भयो। २३ जुलाईमा हृदयघात भएपछि कलकत्ताको एक अस्पतालमा उपचारका लागि भर्ना भएकी उनको निधन भएको हो।

    ***

    सन् १९४० को दशकमा बंगाल राज्य कम्युनिस्ट आन्दोलनको केन्द्र थियो। राज्यबाट हजारौं मानिसले यातना भोगे। आजपर्यन्त उनीहरु लडिरहेका छन्। राज्यद्वारा दबाइएका समुदायका पीडा र साहसले उनलाई एउटा लेखक बनायो।

    महाश्वेता देवी निरन्तर रुपमा बिहार, पश्चिम बंगाल, मध्य प्रदेश र छत्तीसगढका आदिवासी समुदायको जीवन संघर्षकी प्रवक्ता बनेकी थिइन्। ती समुदायकी शिक्षिका समेत बनेर उनले काम गरिन्।

    भारतीय कवि मंगलेश डबराल महाश्वेता देवी भारतीय नक्सलवादीका बारेमा लेख्ने पहिलो लेखक मान्छन्। 'महाश्वेता देवीले नक्सलवादी आन्दोलनका बेला यातना दिइएका पीडितका अनुभवलाई 'हजार चौरासी कि माँ' मार्फत बाहिर ल्याइन्', उनी भन्छन्।

    लेखनले जनताको दैनिक जीवनमा परिवर्तन ल्याउनुपर्छ भन्नेमा उनको जोड रहन्थ्यो। लेखकले पाठकसँग प्रत्यक्ष सम्वाद गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले आदिवासीका भाषामा मात्र लेखिरहिन्। यद्यपि उनका कृति हिन्दी, अंग्रेजी, नेपाली लगायत विभिन्न भाषामा अनुवाद भएका छन्। लेखक तथा प्राध्यापक गायत्री स्पिभाकले महाश्वेता देवीका कथा अंग्रेजीमा उल्था गरेकी छन्। केही समय महाश्वेता देवीसँग संगत गरेकी स्पिभाक पछि उनको राजनीतिक सोचमा परिवर्तन आएपछि टाढा भइन्।

    महाश्वेता देवीको सार्वजनिक र व्यक्तिगत जीवमा भने निकै उतारचढाव आइरह्यो। लेखनको सुरुवाती चरणमा कम्युनिस्टहरुसँगको सामिप्यता र पक्षधरताले उनलाई खरो कम्युनिस्ट बनायो। यद्यपि उनले कहिल्यै कम्युनिस्ट पार्टीको सदस्यता भने लिइनन्। तर पछिल्ला केही वर्ष उनी मध्यमार्गी बनिन्। कम्युनिस्ट मुख्यमन्त्री ज्योती बशुलाई छोडेर उनले तीर्णमूल कांग्रेसकी नेतृ ममता बनर्जीको समर्थन गर्नु त्यसैको प्रमाण थियो।

    उनको वैवाहिक जीवन भने सुखद रहेन। उनले भारतका प्रसिद्ध नाटककार बिजोन भट्टाचार्यसँग बिहे गरेकी थिइन् जुन लामो समय टिकेन। १९६२ मा उनीहरुबीच डिभोर्स भयो। जसका कारण उनले मानसिक पीडा र आर्थिक अभाव झेलिन्। आर्थिक अभावबाट मुक्ति पाउन उनले सरकारी क्याम्पसमा पढाइन्। दुई वर्ष अघि मात्र उनका छोराको क्यान्सरबाट मृत्यु भएको थियो। तैपनि निम्न वर्गको अधिकार र न्यायका पक्षमा आवाज उठाउने उनको साहसमा कमी आएन।

    उनका नक्सलवादी आन्दोलनमा आधारित उपन्यास 'हजार चौरासीकी माँ' का साथै 'झाँसी कि रानी', 'बेस्ट स्टोरिज', 'तीन कौर साध' कृति प्रसिद्ध छन्। पद्मभुषण, साहित्य ऐकेडेमी, ज्ञानपीठ लगायत प्रसिद्ध साहित्यिक अवार्ड प्राप्त गरेकी उनका कृतिमा आधारित भएर बलिउडमा 'हजार चौरासी कि माँ', 'रुवाली, गांगोर' लगायत फिल्म र डकुमेन्ट्री पनि बनेका छन्।

    हालको बंगलादेशको राजधानी ढांकामा सन् १९२६ मा जन्मिएकी महाश्वेता देवीले आफूलाई आदिवासी जनताका पक्षमा उभ्याउँदै जीवन समर्पण गरिन्।

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]