राजनीति

गोविन्द केसीको आरोप- 'लोकमान समानान्तर सत्ता चलाइरहेका छन्'

सांसदलाई प्रश्नः लोकतन्त्र रोज्ने कि लोकमानतन्त्र?

साउन १५, २०७३

    काठमाडौं : डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले 'आफ्नो अधिकारको दुरुपयोग गरी संत्रासको स्थिति सिर्जना गरेर समानान्तर सत्ता चलाइरहेको' आरोप लगाएका छन्।

    भ्रष्टाचार अन्त्यको माग गर्दै शनिबार माइतिघरबाट नयाँ बानेश्वरसम्म भएको पदयात्रापछि आयोजित कोणसभालाई  सम्बोधन गर्दै डा. केसीले प्रमुख आयुक्त कार्की 'देशकै सबैभन्दा भ्रष्ट व्यक्ति' भएको समेत दावी गरे।

    'उनले सबै क्षेत्रमा संत्रासको स्थिति सिर्जना गरेका छन्। बहुदलीय लोकतन्त्रको २७ वर्षमा यस्त्रो सन्त्रास कहिल्यै महसुस गरेका थिएनौँ', डा. केसीले भने, 'सन्त्रास र आतंकको स्थिति सिर्जना गरेर लोकमानले महाभ्रष्ट, तानाशाही र समानान्तर सत्ता चलाइरहेका छन्।'

    स्वास्थ्य शिक्षाका विकृति अन्त्यको माग गर्दै आठपटकसम्म अनसन बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. केसीले पछिल्लोपटकको अनसनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पनि समावेश गरेका थिए। डा. केसीका मागमाथि छलफल गर्न साउन ६ गते संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भइसकेको छ।

    'लोकमान महाभ्रष्ट, राजनीतिक नेतृत्व मौन'

    स्वास्थ्य शिक्षा र स्वास्थ्य उपचारमा समान पहुँचका लागि आफू लामो सयमदेखि लडिरहेको बताउँदै उनले भने- 'गुणस्तरीय स्वास्थ्य शिक्षामा सबै नेपालीको समान पहुँच होस्, शिक्षामा सस्तो सुलभ र गुणस्तरीय होस्, शिक्षा र स्वास्थ्यमा कसैका लागि पनि पैसा बाधक नबनोस् भन्ने हाम्रो माग हो। हामी त्यसैका लागि लडिरहेका हौँ।'

    आफूले उठाएका माग पटक पटक सम्झौतामा टुंगिएको स्मरण गर्दै केसीले पछिल्लोपटक भएका सहमति उल्लंघनको संकेत देखिएको दावी गरे। 'लड्छौँ सम्झता हुन्छ, उल्लंघन हुन्छ। यसपटक पनि सहमति भयो तर राजनीतिक नेतृत्वको संवेदनहीनता र भ्रष्ट मानसिकताले गर्दा केही दिनमै उल्लंघन हुने संकेत देखिएको छ', केसीले भने, 'यसपटक कुनै पनि हालतमा उल्लंघन हुन दिँदैनौँ।'

    अख्तियार प्रमुखलाई संकेत गर्दै केसीले 'मुलुकमा राजनीतिक नेतृत्वले चलाएको लुटतन्त्रमा अर्को नायक थपिएको' टिप्पणी गरे।

    माइतिघरबाट नयाँ बानेश्वरचोकसम्म पदयात्रा गरेर कोणसभामा सहभागी भएका सयौँ युवाजमातबाट आवाज आयो- 'खलनायक, खलनायक !'

    'नायक नै भनौँ न, भ्रष्टाचारका नायक', केसीले यसो भन्दा मासबाट तालीको गड्गडाहट आयो। अख्तियारका प्रमुख आयुक्त कार्कीले 'कुसंगति, महाभ्रष्ट, तानाशाही र आतंककारी सत्ता चलाइरहेको' केसीले आरोप लगाए। '

    'अख्तियार दुरुपयोग न्यूनीकरण गर्ने दायित्व पाएका लोकमानले निजी स्वार्थका लागि अख्तियार दुरुपयोग गर्दा पनि 'राजनीतिक नेतृत्व र संसद निरिह र मौन भएर बसिरहेको' उनले बताए।

    'राजनीतिक नेतृत्व भ्रष्ट नभएको भए, जिम्मेवार र संवेदनशील भएको भए यो स्थिति आउने थिएन, जोसुकैले गल्ती गर्ने बित्तिकै कारबाही हुन्थ्यो', केसीले भने, 'कुनै पार्टी कम छैनन्। जनताको नाममा सबै आफ्नो भुँडी भर्न उद्दत छन्।'

    'तानाशाह जन्मिने खतरा'

    संसदमा ५१ प्रतिशतले सरकार ढल्ने भए पनि अख्तियार प्रमुख कार्कीलाई हटाउन दुईतिहाइ भन्दा बढी चाहिनुले तानाशाह जन्मिने खतरा रहेको उनले बताए। न्छ। 'तानाशाहलाई यसपटक हटाइएन भने अर्को तानाशाह जन्मिन्छ। अर्को तानाशाही नजन्माउन पनि यो तानाशाहलाई हटाउनुपर्छ', डा. केसीले भने, 'राजनीतिक नेतृत्व र संसदले आफूलाई लोकतन्त्रको रक्षक भन्ने हो भने लोकमानतन्त्रको अन्त्य गर्न सक्नुपर्छ नत्र कुर्सीमा बस्ने नैतिकता छैन, उनीहरुले राजीनामा दिनुपर्छ।'

    सांसदहरु 'लोकमानको डरले बोल्न नसकेको' बताउँदै केसीले 'बोल्ने साहस गर्नेलाई नेपाली जनताले साथ दिने' बताए। 'संसदहरु लोकतन्त्रका सिपाही हुन् कि लोकमानतन्त्रका सिपाही? थाहा पाउने बेला भएको छ', केसीले भने, 'संसदबाट लोकमानतन्त्रको अन्त्य गर्न सक्नुहुन्न भने उहाँहरु सडकमा आउनुपर्छ।'

    भ्रष्टाचार, अपराध, सन्त्रास र दण्डहीनताले मुलुकलाई असफल राष्ट्र बनाउन लागेको बताउँदै उनले मुलुकको अस्तित्व नै समाप्त हुने खतरा रहेको' बताए। 

    'म तपाईँहरुका सबै कदममा साथमा छु अझ एककदम अगाडि छु', अन्त्यमा केसीले भने, 'लोकतन्त्र जिन्दावाद, लोकमानतन्त्र मुर्दावाद।'

    मेडिकल शिक्षामा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै केसीले उनलाई महाअभियोग लगाउनुपर्ने माग अघि सारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीमाथि ‘मेडिकल माफियाहरुसँग सानिध्यता’ रहेको आरोप लगाएको थियो। गत असार १३ गते विज्ञप्ति निकालेर अख्तियारले केसीलाई ‘भ्रष्टहरुको माखेसाङ्लोमा जेलिएको’ आरोप लगाएको थियो।

    • सम्बन्धित समाचारः 

    भोला रिजालको आरोपः अनसनको भरमा निजी मेडिकल कलेज धरासायी बनाउन खोजियो

    केयूमा हस्तक्षेपको विषयमा अख्तियार प्रमुख कार्कीलाई संसदीय समितिले बोलायो

    सडकमा लाग्यो नाराः हामी पनि पागल हौँ, डा. केसी जस्तै, हेर्नुस् २० फोटो

रविराज बराल

बराल २०७३ जेठदेखि २०७४ साउनसम्म थाहा खबरमा कार्यरत थिए।

इमेलः [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]