अर्थ

सुन किन्ने भन्दा बेच्ने धेरै : किन बिक्दैन पसलका सुन?

फोटो साभारः livemint.com
साउन १७, २०७३

    काठमाडौं : हिन्दु नेपाली महिलाहरुको ठूलो पर्व तीज आउन करिब एक महिना बाँकी छ। महिलाहरुले तीजका लागि लुगाफाटो र गरगहनाको तयारी गर्न थालिसकेका छन्। त्यसैकारणले सुनचाँदी बजारमा यो समयलाई सिजन मानिन्छ। तर सुनचाँदी व्यापारीहरु सुनको व्यापार ठप्प रहेको बताउँछन्।

    सुन किन्न भन्दा बेच्न आउने बढी रहेको व्यापारीहरु बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य अहिले सर्वसाधारणले सुन पसलमा बेच्न ल्याउने सुन दिनमा ४० किलोग्रामसम्म रहेको बताउँछन्।

    'सुन कारोबार ठप्प हुने अवस्था आइसक्यो, पसलमा सुन किन्नेको भन्दा बेच्ने चार गुणा बढी छन्, यस्तो अवस्थामा कसरी व्यवसाय गर्ने?' शाक्यले भने।

    नेपालमा सुन ल्याउने वैधानिक बाटोबाट वाणिज्य बैंकहरु मार्फत दैनिक १५ किलोग्राम मात्र हो। तर अहिले सर्वसाधारणबाटै आएको सुन पर्याप्त रहेको भन्दै सुनचाँदी व्यवसायीले बैंकबाट सुन लिएका छैनन्। चार महिनादेखि व्यवसायीले बैंकबाट सुन नकिन्दा बिभिन्न बैंकमा ३ सय ६० किलोग्राम सुन स्टक छ।

    नेपालमा तीज, दसैं र तिहार अनि बिहेको लगन भएको महिनामा दिनमा ४० किलोग्रामसम्म सुनको माग हुने व्यवसायीहरुको दाबी छ। गर्तवर्ष भूकम्प जानु अघिसम्म पनि दैनिक ४० केजी सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको दावी छ। तर भूकम्पपछि खस्किएको सुनको व्यापार अझै लयमा आउन सकेको छैन।

    घाटामा साना व्यवसायी

    भूकम्पपछि साना व्यापारीहरु समस्यामा परेका छन्। काठमाडौं मैतीदेवीका एक सुन ब्यापारी कारोबार नहुँदा पसल बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन्। 'यस्तो व्यापार नै नभएको मलाई थाहा थिएन,पसल खोल्यो सुन बेच्ने मात्रै आउँछन् किन्ने कोही आउदैनन्' ती व्यापारीले भने।

    गतवर्ष औसतमा दिनको एक लाख रुपैयाँको सुन बेच्ने ती व्यापारीले अहिले दिनमा ५० हजारको पनि बिक्री नभएको गुनासो गरे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य साना र मध्यम स्तरका सुन व्यवसायीले पसल बन्द गरेपनि हुने अवस्था छ।

    ठूलालाई छैन समस्या

    ठूला सुन व्यापारीहरुको पनि तुलनात्मक रुपमा व्यापारमा कमी आएपनि व्यवसायमा समस्या नपरेको बताउँछन्। गत वर्षहरुमा सुन अभाव भएपनि यसवर्ष अभाव नभएको उनीहरु बताउँछन्। देव कर्नरका सञ्चालक देवरत्न शाक्यले भूकम्प गएको ४/५ महिनापछि व्यवसाय लयमा आएको उनी बताउँछन्। 'अघिल्ला वर्षहरुमा सुन पाइएको थिएन, अहिले पाइएको छ, सुन खोज्दै जानुपरेको छैन सुन बेच्न सर्वसाधरण पसलमा नै आउने गरेका छन् त्यही सुनको कारोबार भइरहेको छ' उनले भने ।

    किन बेच्छन् सर्वसाधरण सुन?

    केही महिनायता सर्वसाधारणले गरगहना धितो राखेर रकम निकल्ने क्रम बढेको छ। कतिपयले बैंकमा राख्छन् भने सुनचाँदी पसलमा राखेर रकम निकाल्नेहरु पनि उत्तिकै छन्। नेपाली बजारमा सुनको मुल्य निरन्तर वृद्धि भएकाले पनि सुन बेचेर अन्यत्रै लगानी गरिहेको हुनसक्ने व्यवसायी बताउँछन्।

    सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५९ हजार रुपैया र तेजावीको ५८ हजार ७ सय ५० रुपैयाँ छ। । सुन बेच्नेहरुमा मध्यम वर्गका बढी छन्।

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]