राजनीति

एमालेले मैदान खाली गरेपछि एक्लो दौडमा प्रचण्ड

साउन १८, २०७३

    काठमाडौं : भलै संसदबाट औपचारिक घोषणा गर्न बाँकी छ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक नेपालको बागडोर सम्हाल्दैछन्। 

    प्रचण्डकै समर्थनमा ९ महिनासम्म सरकारको नेतृत्व गरेको एमालेले प्रतिपक्षमात्र रोजेन, प्रधानमन्त्रीको उम्मेदवारी नदिने निर्णय गरेर दौडलाई खल्लो बनाइदियो। एमालेले मैदान खाली गरेपछि प्रचण्ड प्रधानमन्त्री पदका एक्ला उम्मेदवार बनेका छन्। प्रधानमन्त्रीको दौडमा प्रचण्डको जित सुनिश्चित छ। 

    प्रचण्डका प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन्। समर्थकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा छन्।

    एमाले निर्णयः प्रचण्ड विरुद्ध मतदान

    यता प्रचण्डले प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गर्नु र उता एमाले स्थायी कमिटी बैठक सकिनु करिब सँगसँगै भयो।  एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने तर प्रचण्डका विरुद्धमा मतदान गर्ने निर्णय गर्‍यो। विपक्षमा मतदान गर्ने एमाले निर्णयका कारण प्रचण्ड निर्विरोध प्रधानमन्त्री बन्न रोकिएका छन्।

    प्रचण्डका पक्ष र विपक्षमा मत विभाजनका निम्ति बिहीबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा मतदान गर्ने कार्यतालिका छ। प्रचण्डलाई नेपाली कांग्रेस, मधेसी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिक र साना दलको समर्थन गर्ने समझदारी भएको छ। 

    सोमबार अबेरसम्म प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको एमालेले मंगलबार स्थायी कमिटी बैठकबाट उम्मेदवारी नदिने निर्णय गर्‍यो। एमालेबाट उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई एमालेबाट प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो। 

    सरकार गठनपूर्व र गठनपछि भएका सहमति एमालेले पालना नगरेको भन्दै नेकपा माओवादी केन्द्रले २७ असारमा सरकारबाट समर्थन फिर्ता लिएको थियो। त्यससँगै नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा समर्थक र प्रचण्ड प्रस्तावक बनेर संसद् सचिवालयमा प्रधानमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे थियो।

    एमाले महासचिव ईश्वर पोखरेलले पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एजेण्डा नै छलफल नभएको बताउँदै संसद नियमावली अनुरुप विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए।

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने हार्ने पक्का भएपछि एमालेले उम्मेदवारी नदिएको दावी गरे। ‘हार्ने निश्चित भएपछि एमालेले उम्मेदवारी दर्ता गर्न सकेनन्, एमालेले गरेको निर्णय सकारात्मक छ’, शर्माले भने। 

    प्रधानमन्त्री पदमा प्रचण्डको यो तेस्रो उम्मेदवारी हो। उनी पहिलोपटक २०६५ साल भदौ २ गते गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए। दोस्रोपटक एमाले नेता झलनाथ खनाललाई समर्थन गर्दै प्रचण्डले उम्मेदवारी फिर्ता लिएका थिए। 

    संसद नियमावली धारा ४९ को उपधारा ५ (३) मा एकजना मात्र उम्मेदवार भएपनि प्रक्रियामा लैजानु पर्ने व्यवस्था छ। यो व्यवस्था अनुरुप प्रधानमन्त्री पदमा उम्मेदवारी नदिए पनि एमाले लगायतका अन्य दलले प्रचण्डको विरुद्धमा मतदान गर्न सक्नेछन्। 

    प्रधानमन्त्री निर्वाचनका लागि संसद बैठक भोलि बुधबार बिहान ११ बजे बोलाइएको छ।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]