स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

रोल्पा र बाँकेका सबै मतदानस्थल अति संवेदनशील, के छ सुरक्षा तयारी?

असार ५, २०७४

    रुपन्देही : प्रदेश नम्बर ५ का १२ जिल्लाका एक तिहाईभन्दा बढी मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशीलको सूचीमा राखेको छ। जिल्ला सुरक्षा समितिले गरेको सिफारिशका आधारमा प्रहरीले तयार पारेको तथ्यांकले प्रदेश नम्बर ५ का एक तिहाईभन्दा बढी मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका छन्।

    पाँच नम्बरका १ सय ९ स्थानीय तहका १ हजार ५ सय ८४ मतदान स्थलमध्ये ६ सय ८१ स्थल अति संवेदनशील सूचीमा छन्। जिल्ला प्रहरी कार्यालयहरुले उपलब्ध गराएको तथ्यांकअनुसार ४ सय २३ मतदान स्थल संवेदनशील र ४ सय ८० मतदान स्थल सामान्यको सूचीमा वर्गीकरण गरिएको छ।

    १० स्थानीय तह रहेको रोल्पामा ८० मतदान स्थल र १ सय ५४ मतदान केन्द्र छन्। सुरक्षा निकायले ती सबै मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ। नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाको उपस्थिति रहने भएकाले अति संवेदनशीलमा राखिएको हो। त्यस्तै ८ स्थानीय तह रहेका बाँके जिल्लाका सबै १ सय ३६ वटै मतदानस्थललाई पनि प्रहरीले अति संवेदनशीलको सूचीमा राखेको छ। 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अति संवेदनशीलमा इन्स्पेक्टर, संवेदनशीलमा सई र सामान्यमा असईको नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुनेछन्। सरकारले स्थानीय तह निर्वाचनका लागि बनाएको तीन तहको सुरक्षा योजना अनुसार वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गर्ने तयारी प्रशासनको छ ।

    ‘यसअघिका निर्वाचनका घटनाक्रमहरु, चुनौतीहरु र पछिल्ला घटनाक्रमहरुलाई आधार मानेर मतदान स्थलको संवेदनशीलता मापन गरिएको छ’ लुम्बिनी अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रमुख (एसएसपी) दीपक थापाले भने ‘वर्गीकरण गरिएका मतदान स्थलहरुमा पहिलो चरणको शैलीमा भन्दा धेरै सुरक्षाकर्मीहरु खटिनेछन् र सुरक्षाका हिसाबले एकदमै मजबुत बनाइनेछ।’

    उनले प्रदेश नम्बर २ मा चुनाव तत्कालका लागि स्थगित भएकाले सबै क्षेत्रमा सुरक्षाकर्मी थप हुने बताए। असार १४ गते हुने दोश्रो चरणको निर्वाचनमा प्रदेश नम्बर ५ मा राष्ट्रिय जनता पार्टी नेपाल, सिके राउत र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिले निर्वाचनको सुरक्षामा असर गर्न सक्ने प्रहरीको अनुमान छ।

    ‘सुरक्षाकर्मीको संख्या थप भइरहेको छ', दाङ प्रहरी निर्वाचन शेलका गोरख रावल भन्छन् ‘चुनावका लागि कुनै पनि प्रकारको असुरक्षा महसुस नहुने गरी सुरक्षा रणनीति तयार भएको छ।’

    मतदान स्थलमा सुरक्षा चुनौती बढेमा हरेक जिल्लामा रहेको जिल्ला सुरक्षा समितिले थप सुरक्षाकर्मी खटाउने हिसाबले सुरक्षा रणनीति बनाइएको छ। ‘निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिइरहेका हुन्छन्' रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक विनोद प्रकाश सिंह भन्छन् ‘त्यस अवस्थामा कुनै चुनौती आइलागे हामीले तत्काल एक्सन लिन्छौं र थप सुरक्षाकर्मी परिचालन गर्नुपरे स्ट्याण्डवाई राखेकै हुन्छौं, सुरक्षाका हिसाबले कुनै पनि कसुर बाँकी रहनेछैन।’

     उनले निश्चिन्त भएर चुनावी गतिविधि जारी राख्न राजनीतिक दलहरुलाई आग्रह गर्दै मतदानमा सहभागी हुँदा कुनै किसिमको असुरक्षा महसुस हुने अवस्था नआउने बताए। ‘कसैले म असुरक्षित भएँ कि भन्ने महसुस गर्नुपर्ने छैन', उनी भन्छन् 'हामी त्यस हिसाबले सुरक्षा योजना बनाएका छौं।’

    पहिलो चरणको निर्वाचनकै शैलीमा भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने गरी केन्द्रीय सुरक्षा परिषदले निर्णय गरेको थियो। जसअनुसार मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटिनेछन्।

    कुन जिल्लाको मतदान केन्द्रको अवस्था कस्तो?

    रुपन्देही

    स्थानीय तह : १६

    मतदान स्थल :२०८

    मतदान केन्द्र : ५४३

    अति संवेदनशील : ७५ स्थल

    संवेदनशील : ३९ स्थल

    सामान्य : ९४ स्थल

    कपिलवस्तु

    स्थानीय तह : १०

    मतदान स्थल : २३३

    मतदान केन्द्र : ३८७

    अति संवेदनशील : १५३ स्थल

    संवेदनशील : ६५ स्थल

    सामान्य : १५ स्थल

    नवलपरासी

    स्थानीय तह : ७

    मतदान स्थल : १२०

    मतदान केन्द्र : २४०

    अति संवेदनशील : ७० स्थल

    संवेदनशील : २७ स्थल

    सामान्य : २३ स्थल

    पाल्पा

    स्थानीय तह : १० 

    मतदान स्थल : ११८

    मतदान केन्द्र : २१२

    अति संवेदनशील : १८ स्थल

    संवेदनशील : ४० स्थल

    सामान्य : ६० स्थल

    गुल्मी

    स्थानीय तह : १२

    मतदान स्थल ; १३८

    मतदान केन्द्र : २४०

    अति संवेदनशील : छैनन्

    संवेदनशील : ४८ स्थल

    सामान्य : ९० स्थल

    अर्घाखाँची

    स्थानीय तह : ६

    मतदान स्थल : ९३

    मतदान केन्द्र : १६६

    अति संवेदनशील : ३० स्थल

    संवेदनशील : २६ स्थल

    सामान्य : ३७ स्थल

    रोल्पा

    स्थानीय तह : १०

    मतदान स्थल : ८०

    मतदान केन्द्र : १५४

    सबै तह  : अति संवेदनशील

    बर्दिया

    स्थानीय तह : ८

    मतदान स्थल : १५३

    मतदान केन्द्र : ३१४

    अति संवेदनशील : ५३ स्थल

    संवेदनशील : ४२ स्थल

    सामान्य : ५८ स्थल

    दाङ

    स्थानीय तह : १०

    मतदान स्थल : १५१

    मतदान केन्द्र : ३५१

    अति संवेदनशील : ४ स्थल

    संवेदनशील : १३६ स्थल

    सामान्य : ११ स्थल

    प्युठान

    स्थानीय तह : ९

    मतदान स्थल : १५१

    मतदान केन्द्र : १८६

    अति संवेदनशील : ३५ स्थल

    सामान्य : ८८ स्थल

    रुकुम

    स्थानीय तह : ३

    मतदान स्थल : ३१

    निर्वाचन केन्द्र : ३८

    अति संवेदनशील : २७ स्थल

    संवेदनशील : ४ स्थल

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]