काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
गोरखा : शहीद लखन गाउँपालिका ६ घैरुङकी ३२ वर्षीय विमला रोकाले यस अघि नै तीन सन्तान जन्म दिइसकेकी थिइन्। तीन पटकसम्म छोरी जन्माएकी बिमला गाउँघरमा छोरो जन्मेकै कारण अपहेलित भइरहनु परेको थियो। तिनै विमलाको सोमबार गर्भवती अवस्थामै मृत्यु भएको छ। समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा र नियमित स्वास्थ्य जाँच गराउन नजाँदा उनको ज्यान गएको हो।
‘गाउँमा अरुले पनि हेप्थे’ बिमलाका ससुरा चतुर बहादुरले भने ‘तीन पटकसम्म छोरी जन्माई। छोरो जन्माउने बेला उ नै बितेर गई।’ विमलाको शवको पोष्टमार्टम गर्दा जुम्ल्याहा दुई छोरा रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ। यही असारको २५ गते सुत्केरी हुने भनेर चिकित्सकले उनको मिति तोकेको ससुरा चतुर बहादुरले बताए।
आइतबार बेलुका पाँच बजे तिर विमलाको स्वास्थ्यमा समस्या आएको थियो। ‘साँझ पाँच बजे तिर हो बुहारी चिच्याउन रुन थाली’ उनले भने ‘त्यसपछि गाउँलेहरु जुटेर गोरखामा एम्बुलेन्सका लागि फोन गरे। फोन गर्दा कुनै फोन नै उठेन। कुनै एम्बुलेन्सको ड्राइभर बाहिर छु भने। केही सीप नलागेपछि गाउँमा बस थियो त्यही बस रिजर्ब गरेर गोरखा हस्पिटल ल्याइयो। यहाँ ल्याएपछि तत्कालै कि भरतपुर कि काठमाडौं लैजानु भनेर भन्यो म त छाँगा बाट खसे जस्तै भएँ। यहाँ हुन्छ भनेर ल्यायो हुँदैन भनेपछि एकछिन त हस्पिटलको चर्पीमा गएर रोएँ।’ विमलाका श्रीमान रोजगारीको क्रममा साउदी अरेविया छन्। विमलाका श्रीमान् कुमार चतुरबहादुरका एक्ला छोरा हुन्।
गोरखा अस्पतालबाट विमलालाई उपचारको लागि गोरखा बाहिर लैजानका लागि एम्बुलेन्सका लागि मात्रै दुई घण्टा कुर्नुपरेको थियो। ‘यहाँ अस्पतालको आँगनमा चारवटा एम्बुलेन्स थियो’ चतुरबहादुरले भने ‘जुन एम्बुलेन्सको ड्राइभरलाई फोन गरेपनि कोही विरामी छु भन्ने कोही बाहिर छु भन्ने गरे धेरैबेर पछि यहिँ हस्पिटलको पुलिसले भनेर एम्बुलेन्स आयो र पोखरा लिएर गइयो।’
गोरखाकै मनास्लु बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको एम्बुलेन्समा विमलालाई पोखरा लैजान लागिएको थियो। तर, एम्बुलेन्स तनहुँको आँबुखैरेनी काटेपछि विमलाको मृत्यु भएको थियो। गोरखा अस्पतालले पनि विमलाको उपचार गर्नै नसक्ने भएर तत्कालै रिफर गरेको अस्पतालको प्रमुख डा श्रीराम तिवारीले बताए। ‘केस असाध्यै जटिल हो’ तिवारीले भने ‘एक त अस्पताल ल्याई पुर्याउँदा गर्भवती महिला बेहोस थिइन्। अर्को उच्च रक्तचाप थियो। बच्चाहरुको दुबैको मुटुको चाल शून्य थियो। अन्य गर्भवती भन्दा उनले धेरै पटक स्वास्थ्य जाँच गराउनुपर्थ्यो किनकी उनको पेटमा जुम्ल्याहा बच्चा थिए। त्यो पनि हुन सकेन।’ जिल्ला अस्पतालमा पोष्टमार्टम गरेपछि सोमबार नै शवको दाहासंस्कार समेत गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
सुरेश तिवारी
गोर्खा जस्तो नेपालको इतिहासमा सम्पन्न जिल्लामा पनि अस्पतालको यस्तो हालत भएपछी अन्य दुर्गम जिल्लाहरुको मान्छेहरुले कसरी स्वास्थ्य सुरक्षाको आशा गर्ने !!!